मनुष्य जीवनको सार उद्देश्य बाँच्नु मात्रै हो वा कर्तव्य निर्वाह गर्नु हो ? सन्तुष्टिको मुल स्रोत कहाँ हुन्छ ? व्यक्तिको कुन अहम् पूरा भएपश्चात भागिरहने मन चङ्गा हुने हो ? त्यसैले त भनिन्छ, सन्तुष्टिको सिमा रेखा हुँदैन। त्यो रेखा मनले कोर्ने रेखा हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा एक जना अर्धबैंसे महिला थिलथिलिएको व्हिल चियरमा बसेका आफ्ना थलिएका श्रीमानलाई हतारहतार गर्दै भित्र प्रवेश गर्दै छिन् । त्यो दृश्यमा मेरा आँखा उनको च्यातिन लागेको चप्पल , रौनक हराएको चेहरा र उमेर नहुँदै जीर्ण भएका श्री पर्छ । उनको शरीर भर्खरै अगेनाको खरानीले धोइसिएको जस्तो देखिन्छ । ती दम्पतीको यात्रा डायलाइसिस भवनतिर हुनपर्छ भनेर अनुमान लगाउन सकिन्छ ।
स्पष्ट हुनका लागि मैले सोध्छु , ” आमा ,कता जान लाग्नुभएको ? “उनले भन्छिन् , ” डायलाइसिस गर्ने पालो हो। समय कटेपछी पाइन्न । अबेर भयो। “उनको पछि पछि हिँड्दै गर्दा मान्छेको बाँच्ने इच्छा र सम्भावित मृत्युमा हुने सङ्घर्ष पनि साथमा हिँडेको आभास हुन्छ । मैले सोध्छु ,” कहिलेबाट हो ? “” एक वर्ष हुन लाग्यो । बुढाको ड्युटी गरेर बसेको । खेत जमिन पनि सकियो । डाक्टर भन्छन उहिले बुढाले सुगर , प्रेसरको औषधि नखाएर यस्तो भाको रे । “
डायलासिसको पालो कुर्दाकुर्दै र भौँतारिँदै बल्ल नियमित डायलासिसको समय प्राप्त गरेका रहेछन् । उनको गोठालो यात्रा प्रारम्भ भएको करिब १ वर्ष हुन लागेको रहेछ। हप्तामा दुई पटक डाइलासिस नगरे उनको श्रीमानको इह लिला समाप्त हुने निश्चित नै छ । बाँच्ने आसको लागि उनकी श्रीमतीले त्यसैगरि अस्पताल आउने जाने क्रम चलिरहन्छ ।
खानुपर्ने ७-८ थरीका औषधि, हप्तामा दुई पटक डाइलाइसिसले गर्दा उनको जीवन नै श्रीमानको रेखदेख गर्नका लागि गोठालो बसेको देखिन्छ । एउटा अमिलो समयको बन्धनमा बाँधिन पुगेको छ उनको जीवन । उनको लागि स्वस्थ भएर अस्पतालको घनचक्कर खान नपरे हुन्थ्यो भन्ने मात्रै आश छ । भने एउटा स्वस्थ व्यक्तिका लागि अनेकौं महत्वकांक्षाहरु जेलिएका हुन्छन् ।
उनको घर सम्पत्ति जे जति छ , सबै प्युठानमा छ । तर श्रीमानको डाइलासिस गर्नका लागि मात्रै नजिकै भाडामा बस्न परेको छ। कमाइ रोकियो, रोजगारी हरायो , खर्च चुल्लियो , स्वास्थ्य जिर्ण भयो । यो भोगाइको पीडा बुझ्न सक्नुहुन्छ त ??
डाइलासिस मृगौला फेल भएका व्यक्तिलाई गरिन्छ । मृगौलाको कृत्रिम कार्य गर्नका लागि विकास भएको प्रविधि नै डाइलासिस हो । जुन सुन्दा पढ्दा सामान्य लाग्छ । तर भोग्ने व्यक्तिले मात्रै त्यसको पीडा अनुभव गर्न सक्छ । हरेक वर्ष मृगौला फेल हुने बिरामीहरु थपिँदै गएका छन् । सोही अनुपातमा डाइलासिस सेवा पुर्याउन भने निकै हम्मे हम्मे परेको छ ।
नियमित डाइलासिस सेवा प्राप्त गर्नका निमित्त पालो कुर्नुपर्ने अवस्था छ । त्यो पालो कसैको इह लिला समाप्त भएपछि आउँछ अथवा मृगौला प्रत्यारोपण गरेपछि आउँछ । मृगौला फेल हुने कारक तत्वमा अनियन्त्रित मधुमेह अर्थात् सुगरको समस्या र रक्तचाप रहेका छन् ।
अध्ययन अनुसार नेपालमा मृगौला रोगीहरु १२-२० प्रतिशत सम्म रहेको तथ्यांक छ । जुन भयावह मान्नुपर्छ । यथार्थ र एकिन तथ्यांकका लागि राष्ट्रियस्तरको अध्ययन गर्नु निकै खाँचो छ । अधिकांश मृगौलारोगीहरुमा मधुमेह, रक्तचाप रहेको पाइन्छ ।त्यो मृगौला रोगले ग्रस्त भएपछिको गोठालो यात्रा गर्न व्यक्ति , परिवार सबैलाई निकै कष्टप्रद छ ।
यदि कोहि व्यक्ति स्वस्थ छ र नियमित औषधि खानुपर्ने अवस्था छैन भने सो जीवन निकै गुणस्तरीय जीवन मान्नुपर्छ । स्वास्थ जीवन सबैभन्दा श्रेष्ठ जीवन हो । स्वस्थ रहनु नै सन्तुष्टिको सबैभन्दा ठूलो कुरा हुनुपर्छ जस्तो लाग्छ ।
हरेक व्यक्तिमा हठ हुन्छ । केवल हठको मात्रामा फरक पर्ने हो । व्यक्ति जन्मने समयमा पनि कोही अलि जिद्दी नै हुन्छन् । व्यथा लामो लाग्छ । आमालाई पीडा बढी हुन्छ । कोही सरल तरिकाले अवतरण हुन्छन् । रुन्छन् । बच्चा रोएको आवाज नै मातृ हृदयलाई शीतलता प्रदान गर्ने अमृत हो । हठ जन्मसिद्ध नै हुन्छ सायद ।
तर स्वस्थ जीवनको लागि हठ कतिपय व्यक्तिमा देखिँदैन । उनीहरुको हठ केवल औषधी खान नपरोस्, मदिरा सेवन गरिरहन पाइयोस् , खानपिन आदिमा कुनै बन्देज नहोस् भन्ने मात्रै हुन्छ । स्वस्थ जीवनलाई नै एउटा सन्तुष्टिको सिमा रेखांकन मनबाट कोरेर बाँकी सबै भौतिक र समाजिक प्रगतिहरू गर्नका लागि जीवनबाट आशा राख्न सके जीवन मधुवन हुन्छ ।
इच्छाहरूको पोको फुकाउँदा अप्राप्तिमा नैराश्यता हुँदा ती आमाको गोठालो यात्रा सम्झिँदा जीवन ज्ञान मिल्न सक्छ । डा.खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ ।
प्रतिकया दिनुहोस्