स्वास्थ्यसमाचार/ १९औँ गणतन्त्र दिवसको अवसरमा भिम अस्पताल, भैरहवामा रक्तदान कार्यक्रम तथा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख विश्वप्रकाश अर्याल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत कर्मचारी मिलन केन्द्रको सहयोगमा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो। फलफूल वितरणका क्रममा बिरामी तथा उनका आफन्तले अस्पतालले स्वास्थ्य सेवासँगै मानवीय संवेदनालाई पनि प्राथमिकता दिएको बताएका थिए।सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित आयोजित कार्यक्रममा अस्पताल विकास समिति सदस्य श्रीमती विष्णु भट्टराईले समेत रक्तदान गर्दै कार्यक्रमप्रति ऐक्यबद्धता जनाएकी थिइन्।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापाले गणतन्त्र दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी सामाजिक सेवा र जनहितका गतिविधिसँग जोडेर मनाउनु आवश्यक रहेको बताइन्। उनले “रक्तदान जीवनदान हो। अस्पतालमा उपचाररत बिरामी र उनीहरूका परिवारलाई यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा दिन्छ,” भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिन्।
प्रमुख अतिथि उमाकान्त चपाईले गणतन्त्रले नागरिकलाई अधिकारसँगै जिम्मेवारी पनि दिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा सहकार्य, सेवा र सामाजिक उत्तरदायित्व अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले अस्पतालले स्वास्थ्य सेवा मात्र नभई समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गरेको भन्दै प्रशंसा गरे।
भैरहवास्थित सिद्धार्थनगर नगरपालिका–१३ मा रहेको भिम अस्पताल नेपालको पुराना अस्पतालमध्ये एक हो। वि.सं. १९९० सालमा ३ शैयाबाट स्थापना भएको अस्पताल वि.सं. २०४१ मा २५ शैयामा स्तरोन्नति गरिएको थियो। आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट ५० शैयामा विस्तार गरिएको अस्पतालमा हाल ५० सरकारी र ५७ अस्पताल विकास समितिबाट सञ्चालन गरिएका गरी कुल १०७ शैया उपलब्ध रहेका छन्। हाल अस्पतालका ८५ शैया सञ्चालनमा रहेका छन्।


प्रतिकया दिनुहोस्