पाठेघर मुखको क्यान्सर विरुद्ध भदौ २७ गतेदेखि खोप लगाउने तयारी

स्वास्थ्यसमाचार/सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप एचपीभी भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । एचपीभी खोप अहिलेको लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लिनका उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ ।

परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो ।जसअनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप दिइनेछ ।

कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ ।विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।

अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभी विरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो ।

यो खोप दुई मात्रा दिनुपर्ने हुन्छ । खेर जाने खोपको सम्भावित अनुमान गर्दा करिब ९ हजार ५०० किशोरीलाई मात्र दिने महाशाखाले जनाएको छ ।नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सक बताउँछन् ।

सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । यसका कारण महिलाहरु उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य छन् ।

एचपीभी भनेको के हो ?

एचपीभी भनेको एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन् अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो ।

पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढी एचपीभीले गराउँछ । एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्दछ ।

 

सम्बन्धित शिर्षक :