स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।

बोर्डका अध्यक्ष डा।गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । लोहनीले भन्नुभयो, “यसले राज्यलाई आर्थिक भार कम गर्छ ।” उहाँका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो ।

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । कोपेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षा गरिएको छ । कोपेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गरिँदैछ । उहाँले भन्नुभयो, “थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छौ ।”

अस्पतालमा एक महिनाका लागि मात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भीड हुने गरेको छ । बिरामीले समेत दुःख पाउने गरेका छन् । उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम जस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकै पटक दिने व्यवस्था गरिएको डा। लोहनीले जानकारी दिनुभयो ।

माघ १ गतेदेखि यो व्यवस्था लागू हुनेछ । हाल अस्पतालले बीमाको सेवा दिएर पनि महिनौँ भुक्तानी नपाउँदा समस्या परेको जनाउँदै आएका छन् । डा लोहनीले बीमाको रकम दाबी गरेको एक महिनाभित्रमा भुक्तानी दिने गरी गृहकार्य थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा दिएपछि भुक्तानी दिनुपर्छ, एक महिनाभित्रमा भुक्तानी पाउने व्यवस्था हुन्छ ।”

उहाँका अनुसार नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन् । वि सं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुआत भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ । रासस

 

सम्बन्धित शिर्षक :