एमालेको प्रतिबद्धता :सेमराबजारमा पनि १५ शैंयाको अस्पताल

स्वास्थ्यसमाचार/ नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने भएको छ ।

स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने उल्लेख गरेको हो ।

जमिनको स्वामित्व प्राप्त नहुँदा अस्पताल निर्माणमा अलमल भैरहँदा अहिलेका जनप्रतिनिधिहरुको पहलमा स्वास्थ्य चौकीको नाममा १६ कठ्ठा ५ धुर जग्गाको लालपूर्जा २०७८ जेठ २७ गते प्राप्त भएको थियो । मन्त्रिपरिषद्को २०७७ चैत ३० को बैठकले सरकारको नाममा रहेको सार्वजनिक जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

अघिल्लो संघीय सरकारले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने नीतिगत निर्णय गरेकोमा तिलोत्तमा नगरपालिकाले त्यसको कार्यान्वयनको लागि २०७८ साउन १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट निकासाका लागि पत्राचार गरेको थियो ।

डिपिआरअनुसार १५ शैंयाको अस्पताल निर्माणको लागि १४ करोड ४७ लाख बजेट लागत अनुमान गरिएको छ । तर, केपी ओली नेतृत्वको संघीय सरकार बिघटन भएसँगै अस्पताल निर्माणको प्रक्रिया अघि बढ्न नसकेको छैन । यहीँ सन्दर्भमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धतामा जोड दिएको हो ।

एमालेको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार जागेश्वरी चौधरीले सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्ने विषयलाई पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो । संघीय सरकार परिवर्तनसँगै स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने काममा आलटाल भएको बताउँदै उहाँले नगरमा हाल दुई ठाउँमा अस्पताल निर्माणको क्रममा रहे पनि सेमरामा नयाँ अस्पताल बन्ने स्पष्ट पार्नुभयो ।

तिलोत्तमा नगरपालिकामा हाल १५ शैंयाँका दुई अस्पताल निर्माणको क्रममा छन् । वडा नं. ६ को आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैंयाँको अस्पतालमा स्तरोन्नती गर्न ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ । यस्तै वडा नं. १७ मा रहेको बीपी ग्राममा समेत १५ शैंयाको अस्पताल निर्माण गर्न ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ ।

सेमरबजार स्वास्थ्य चौकीमा हाल रोटरी क्लवसँगको सहकार्यमा प्रसुति सेवा केन्द्र समेत सञ्चालनमा रहेको भने बर्थिङ्ग सेन्टर र एम्बुलेसन्स सेवा पनि रहेको छ । जनप्रतिनिधि आएसँगै तिलोत्तमाका सबै वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । आधारभूत स्वास्थ्य सेवा वडाबाटैं प्राप्त हुने र अस्पताल सेवाको लागि नगरमा तीन वटा अस्पताल बनाउने गरी तिलोत्तमामा काम अघि बढेको हो ।

एमालेले आफ्नो प्रतिबद्धता पत्रमा स्वास्थ्य बीमालाई सबै नागरिकको पहुँचमा पुर्याउने, प्रदेशिक मेडिकल कलेजको निर्माण एवं सञ्चालनका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गरिने, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रलार्ई सुविधायुक्त बनाइ तिनको स्तर वृद्धि गरिने उल्लेख गरेको छ ।

आवश्यकतानुसार जनतालाई सहज र सुपथ मूल्यमा औषधी उपलब्ध गराउने पसलहरूको सञ्चालन नगरपालिका आफैले गर्ने कार्यका लागि पहल गरिने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै सुत्केरी, जेष्ठ नागरिक घुम्ती सेवा, नवजात शिशु स्वास्थ्यमा विशेष ध्यान दिइने, पोषण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने, बालबालिकाका लागि खोप सेवा र गर्भवती तथा सुत्केरी महिलालाई पोषणसहितको सुविधा उपलब्ध गराउने कार्यलाई थप प्रभावकारी बनाउने पनि एमालेको प्रतिबद्धता छ ।

प्रत्येक वार्डमा दक्ष नर्ससहितको चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराइने, वडा नं. ६ को गोरकठ्ठामा र वडा नं. १७ स्थित बीपी ग्राममा निर्माणाधीन १५ शैंयाको अस्पतालको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने पनि एमालेको प्रतिबद्धता छ ।

यस्तै विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक शिक्षालाई प्रोत्साहन गरिने, सबै उमेरका व्यक्तिहरूको स्वास्थ्य र कल्याण सुनिश्चित गरिने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सम्बन्धित शिर्षक :