भैरहवाका ठूला मिठाइ पसलमा उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग

सिद्धार्थनगरद्धारा अनुगमन गरि ४० लिटर तेल, २९ प्याकेट मसला नष्ट

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका  मिठाइ पसलहरुमा अनुगमन गरेको छ । अनुगमन टोलीले नगरमा रहेको पवन मिष्ठान भण्डार, नन्दन स्विट्स, दिव्यम स्विट्स एण्ड स्नायक्स्, माखनभोग स्विट्स, साँवरिया र श्याम मिष्ठान भण्डारमा अनुगमन गरेको हो ।

अनुगमन गरिएकोमध्ये नन्दन स्विट्सबाहेक सबै मिष्ठान पसलले उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग गरेको पाइएकोले तत्काल नष्ट कारवाही गरी सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले बताइन् । टोलीले विभिन्न मिष्ठान पसलहरुमा पाएको अखाद्य ४० लिटर तेल नष्ट गरेको हो ।

तेलमा एकपटक कुनै सामग्री तारेपछि पटकपटक सोही तेलमा अन्य सामग्री तारेमा उक्त तेल खाने योग्य हुँदैन । र, उक्त पसलहरुले सोही किसिमका कार्य गरेको अनुगमनमा पाइएको थियो । त्यस्तै माखनभोग स्विट्समा म्याद गुज्रिएको ५० ग्रामको ८ प्याकेट कसुरी मेथी मसला र २१ प्याकेट चाट मसला बरामद भएपछि जफत गरी नष्ट गरिएको संयोजक अधिकारीले बताइन् ।

‘मिष्ठान पसलहरुमा प्रयोग गरिएको खाने तेलको नमूना परीक्षण गर्दा धेरैपटक प्रयोग गरिएको पाइएकोले उक्त तेल खान योग्य हुँदैन’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक मनोज अधिकारीले भने, ‘त्यसैले बरामद तेल हामीले तत्काल नष्ट गरेका हौँ ।’उनका अनुसार प्रयोग भएको तेलमा कुल पोलार म्याटरियल २५ प्रतिशत नबढेको हुनुपर्नेमा त्यो भन्दा बढी पाइएकोले तेल खान योग्य नरहेकोले नष्ट गरिएको हो ।

त्यस्तै अनुगमनको क्रममा मिष्ठान पसलहरुको भान्सा सफा नराखिएको, सामग्रीहरु खुल्ला राखिएको, तेलमा पटकपटक विभिन्न सामग्री तारिएको लगायत पाइएकोले पहिलोपटकको लागि सचेत गराइएको र पुनः पाइएमा थप कारवाही प्रक्रिया अगाडी बढाइने संयोजक अधिकारीले बताइन् ।

नगर उपप्रमुख एवं अनुगमन समित संयोजक उमा अधिकारीको संयोजत्कवमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नगरपालिकाको राजस्व शाखाको प्रतिनिधि, पत्रकार लगायत रहेका थिए ।

सम्बन्धित शिर्षक :