सीमित जनशक्तिका बिच सेवामा सुधार गर्दै भिम अस्पताल

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा सिकलसेलका बिरामीहरुलाई लक्षित गर्दै परिक्षण सेवा सुरु भएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र रहेको यो सेवालाई भिम अस्पतालले पनि निशुल्क रुपमा सुरु गरेको छ ।

बिशेष गरि थारु समुदायमा हुने यो रोगको परिक्षण भैरहवामै सुरु भए पछि भैरहवा तथा यस आसपास बसोबास गर्ने विपन्न थारु समुदायको रोग निदानमा राहत हुने छ। अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार भिम अस्पतालमै अहिले अत्याधुनिक सिटी स्क्यान मेशीन आई पुगेको छ । केही दिनमै जडान हुने तयारीमा रहेको यो सेवाले पनि अस्पतालको सेवामा सुरु हुने बताईन।

उनले भिम अस्पतालमा बिशेषज्ञ सेवाहरु जस्तै दन्त उपचार सेवा, फिजियोथेरापी सेवा, अप्थाल्मोलोजी (आँखा) सम्बन्धि सेवा, नवजात शिशुहरुमा लागी हेरचाह गर्ने एसएनसियु सेवा, अप्रेशन सेवा लगायतका सुविधाहरु भिम अस्पतालले नै दिन थालेको वताईन।

बिशिष्टिकृत सेवाहरु सरकारी अस्पतालबाट नै पाउन थाले पछि भैरहवा तथा यस आसपासका बिरामी हरुका लागी अहिले भिम बरदान बन्दै गएको छ । केही समय पहिला रेफर मात्र गर्ने” अस्पतालको परिचय बनाएको भिमले कुशल नेतृत्व, ब्यवस्थापन र चुस्त प्रशासनको कारण अहिले जिल्ला अस्पतालहरुमा बिशेष पहिचान बनाएको छ ।

अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार अस्पतालमा आकस्मिक सेवामा आईसियु सहितको अत्याधुनिक सुविधाहरु रहेको छ । संगै बहिरङ्ग सेवामा, प्रयोगशाला सेवा, अन्तरङग सेवा, रेडियोलोजि सेवा, फार्मेसी सेवा, विशेषज्ञ सेवा (स्त्री रोग, बाल रोग,नाक कान घाटी रोग र छाला रोग) हरु रहेका छन् ।

यस्तै अपथाल्मोलोजि सेवा, फिजियोथेरापि सेवा, निःशुल्क प्रसुति सेवा, दन्त उपचार सेवा, एक द्वार संकट व्यवस्थापन केन्द्र, अप्रेशन सेवा, कोभिड वार्ड, सुरक्षित गर्वपतन सेवा, खोप एवं गर्भवती परिक्षण सेवा, सामाजिक सेवा इकाई, क्षयरोग तथा कुष्ठरोग उपचार सेवा, विमा मार्फत उपचार सेवा समेत प्रदान गरिदै आएको गुप्ताले वताईन ।

भिम अस्पतालको सबै भन्दा राम्रो पक्ष भनेको प्रसुति सेवा हो । पहिला पनि प्रसुतिमा नामूद रहेको भिम अस्पतालमा अहिले सुविधाहरु थपिए संगै यसमा प्रसुतिको लागी आउने महिलाहरुको संख्या बढ्दै गएको छ । हामीले अपरेशन सहितको अत्याधुनिक सेवा दिएका छौं । डा. गुप्ताले भनिन् पछिल्लो बर्षहरुमा प्रसुतिको लागी कुनै पनि बिरामीको ज्यान गएको छैन, यो नै खुशीको कुरा हो ।

अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा २ हजार ६ सय ९४ जनाको प्रसुति गराएकोमा आर्थिक बर्ष २०७८/०७९ मा ३ हजार २ सय ६५ जनाको सफल प्रसुति गराईएको वताईन।

भिम अस्पतालमा दैनिक औषत ३ सय बढी बिभिन्न बिरामीहरुले सेवा लिने गरेको भिम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । अस्पतालको सेवा बढे संगै बिरामीको चाप पनि बढ्दै गएको उनले बताए ।श्रोत र साधान सिमित भए पनि बाहिर भन्दा न्यून मूल्यमा परिक्षण गर्ने गरेका छौं । न्यौपानेले भने यसले पनि अस्पताल प्रति बिरामीहरुको पहुँच बढाएको छ ।

न्यौपानेका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा बहिरङ्ग सेवा लिएका बिरामीहरुको संख्या २८ हजार ७ सय १३ रहेको थियो भने गत आर्थिक बर्षमा बढेर ६३ हजार २ पुगेको छ । यस्तै गत बर्ष ८ हजार ६ सय ८ जनाले आकस्मिक सेवा पाएका छन्, ५ हजार ९ सय ७० जना बिरामी उपचार पाएका थिए ।

गत आर्थिक बर्षमै ८ हजार ९ सय ९७ जनाले एक्सरे सेवा लिएका छन । त्यो भन्दा पहिला यो संख्या ३ हजार ८ सय ८० जना मात्र रहेको थियो ।आर्थिक बर्ष २०७८/०७९ मा ६० हजार २५ जनाले ल्याब सम्बन्धि बिभिन्न सेवा लिएका थिए । त्यसको अघिल्लो बर्षमा यो संख्या ३९ हजार २ सय ५ मात्र रहेको थियो । यस्तै गत बर्ष १ हजार १ सय ९ जना सर्पदंशका बिरामीहरुले अस्पतालबाट सेवा प्राप्त गरेको उनले बताए ।

गत आर्थिक बर्षमै २ हजार ५ सय ८७ जना बिरामीहरु कुकुरले टोकेर आएका थिए ।१९९० सालमा तत्कालीा प्रधानमन्त्री भीम शम्सेरको नामबाट ३ शैयाबाट सुरु गरिएको यो अस्पताल २०३५ सालमा १५ शैया, २०४१ सालमा २५ शैया हुदै आर्थिक बर्ष २०७७/०७८ बाट ५० शैयाको अस्पतालको रुपमा सञ्चालनमा रहेको छ ।

५० शैयाको भए पनि अस्पतालले आफ्नो आर्थिक ब्यवस्थापनबाट १ सय २० शैया सञ्चालन गरि रहेको छ । २ बिगहा १ कठ्ठा १० धुरमा रहेको अस्पतालको गुरुयोजना तैयार गरि नया र अत्याधुनिक संरचनाको निर्माण सुरु भइ सकेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।

 

सम्बन्धित शिर्षक :