कोरोना संक्रमण बढेसँगै संसदमा मास्क अनिवार्य

कोरोना संक्रमणको ग्राफ बढ्दै चौथो लहर सुरु भएको मान्न सकिन्छ : डा. मरासिनी

काठमाडौं । दिनप्रतिदिन कोरोनाको बढ्दो संक्रमणले सबैतिर चिन्ता प्रकट हुन थालेको छ । आमसर्वसाधारण मात्र नभई संसद्मा पनि यो चिन्ता प्रकट हुन थालेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो । बैठकमा सभामुखले भन्नुभयो, ‘कोभिड-१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ । तसर्थ संसद्का बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’

यसअघिका कोरोना लहरहरूमा स्वास्थ्य मापदण्डको कडा पालनासहित संसद् बैठक सञ्चालन गरिएको थियो । कतिपय अवस्थामा त संसद् नै बन्द गरिएको थियो ।

मंकिपक्स रोकथामका लागि सरकारलाई एमालेको ध्यानाकर्षण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मंकिपक्स रोकथामका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुखसँग समय मागेर बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मंकिपक्स संक्रमण रोकथामका लागि सरकारले सार्वजनिक ढंगले सचेतना जनाउने काम नगरेको टिप्पणी गर्नुभयो ।

नेपाल पनि मंकिपक्स भाइरस संक्रमणको जोखिममा रहेको भन्दै सांसद भट्टराईले भन्नुभयो, ‘मंकिपक्स भाइरस रोकथामका लागि सरकारले सचेतना जगाउने काम गरेको छैन । एक किसिमले भन्ने हो भने सरकार चिर निद्राको अवस्थामा रहेको छ । विश्व स्वास्थ्य संगठनले यसबारेमा सतर्कता जारी गरिसकेको छ ।

हाम्रो सिमानाहरूमा अहिलेसम्म साइनबोर्डसमेत राखिएको छैन । हाम्रो एयरपोर्टहरूमा सचेतनाका लागि एउटा बोर्ड पनि राखिएको छैन । नेपालका सञ्चारमाध्यमबाट कुनै सूचना जारी गरेको छैन । भारतमा यसका केसहरू देखिइसकेको अवस्थामा यसको भयानक अवस्थाबाट अब हामी टाढा छैनौँ । यसबारे सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

मंकिपक्सलाई विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ । हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र पाँच जनाको मृत्यु भइसकेको छ । छिमेकी देश भारतमा चार जनामा मंकिपक्स पुष्टि भइसकेको छ । मंकिपक्स २०२२ को मे मा बेलायतमा पहिलोपटक देखा परेको थियो । त्यसपछि क्रमशः अमेरिका, युरोप र अफ्रिका हुँदै एसियामा फैलिएको छ ।

प्रधानसेनापतिको भ्रमणबारे सरकारसँग सत्तापक्षकै सांसदको प्रश्न

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इण्डो प्यासेफिक स्टाटेजी (आइपिएस)को सम्मेलनमा सहभागी हुन अष्ट्रेलिया गएको भन्दै सत्तारूढ दलकै सांसदहरूले विरोध गरेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद अञ्जना विशंखे र अमृता थापाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसिसी) पारित गर्दा आइपिएसमा सहभागी नहुने भनेर निर्णय गरे पनि अहिले सरकारले आइपिएसको सम्मेलनमा सहभागी गराउन प्रधानसेनापतिलाई पठाएको भन्दै सरकारको जवाफ माग गर्नुभएको हो ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा सांसद विशंखेले भन्नुभयो, ‘एमसिसी पारित गराउँदा आइपिएसको अंग होइन भनेर भनिएको थियो । यो निर्णयलाई लत्याएर आइपिएसको सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो ?’

सांसद अमृता थापाले भर्खरै एसपिपीमा सहभागी नहुने भनेर निर्णय गरे पनि आइपिएसको सम्मेलनमा प्रधानसेनापतिलाई पठाएको प्रति आपत्ति जनाउँदै भन्नुभयो, ‘अष्ट्रेलियाको मेलवर्नमा साउन ९ देखि ११ सम्म सम्पन्न हुने सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो ? रुस, चीन र उत्तर कोरियाविरुद्ध अमेरिकी रणनीति आइपिएसमा सहभागी हुने निर्णय सच्याइयोस् ।’

प्रधानसेनापति शर्मा गत शनिबार अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डो प्यासाफिक कमाण्डले सिड्नीमा आयोजना गरेका चिफ अफ डिफेन्स कन्फरेन्स २०२२ मा सहभागी हुन अष्ट्रेलियाको भ्रमणमा जानुभएको थियो ।

सत्तापक्षका सांसदलाई लेण्डुप दोर्जेको संज्ञा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद गंगा चौधरीले नागरिकता विधेयक पारित गरेकोमा सत्तापक्षका सांसदलाई लेण्डुप दोर्जेको संज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद चौधरीले नागरिकता विधेयकको संशोधनमा लेण्डुप दोर्जेको छाया देखिएको टिप्पणी गर्दै भन्नुभयो, ‘सभामुख महोदय, मेरो दृष्टि भ्रम हो या सबैले यस्तै देखिरहेका छन्, सभामुखको दायाँपट्टि बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ ।

नपत्याए नागरिकता विधेयकको संशोधनमा हेरे हुन्छ । लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले दिल्लीमा रातो कार्पेट बिच्छ्याएर भव्य स्वागत गर्ने गरेकी थिइन् जबसम्म सिक्किम भारतमा विलय भएको थिएन । यसैगरी, आजभोलि नेपाली नेतालाई दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ । यसैले सभामुख महोदय उहाँहरूको अनुहारमा लेण्डुप दोर्जेको छाया देखिन थालेको छ ।’

नेपाल कालोसूचीमा पर्नसक्छ : सांसद थापा

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर योपटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताउनुभएको हो ।

नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले गरिरहेका काम संसद्लाई जानकारी गराउन माग गर्दै थापाले भन्नुभयो, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसद्मा जानकारी गराउनुपर्छ । मनी लाउण्डरिङसम्बन्धी पर्याप्त कानुन नबनिसकेको, बनेको कानुन पनि कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भ्रष्टाचार र आपराधीकरणको कारणले गर्दा हाम्रो देशको यस्तो मूल्यांकन अति जोखिममा रहेको छ ।’

कोरोना संक्रमणको ग्राफ बढ्दै

नेपालमा कोरोना संक्रमणको ग्राफ दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांकअनुसार पाँच हजार ५५ नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार २१५ पिसिआर परीक्षणमा ४०० र दुई हजार ८४० एन्टिजेन परीक्षणमा २३८ जना संक्रमित फेला परेका हुन् । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । मंगलबार २१८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितमध्ये तीन हजार ५८१ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आइसियुमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १६५, भक्तपुरमा ६ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ । कोरोना संक्रमणको ग्राफ दिनप्रतिदिन बढ्दै गएपछि अनेकन चिन्ता थपिएका छन् । साउनयता कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो तीन सातायता लगातार कोरोना संक्रमितको ग्राफ तीव्र गतिमा उकालो लाग्नुको कारण ओमिक्रोनको नयाँ भेरियण्ट बिए ५ नै भएको विज्ञहरूले बताएका छन् । कोभिड-१९ संक्रमितको संख्या दैनिक उकालो लागिरहेको कारण चौथो लहर सुरु भएको विश्लेषण हुन थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण अझै धेरै बढ्न सक्ने अवस्था रहे पनि नेपालमा कुन तहसम्म पुग्नसक्छ भन्नेबारे निष्कर्ष निकालिसकेका छैनन् ।

चौथो लहर सुरु भएको मान्न सकिन्छ : डा. मरासिनी

विश्वमा फैलिएको नयाँ भेरियण्ट बिए ५ संक्रमणको अवस्थालाई हेर्दा निकट भविष्यमा नेपालमा उत्पन्न संकटबारे अनेक टिप्पणी भइरहेका छन् । सरुवा रोग विशेषज्ञ एवं वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति पी-एफ-वान नेपालमा पनि पहिचान भएको र जसले गर्दा संक्रमण अझै धेरै बढ्न सक्ने अवस्था रहेको बताउनुभयो ।

पहिला थोरै भएको लहर एक्कासि बढ्नु नै चौथो लहर सुरु भएको मान्न सकिने बताउँदै डा. मरासिनीले भन्नुभयो, ‘८० प्रतिशतमा त यो लक्षण नै देखिँदैन । २० प्रतिशतमा मात्र यो संकेत देखिन्छ । त्यसैले यो परीक्षण नगराउने मान्छेमा पनि धेरै हुनसक्छ, त्यसैले कोरोनाको चौथो लहर आइसक्यो । यो कति खतरनाक छ भन्ने विषयमा तत्काललाई अनुसन्धानले कुनै पनि निष्कर्ष निकालेको छैन ।

अहिलेसम्म आएको सूचनाअनुसार मानिसलाई धेरै बिरामी पार्ने र यसको लागि अस्पताल गएर भर्ना नै गर्नुपर्ने हुँदैन । केही दिनपछि आफैँ निको हुन्छ । नेपालमा धेरै मान्छेले दुई वटाभन्दा बढी खोप लगाउनुभएको छ । खोप लगाएको कारणले पनि दोस्रो लहरमा जस्तो खतरा नहुन सक्छ । खोप लगाएको व्यक्ति बढी सुरक्षित हुन्छन् ।’

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण दर फेरि बढ्न थाल्यो : डा. पुन

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्नुको मुख्य कारण कोरोना भाइरसको डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्ट हराउँदै गएपछि सबैले मास्कको प्रयोग, हातको सरसफाइ र सामाजिक दूरी कायम गर्न छोडेको कारण भएको जनस्वास्थ्यविद्को भनाइ छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण दर फेरि बढ्न पुगेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ । कोरोना संक्रमणको ग्राफ दिनप्रतिदिन उकालो लाग्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न आमनागरिकलाई आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक :