पाल्पा पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

स्वास्थ्यसमाचार/ पाल्पा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।पाल्पाका १० वटै स्थानीय तहहरु पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा सम्पन्न भएपछि जिल्लालाई घोषणा गरिएको हो ।

हरेक बर्षको जेठ महिनामा पालिकाहरुलाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिन्छ । जिल्ला खोप समन्वय समितिले सबै स्थानीय तहको सबै वडामा पुगी लक्षित बालबालिका भएका घरमा सुलभ सर्वेक्षण गरेपछि घोषणा गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा प्रतिवेदन २०८० प्रस्तुत गर्नुभयो ।पाल्पा जिल्लाका १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पुर्ण खोप पाएको सुनिश्चितता गरिएको हो ।

पुर्णखोप सुनिश्चितता कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आगामी बर्षहरुमा पनि निरन्तरता दिने प्रतिवद्धता गरेको छ । कार्यक्रमका सहभागिहरुले प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् ।

प्रदेश खोप समन्वय समिति लुम्बिनी प्रदेशका सदस्य सचिव विनोद कुमार गिरिले खोप समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनाल र सदस्य सचिव राजेन्द्र गिरिलाई पुर्णखोप सुनिश्चितता घोषणा प्रमाणपत्र प्रदान गर्नुभयो ।

स्वास्थ्य निर्देशनालयका डाक्टर गिरिले पुर्ण खोप घोषणा गर्नु आफैमा महत्वपुर्ण कार्य भएता पनि यसको दिगोपना कायम गरि निरन्तरता दिनु अझै महत्वपुर्ण जिम्मेवारी भएको बताउनुभयो । गिरिले सरकारले बैशाख महिनालाई खोप महिनाको रुपमा मनाईने नीति लिएको बताउनुभयो ।

पुर्ण खोप पाएको सुनिश्चित गर्न २०६९ साल बाट सुरु गरिएको यस कार्यक्रम पछि पाल्पालाई २०७० फागुन १३ गते पहिलो पटक पुर्ण खोप जिल्ला घोषणा गरिएको थियो । समितिका अनुसार गत आर्थिक बर्षमा ३ हजार ८ सय ५५ जना र चालु आर्थिक बर्षमा ३ हजार २ सय ३१ जनाले पुर्ण खोप पाएका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री वीर बहादुर रानाले अहिलेको खानपानले बालबालिकाहरु अस्वस्थ हुँदै गईरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । रानाले कार्यक्रमका लक्षित वर्ग प्रति खर्च बढाउनु पर्ने र घोषणा कार्यक्रम सामान्य ढंगले गर्दै मितव्ययी हुनुपर्ने बिषयमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य खेम बहादुर सारुले पाल्पालाई मानव विकास सुचकांकको सुचीमा माथी उठाउन स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधीहरु लागिपर्नु जरुरी रहेको बताउनुभयो । सारुले यसको दिगोपनामा ध्यान दिन सके नेपाल विकसित देश बन्नेतर्फ लाग्ने बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बालबालिकालाई लगाईने खोप राज्यको खर्च नभई लगानी भएको भन्दै यसको दिगोपनाका लागि स्थानीय तहहरु लागिपर्ने बताउनुभयो । त्यस्तै गाउँपालिका प्रमुखहरुको तर्फ बाट बोल्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले खोप सेवाको लक्ष्य, उद्देश्य र प्रतिवद्धता अनुसार खोप बाट बँचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मुलनमा तिब्रता दिने र यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पाल्पामा आर्थिक बर्ष २०७८/७९ मा जन्मेदेखी ५ बर्ष मुनिका ४ हजार २ सय १२ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारको तोकिएका खोप प्राप्त गरेपछि पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । कार्यक्रममा सबै पालिकाका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित शिर्षक :