पाल्पामा डेंगी बढेपछि खोज र नष्ट अभियान सुरु

स्वास्थ्यसमाचार/पाल्पामा डेंगी संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पाले बिहीबारबाट प्रत्येक वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरेका हुन् ।

तानसेन नगरभित्र संचालित ग्यारेज, कवाडी संकलन गर्ने स्थल, वर्कसप लगायतमा टोली पुगेर लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने लगायतका कार्य गरिएको छ । अभियानमा स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, नगरपालिकाका स्वयंसेवक, प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।

नगरभित्रका १४ वटै वडाका साथै विद्यालय, संघसंस्था, स्वास्थ्यकेन्द्र लगायत पानी जम्ने स्थानहरुमा सचेतना गराउँदै डोगी नियन्त्रणको अभियान थालिएको छ । डेंगीका संक्रमितको संख्या बढेपछि खोज र नष्ट गर अभियान संचालन गर्नु परेको स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । सबै वडामा अभियान सञ्चालन गर्ने गरी काम अघि बढाएको र डेंगी फैलाउन सहयोग पुग्ने खालका वस्तुहरु हटाउन लगाउने योजना बनाएको उनलने बताए ।

टोल, बस्तीका व्यक्तिलाई सचेत गराएर अभियानमा सहभागी गराइने नेपाल रेडक्रस सोसाइटी पाल्पाका अध्यक्ष बाबुराम कार्कीले बताए । पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्नका लागि सबैमा सल्लाह दिनुपर्ने उनले बताए । डेंगी संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट स्वास्थ्य कार्यालयले अपडेट गर्दै आएको छ । निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेहरूले संख्यासमेत स्वास्थ्य कार्यालयमा उपलब्ध गराउनुपर्नेछ ।

पाल्पामा मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज साथै स्वास्थ्य संस्था र निजी क्लिनिकमा डेंगीबाट ७३ जना संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक इबार्स अर्ली वार्निङ रिपोर्टिङ सिस्टममा भने ५६ जना मात्र रेकर्ड रहेको छ । इबार्समा पाल्पा अस्पताल, मिसन र लुम्बिनी मेडिकल कलेजको तथ्यांक समेटिएको छ । १७ जना निजी क्लिनिक र गाउँका स्वास्थ्य चौकीमा जाँच गराएकाहरुको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :