चिकित्सा शिक्षा ऐन संसोधन गर्ने तयारी सरकार : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको आयोजनामा दाङको घोराहीमा नेपाल जनसाँख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ को सार्वजनिकिकरण एवं अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०२२, नेपाल स्वास्थ्य क्षेत्र रणनैतिक योजना २०७९/८० र २०८७/०८८ र नेपाल स्वास्थ्य वित्त रणनीति २०७९/८० का बारेमा डा. कृष्णप्रसाद पौडेलले, मातृ मृत्युदरको अवस्था रोकथाम तथा नियन्त्रण सम्बन्धी राशनीलक्ष्मी कार्की र डेङ्गी रोगको अवस्था रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रस्तुती राख्नु भएको थियो ।

उहाँहरुको प्रस्तुती पछि सहभागि पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुखले आ आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसँख्या मन्त्री मोहन वहादुर बस्नेतले चिकित्सा शिक्षा सुधारका लागि सरकारले चिकित्सा शिक्षा ऐन संसोधन गर्ने तयारी गरिरहेको बताउनु भयो ।

अहिले कार्यान्वयमा रहेको ऐन जारी रहे अबको ५ वर्षपछि नेपालमा चिकित्सक तथा नर्स नपाइने भन्दै मन्त्री बस्नेतले यो ऐन संसोधन गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । जनशक्तिको कमिले पनि चिकित्सा क्षेत्रमा पछिल्ला समस्याहरु देखिन थालेको भन्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा थप दरबन्दी बृद्धि गरि जनशक्ति व्यवस्थापन गर्न थालेको बताउनु भयो ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा गरेको सुधारको प्रयासको प्रतिफल अबको ६ महिना भित्र प्रष्टै देखिने बताउनु भयो । उहाँले स्वास्थ्य सेवा प्रभावकारी बनाउन तिन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भयो । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री राजु खनालले अबदेखि लुम्बिनी प्रदेश सरकार अन्र्तगतका अस्पतालमा जनरल बेड निशुल्क गरिने घोषणा गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव देवकुमारी गरागाईं, अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्याल, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जर्नादन पन्थी लगायतले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा आ आफ्नो भनाई राख्नु भएको थियो ।

यसअघि बुधबार नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक उपचार भवनको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले १० प्रतिसत बेड निशुल्क नगर्ने अस्पतालको नविकरण नगर्ने बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :