जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारहुन्छ :मन्त्री गिरी

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । ‘नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ गरिबले पनि कसरी गुणस्तरीय सेवा पाउन सक्छन् यस विषयमा खोज गरेर कलम चलाइदिनुस् ।

हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’ उनले स्वास्थ्य क्षेत्रका बेथिति, भ्रस्टाचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाउँदा देशका लागि ठूलो योगदान हुने बताए । हामी जिम्मेवारीमा छौं, तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्‍त्रालय सम्हालेको मन्त्री गिरीले बताए । ‘हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौं । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सिमा छन् । तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौं,’ उनले भने, ‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौं । अहिले अध्ययनमै छौं ।’

सम्बन्धित शिर्षक :