शिशुको लागि स्तनपान हो अमृतसमान ।
यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।।
जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र ।
छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।।
दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो।
बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।।
शिशुलाई हो पहिलो खोप आमाको दूध नै।
रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।।
बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना।
पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।।
स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न।
अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।।
आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ।
जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।।
स्तनपायी आमालाई नि हुन्छ अनेक फाइदा।
स्तनपानको बुझौं सबैले महत्व र काइदा।।
स्तनपानलाई बढाउन गरौ जनचेतना अभिवृद्धि।
बच्चा स्वस्थ भए पो दीगो विकास र सम्बृद्धि।।
सार्थक पार्नलाई स्तनपान सप्ताहको नारा।
आपसमा मिली काम गरौ सरोकारवाला सारा।।
-कपिल गौतम
बुटवल-११, कालिकानगर

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्