सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन समितिको निर्देशन

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सभाको सामाजिक विकास समितिले सरकारी अस्पतालहरुको सेवा प्रवाह लाईथप सहज, ब्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

शुक्रबार बसेको प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिब डा.विकास देवकोटा लगायतका अधिकारीहरु सहितको बैठकले उक्त निर्देशन दिएको हो ।

बैठकले सरकारी अस्पतालहरुको सेवा प्रवाहलाई थप सहज र ब्यवस्थित बनाउन र कोभिड–१९ बाट मृत्यु भएका परिवारले प्राप्त गर्ने राहत रकम प्राप्त गर्न बाँकी रहेका परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको समितिका सचिब गिरीराज खनालले वताए ।

समितिका सभापति बाबुराम गौतमको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्य समेत रहेका प्रदेश सभा सदस्यहरु डा.पुरनमान बज्राचार्य,अर्जुन कुमार केसी,दीपा बिक, पुष्पा थरुनी र कमला देबी बिकले सरकारी अस्पतालहरुबाट प्रदान गरिने सेवा प्रवाह सेवाग्राही मैत्री नभएको भन्दै अस्पतालबाट सेवा प्रवाह गर्दा बिनम्रतापूर्वक गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारी अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीहरुसँग गर्ने ब्यवहार राम्रो नभएको र अस्पतालका शौचालयहरु दुर्गन्धित हुने गरेको भन्दै उनिहरुले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको ब्यवहार सुधार गर्नुपर्ने बताए ।

सरकारी स्वास्थ्य संस्थाहरुको शौचालय सफा सुग्घर बनाउने ब्यवस्था मिलाउन समेत मन्त्रालयका सचिब तथा अधिकारीहरुलाई सुझाव दिए ।

सम्बन्धित शिर्षक :