गुल्मीको छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

स्वास्थ्य समाचार /गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले छत्रकोट गाउँपालिकालाइ पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै सडक,भवन,पुल जस्ता पुर्वाधार विकासलाइ मात्र विकास ठान्ने प्रवृत्ति बाट माथि उठि सामाजिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

सडक,शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँच बिना अन्य विकासले मात्र समृद्ध समाजको परिकल्पना पनि गर्न नसकिने बताउदै समन्वय प्रमुख खत्रीले ‘निकै मेहनतका साथ छत्रकोटले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको छ,यसलाई दीगो रूपमा कायम राख्न आग्रह गर्नुभयो ।

राज्यले लगानी गरेको हरेक क्षेत्रमा जनताले अनुभुती गर्ने गरि नतिजा आउन जरुरी रहेको बिचार राख्दै समन्वय प्रमुख खत्रीले स्थानीय तहमा भएका राम्रा कामको प्रचार प्रसारमा लाग्न सुझाव पनि दिनु भयो ।

गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त कार्यक्रमलाई निरन्तर राख्न सबै एकजुट भएर सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष पाण्डेले जनतालाई प्रदान गरिने स्वास्थ्य,मानवीय सेवाहरु सुधारका लागि आफुहरु गम्भीर भएको भन्दै मानवीय र सामाजिक विकासमा लागिपरेको दाबी गर्नुभयो ।

स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले पोषण सम्बन्धि सुचाङ्क पूरा भए वा भएनन् भनेर आफुहरुले अनुगमन गरेको बताउँदै निश्चित समय राखेर पोषणमैत्री पालिका घोषणाका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने नेपालको तेस्रो पालिका बनेको छ ।

स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै ८ वटा स्वास्थ्य इकाइ स्थापना गरिएको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिको खटाइको कारणले गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न सकिएको बताउनुभयो ।

गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका पहिलो  र धुर्कोट गाउँपालिका दोश्रो बनेको छ ।

सम्बन्धित शिर्षक :