गुल्मी जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

स्वास्थ समाचार /स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ ।

आर्थिक वर्ष ०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल तेस्रो भएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट गुल्मी अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर प्रदेशमा तेस्रो हुन सफल भएको छ ।
अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डे सहितको टोलिले अनुगमन मुल्याङ्कन गरेको थियो ।

अनुगमन पछि गुल्मी अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङन गर्दा विगतमा भन्दा थप उपलब्धी भएको पाइएको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डे बताउनु भयो ।

उहाँले समग्रमा गुल्मी अस्पतालको सेवाप्रवाह राम्रो पाइएको डा.पाण्डे बताउनु भयो । भौतिक संरचना अभावका बिचमा पनि यो स्तरको सेवाप्रवाह हुनु अत्यान्तै सुखद पक्ष रहेको उनले बताउनु भयो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले स्वस्थ्य सेवाको क्षेत्रमा गुल्मी अस्पतालले गरेको प्रगती प्रशंसनीय रहेको बताउनु भयो ।

यो उपलब्धी प्राप्त गर्न हरदम सहयोग गर्ने सबैको सहयोगबाट यस अवस्थामा आउन सफल भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्चाले बताउनु भयो । सबैको सहयोगले अस्पताललाई थप स्तरउन्नती गर्न सकिने डा. उत्तम पच्चाले बताउनु भयो ।

गुल्मी अस्पतालमा अहिले हाडजोर्नी, गाइनोलोजिष्टका डाक्टरहरु पनि थपिएका छन् । जसले गर्दा सेवा प्रवाहमा बृद्धि भएको गुल्मी अस्पतालका अध्यक्ष भरत पाण्डेले बताउनु भयो ।

अस्पतालको सेवाप्रवाहमा सुधार ल्याउन निरन्तर खटाईका कारणले गर्दा गुल्मी अस्पतालले सुधारका संकेतहरु बृद्धि गर्दै गएको अध्यक्ष पाण्डेको भनाइ छ। अस्पतालले अघिल्लो वर्ष ८६ प्रतिशत अंक ल्याएको थियो ।

भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ। ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् ।

आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।

सम्बन्धित शिर्षक :