केही मलिन अनुहारहरु एउटा आइ. सि .यु कक्षबाहिर प्रतिक्षामा बसिरहेका छन् । स्वजन र आफन्तको प्रतिक्षामा । कहिले निको भएर पून: भेट्न् पाइन्छ कि भन्ने आशमा । बेला बेला माइकिङबाट आवाज आउछ ” फलानोको मान्छे संपर्क राख्नु “ । सबै जना सतर्क हुन्छन् ।
कान तीखा हुन्छ्न् केही क्षण । आफ्नो बिरामीको अप्डेटका लागि बोलाएको हो कि भनेर । भित्र जटिल रोगसँग लडिरहेका छन् ति सबै मलिन ब्यक्तिका जीवनका प्रिय आत्मीय पात्रहरु । कोही मृत्युसँग लडिरहेका छन् । कोही सुधारको क्रममा छन् । सबैका मनमा भय छ । स्वजन फर्केर लैजान पाइने हैन कि भनेर । आशा पनि छ सघन उपचारको ।
सबै बिरामीहरुको मुटुका गतिविधि मनिटरमा प्रकाशित भएका हुन्छन् । ती मनिटरको कर्कश आवाज पनि सुनिन्छ । त्यो कर्कश आवाज बेड्मा सुतिरहेका बिरामीहरुको आर्तनाद जस्तो प्रतीत हुन्छ बेला बेला ।
त्यही प्रतीक्षारत ब्यक्तिहरुका माझमा एक अन्दाजी ६० बर्षका नमिलेको ढाका टोपी ,मैलो कमिज ,रङ उडेको पाइन्ट र पुरानो कोट लगाएका ब्रिद्ध छन् । चाउरी परेको अनुहारमा खोप्ल्टा परेका गाला छन् । दुब्लो ज्यानमा हात खुट्टाका नशा गजब सँग देखिन्छन् । इस्टकोट पनि लगाएका छन्। धेरै पुरानो इस्टकोट हुनुपर्छ । दुई ठाउँ टालेको । गोल्डस्तारको थोत्रो जुत्ताले अगाडि भागमा मुख खोलेजस्तो देखिन्छ । हाँसेको हो कि रोएको पत्तै नपाईने ।
ती बुवाको अनुहार मलिन छ । सबैभन्दा निराश । यत्रो हस्पिटलमा के कता भनेर थाहा पाउदँदैनन् । एउटै काम फत्ते गर्न धेरै समय बिताउँछन् । धेरै टाढाबाट आफ्नी छोरी बिरामी भएर ल्याएका छन् । छोरीलाई एकासी खुट्टा र हात चलाउन गार्हो भएको थियो । कमजोरी भएको थियो। र त्यो बिस्तारै बढ्दै गएर घाँटी उठाउन पनि नसक्ने भएकी छन् ।
श्वास फेर्न नै कठिनाई हुँदै थियो । रोगको प्रकृतिले गर्दा एउटा महँगो औषधी चलाउन पर्ने भएको छ । “ बुवा । छोरीको अवस्थाले गर्दा एउटा औषधी चलाऊन पर्ने देखिन्छ । अली महँगो पर्छ । जतिसक्दो छिटो चलाउन सके ज्यान बचाउन सकिन्छ । के गर्ने बुवा ।
आशा त्यही ओक्तोमा छ । ………“ म भन्छु । आफ्नो मन गर्हौ बनाइ । उनको अवस्था हेरेर त्यो उपाय होला भन्ने कुरामा सन्देह छ मेरो मनमा । गर्नसकिने अस्पतालबाट छुट मिलाइसकेको थियो । बाँकी मेरो हातमा केही थिएन । सबै कुरा भनी म भित्र जान्छु ।
खाजा खान पर्ला भनेर केही समयमा निस्किन्छु ।आइ सि यु बाहिर तिनै बुवा एउटा कुनामा बसेका रहेछन् । उनी गन्दै थिए । आफ्नो भित्री खल्तिबाट कुटुरो निकाली । त्यो कुटुरोको साहारामा उनी आएका थिए काठमान्डौसम्म । म एक क्षण अडिन्छु । पाँच रुपैयाँको नोट गन्दै छन् । त्यो सानो मुठो पैसामा पाँच रुपैयाका नोट धेरै छन् ।
त्यो द्रिश्य देखेर मेरा मनमा प्रस्नहरुको ट्राफिक जाम हुन्छ । हजारौ खर्च हुने आइ. सि. यु बाहिर त्यो सानो कुटुरो पैसाको के दम ! भर्खर भुड्की फोरेर निकालेजस्तो लाग्ने । राष्ट्र बैन्कको भुड्की भए केही हुन्थ्यो होला । त्यो पैसाको कुटुरोमा निरिहता झल्किन्छ । गरीबीको कथा भेटिन्छ । जीवनका भोगाइ अनुमान लगाउन सकिन्छ ।
पैसा नहुँदाको दारुण अवस्था देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा “ देशको अवस्था ” बुझिन्छ । ति बुवाले पूराना पाँच रुपैयाका नोट गनिराखेको समयमा कति तारे होटेलमा राष्ट्रको ढुकुटीबाट फजुल खर्च भएका होलान् । कतै बिटोका बिटो पैसा टेबुलमुनिबाट आदनप्रदान भएको होला । कमिसन बाँडिएका होलान् । अडिटका नाममा पर्सेन्ट छुट्याइएका होला । पर्सेन्ट नछुट्टिए बेरूजु हुने मजाको चलन ! त्यसको भुक्तभोगी म ।
स्वास्थ्यको सेवामा ब्रह्मलुट भनेर कथा बनाउन सजिलो छ। ति बुवाको अवस्थालाई समाचार बनाउन सजिलो छ । उपचारलाई सहज बनाउन कहाँ बाट पहल हुन पर्ने हो । मैले बुझेको छैन। अहिलेको अवस्था हेर्दा स्वास्थ्य क्षत्रलाई सकेसम्म पेलेर लगे सहज हुने जस्तो देखिन्छ सबैको बुझाइमा । कानुनले पेलेर स्वास्थ्यमा कार्यरत सबैलाई वकिल भएर काम गर्ने बातावरण बन्दै छ । कहाँ के गर्दा कानुनबाट बाँचिन्छ भन्ने ध्याउन्न । प्रेरणा भन्दा दिक्दारिपन बढी ।
हरेक बेडमा तन्ना फेरिन्छन् । दिसापिसाब ब्यबस्थापन गरिन्छ । बिरामीका कपडा फेरिन्छन् । शरीर सफा गरिन्छ पुछेर । कपाल कोरिन्छ । हरेक समयमा कोही न कोहीका आँखा मनिटरमा परिरहन्छ । कतै सिधा धर्को देखाउने त हैन भनेर । जानेबुझेसम्म औषधी मिलाइन्छ । सबैजनालाई ब्यस्तता छ । कोही खाली बसेको देखिन्न । आ आफ्ना काममा सबै ब्यस्त । कोही न कोही सदा खटिएको नै छ । त्यसैले त यो चलेको छ ।
तर पनि अझै पेल्नुपर्छ यी डाक्टर र नर्स जतिलाई !
बिरामीका आफन्तहरुको आफ्नै कथा छ । अचकल्टो निद्रा उनीहरुको पनि हुन्छ । घरजस्तो चयन त के नै होला र । उनीहरु पनि ड्युटिमै छन् । ड्युटि चलेकै छ सबैको । यस्तो प्रतीत हुन्छ । हस्पिटल भनेको ड्युटिको घर । नामकरण पनि ड्युटिघर राख्नुपर्ला !
सबैका आफ्नै समस्या । आफ्नै कर्तब्य । आफ्नै कथा । प्रत्येक ब्यक्ती एउटा सिंगो उपन्यास । तर त्यो ५ रुपैया नोटको कथाब्यथा कसले बुझ्ने । के राष्ट्रले निशुल्क उपचार गराउन क्षमता राख्छ त ? हरेक कुरामा शुल्क अवस्य लाग्छ । निशुल्क भन्ने हुँदैन । एउटा खाडल पूर्न अर्को खाडल बनेजस्तै हो । त्यही पनि निशुल्क शब्दको लोकप्रियता कहिल्यै छाड्ने भएनन् नेतागणले । ब्यबस्थापनको मात्र खाँचो हो ।
सिफारिस भएसी सबैले “बिपन्नको “ सुबिधा हुने देश हो । रोग लागेपछि सिफारिस भैहाल्यो । डाक्टरलाई मात्र पेलेर त्यो पाँच रुपैयाका कथाको समाधान हुँदैन । त्यस्ता कथा हामी दिनहुँ देख्छौँ । भोग्छौँ । तर ति बिबशताका कथाहरु धेरै यतै ओझेल भएर जान्छन् ।
पावरमा भएकालाई लोकप्रियताका लागि स्टन्ट गरे भोटको खेती भयो नै । हेर्दा सुन्दा आकर्षक बाली । तर बिउ भने मक्किएको । राम्रो बलियो सिस्टमको बिउ रोप्ने कि सपना बाँड्दैमा र डाक्टरलाई कुन्ठित पारेर नै स्वास्थ्य सेवा चलाउने । जिम्मा सबै पावरमा भएका मान्यजनहरुलाई । आफुलाई त फेरी अर्को पाँच रुपैयाको कथा हेर्नु नै छ हरेक दिन ।
डा.शम्भु खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन।
प्रतिकया दिनुहोस्