सधै राजनिति दलको चुनाबी नारा बन्यो अर्घाखाँचीको स्वास्थ्य क्षेत्र

वीरेन्द्र केसी

अर्घाखाँची / पहिलो संविधानसभा चुनावमा टोपबहादुर रायमाझीले मतदातासँग सन्धिखर्क अस्पताललाई ५० शय्याको बनाउने वाचा गरेका थिए । त्यसयता तीनपटक लगातार चुनाव जितेर पटक–पटक मन्त्री भए । मंसिर ४ मा हुने चुनावमा उनी चौथोपटक प्रतिनिधिसभा सदस्यमा भिड्दैछन् । एक वर्षअघि लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भन्ने प्रस्ताव गरेको छ । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै छन् ।

प्रतिनिधिसभा सदस्यमा एमाले केन्द्रीय सचिव रायमाझी, प्रदेशसभा (१) बाट केन्द्रीय सदस्य चेतनारायण आचार्य र (२) मा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे उम्मेदवार छन् । २०७४ को चुनाव जितेका उनीहरू फेरि चुनावी एजेन्डामा अस्पताललाई ५० शय्याको बनाएर विशेषज्ञ चिकित्सकसहितको सेवा दिने भन्दै मत माग्दै छन् ।

‘अब बुटवलमा हुने उपचार सन्धिखर्कमा र सन्धिखर्कमा हुने उपचार गाउँमा हुनेछ,’ रायमाझीले भने, ‘जिल्ला अस्पतालमा मैले बजेट पारेको थिएँ । सरकार परिवर्तन भएपछि त्यो बजेट काटियो र अहिले फेरि बजेट पारेको छु, काम सुरु हुन्छ ।’

केपी ओली सरकारले एक पालिका एक अस्पताल बनाउने गरी काम अगाडि बढाएको उनले बताए । जसअन्तर्गत मालारानी गाउँपालिकाको खनमा सेवा सुरु भएको छ । भूमिकास्थान नगरपालिकाको चिदीचौरमा भवन बन्दैछ । छत्रदेव र शितगंगामा प्राथमिक स्वास्थ्य केन्द्र नै छन् । उपचारका लागि बुटवल, काठमाडौं धाउनुपर्ने र बसाइँसराइ नै गर्नुपर्ने बाध्यताबाट जिल्लाबासीलाई मुक्त गराउने आफ्नो पहिलो एजेन्डा रहेको रायमाझीले बताए ।

कांग्रेस नेतृ पुष्पा भुसाल गौतम पनि रायमाझीसँगै २०६४ सालको चुनावमा निर्वाचित भएर संसद् छिरिन् । रायमाझी तत्कालीन क्षेत्र नं १ र भुसाल क्षेत्र नं। २ बाट चुनाव जिते । दोस्रो संविधानसभा चुनावमा भुसाल सोही क्षेत्रबाट पराजित भइन् । २०७४ को चुनावमा समानुपातिक सांसद बनेर कांग्रेस संघीय संसदीय दलको सचेतक हुँदै उपसभामुख भइन् । अहिले उनी प्रतिनिधिसभा सदस्यमा रायमाझीसँग चुनावी प्रतिस्पर्धामा छन् ।

स्वास्थ्य क्षेत्रमा भुसालको पनि रायमाझीको भन्दा फरक एजेन्डा छैन । ‘सन्धिखर्क अस्पताललाई स्तरोन्नति गर्दै मेडिकल कलेज खोल्ने गरी संरचना निर्माण गर्ने योजना छ,’ उनले भनिन्, ‘पहाडी भेगको अर्घाखाँचीमा डाक्टर उत्पादन गर्न कलेज स्थापना गर्छु । हरेक अर्घाखाँचीबासीलाई जटिल रोगबाहेक अरु उपचारका लागि जिल्लामै सेवा उपलब्ध गराउने लक्ष्य छ ।’

गठबन्धनबाट प्रदेशसभा (१) बाट राजमो केन्दीय सदस्य सागर केसी र प्रदेशसभा (२) मा कांग्रेस पूर्वजिल्ला सभापति कमल भुसालको पनि भुसाल र रायमाझीको जस्तै चुनावी एजेण्डा छ । चुनावताका र स्वास्थ्यसम्बन्धी हरेक कार्यक्रममा सन्धिखर्क अस्पताललाई ५० शय्याको बनाइने प्रतिबद्धता दलका नेताले गर्छन् । तर, कार्यान्वयन छैन ।

‘सन्धिखर्क अस्पताललाई ५० शय्याको बनाएर दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक चुनावी नारामा होइन, व्यवहारमै हुनुपर्छ,’ उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालले भने, ‘जिल्लामै विशेषज्ञ डाक्टर भएपछि यहीँ सुविधा हुन्छ, उपचारको लागि ऋण खोजेर बाहिर जानु पर्दैन । दीर्घरोगीसहित अन्य रोगी, बिरामीहरू सहज उपचार सेवा पाउन बसाइँसराइ नै गरेर तराई र सहरतिर जानुपर्ने बाध्यता छ, त्यो रोकिन्छ ।’

सन्धिखर्क अस्पताल प्रमुख डा। जगन्नाथ तिवारीले अस्पताल ५० शय्याको भएपछि ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी हुने बताए । तर, अहिले आफूसहित ६ जना मेडिकल अधिकृत रहेको उनले बताए । अहिले फेमली फिजिसियन तिवारी मात्रै छन् ।

महिला, हाडजोर्नी, बालरोगसहितका अरु विशेषज्ञको दरबन्दी छ, डाक्टर छैनन् । अहिले अस्पताल १५ शय्याको छ । भवन छैन । ‘पहिला संरचना चाहिन्छ,’ उनले भने, ‘संरचनाबिना डाक्टर पठाएर मात्रै हुँदैन । काम गर्न सकिँदैन, अहिले १५ शय्याको पुरानो जीर्ण भवन छ ।’

अस्पताल ३२ रोपनी क्षेत्रफमा फैलिएको छ । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल पुनर्निर्माण प्राधिकरणले भवन बनाउने गरी दुई वर्षअघि ४५ करोडको डीपीआर गरेको बताए ।

‘प्राधिकरणले सुरुमा साढे ३७ करोड रुपैयाँ रकमसहित फाइल संघीय सहरी विकास मन्त्रालयमा पठाएको थियो,’ उनले भने, ‘फाइल गायब भयो । गत वर्ष काम हुन सकेन । अहिले बहुवर्षीय योजनामा परेको छ ।’ भौतिक संरचनासहित दरबन्दी अनुसारको चिकित्सक सेवा दिन सके बसाइसराइ रोकिने उनले बताए ।    इ-कान्तिपुरमा बिरेन्द्र केसीले लेखेका छन।

सम्बन्धित शिर्षक :