चिकित्सकमाथि कुटपिट ,अस्पताल तोडफोड र लापरबाहीले मृत्यु भन्नेआरोप बढ्दै गएपछि न्यूनिकरणबारे बुटबलमा छलफल

स्वास्थ्यसमाचार/ अस्पतालमा चिकित्सकमाथि कुटपिट हुने, अस्पताल तोडफोड हुने र बिरामीका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्ने आरोप बढ्दै गएपछि बुटवलमा शनिबार त्यसको न्यूनिकरणबारे छलफल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र लुम्बिनी प्रादेशिक अस्पतालले रूपन्देही जिल्लाभित्रका स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, व्यवस्थापक, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारसहितलाई राखेर छलफल गरिएको हो । छलफलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बिक, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) नेपालका डाक्टर एवं नेपाल चिकित्सक संघ लुम्बिनीका महासचिव डाक्टर सन्तोष पोखरेललगायतले विभिन्न सुधारका उपाय र सुझावसहित काकार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले स्वास्थ्य संस्थामा कार्यरत डाक्टर उपचारमा संवेदनशील बन्नुपर्ने बताए । ‘स्वास्थ्य संस्थाहरुको सेवा र नागरिकको व्यवहार स् विरोधाभाष’ विषयक कार्यपत्र प्रस्तुत गरेका अर्यालले बिरामी र बिरामीको आफन्तको चहनाअनुसार परामर्श र रोग अनुसारको उपचारलाई प्राथमिकता दिएर सेवाप्रवाह गर्नु पर्ने पनि सुझाव दिए ।

‘डाक्टरको भाषा नम्र, बिरामी र उनका आफन्तले बुझ्ने हुनै पर्छ,’ उनले भने, ‘बिरामीको रोगअनुसार आफन्तलाई काउन्सिलिङ र बिरामीको अवस्थाबारे पनि समयसमयमा जानकारी दिनै पर्छ ।’ समस्या भएमा चिकित्सक र अस्पताल प्रशासनबाट हुने सूचना आदानप्रदान पनि घटना न्यूनीकरणको लागि मुख्य प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

चिकित्सक संघका लुम्बिनी प्रदेश महासचिव डाक्टर पोखरेलले ‘स्वास्थ्य क्षेत्रका जटिलता र समाधानका उपाय’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले डाक्टरहरुको प्रभावकारी काउन्सिलिङको अभाव, चिकित्सकहरुलाई तालिमको अभाव, दैनिक धेरै बिरामीको उपचार गर्नुपर्ने बाध्यता, न्यून पारिश्रमिक र दैनिक अपडेटको अभावले घटना हुने गरेको बताए ।

त्यस्तै राजनीतिक संरक्षण, द्वन्द्वपछिको नेपाली समाज, फितलो कानुन, पैसामा क्षतिपूर्ति माग्ने बढ्दो प्रवृत्तिका कारण हातपात हुने र तोडफोड हुने घटना बढेको बताएका थिए । ‘सबै भन्दापहिला पैसामा क्षतिपूर्ति माग्ने परिपाटी अन्त्य हुनै पर्छ,’ उनले भने, ‘भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन र आवश्यकता अनुसारका कानुन परिमार्जन गरेर स्वास्थ्य क्षेत्रलाई संवेदनशील बनाउनु पनि जरुरी छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत बिकले स्वास्थ्य संस्थाहरुलाई व्यापारको रुपमा प्रयोग गर्ने भन्दा पनि सेवाको क्षेत्रका रुपमा व्यवस्थापन गर्नु जरुरी रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुको सुरक्षाको विषयमा आफूहरु जतिबेला पनि तयार रहेको तर, बिरामीको मृत्यु हुने घटनामा स्वास्थ्यकर्मी पनि गम्भीर बन्नु जरुरी रहेको बताएका थिए । ‘तपाईंहरुलाई जोगाउन हामी हरदम तयार छौं, हुन्छौं,’ उनले भने, ‘निको हुने आशा गरेर अस्पताल पुगेको बिरामी निको भएर वा बिरामीका आफन्त सन्तुष्ट भएर फर्कने वातावरण चिकित्सक र स्वास्थ्य संस्थाले बनाउनु जरुरी छ ।’
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुखउमा अधिकारीले चिकित्सक र बिरामी दुवै पक्षले राज्यलाई दोष लगाएर उम्कनुभन्दा पनि सबै मिलेर सुरक्षित समाज निर्माण गर्न र एकले अर्कोलाई विश्वास गर्ने वातावरण गराउनु पर्नेमा जोड दिइन् । ‘यहाँ सबै राज्य नै हो, सबै सरकार हो,’ उनले भनिन्, ‘त्यसैले हामी सबै जिम्मेवार बन्ने र दायित्व निर्वाह गर्ने विषयमा गम्भीर बनेर सहकार्यका साथ अघि बढौं ।’

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुदर्शन थापाले पनि स्वास्थ्य क्षेत्रमा बेलाबेला देखिने समस्या समाधानका लागि पहिलो चिकित्सकहरुको बोली व्यवहार सुधार र नागरिकमा सचेतना हुनु जरुरी रहेको कार्यक्रमको निश्कर्ष रहेको बताए । ‘बोली व्यवहार सुधारले धेरै बिरामी पनि निको हुने र आफन्त पनि सन्तुष्ट बन्ने अवस्था हो,’ उनले भने, ‘त्यसपछि आफन्त वा नागरिक काउन्सिलिङ जरुरी हुन्छ ।’

उनले लुम्बिनी प्रादेशिक अस्पतालले पनि चिकित्कसहरुको बोली व्यवहार सुधार गर्न र बिरामी वा उनीहरुका आफन्तको गुनासो सुन्नका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै तालिम विभाग नै गठन गरेर काम सुरु गरेको बताए ।कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य क्षेत्रका सरोकारवाला निकाय, अधिकारकर्मी, संचारकर्मी लगायतले पनि सुझाव दिएका थिए ।

सम्बन्धित शिर्षक :