११२ वर्षपछि लुम्बिनी प्रादेशिक अस्पताल उपचार र पूर्वाधारमा छलाङ

स्वास्थ्यसमाचार/पश्चिम नेपालकै सबैभन्दा जेठो स्वास्थ्य संस्था बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले उपचार र पूर्वाधारमा छलाङ मारेको छ । एक सय १२ वर्षअघि श्री ३ चन्द्रशमसेर राणाले सेनवंशी राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवलस्थित फूलबारी पार्कमा बटौली डिस्पेन्सरीको नामले सो अस्पतालको बीउ रोपेका थिए । त्यसयता अस्पतालले धेरै खालका उतारचढाव पार गरेको छ । तर अस्पतालले देखिने गरी मुहार फेरेको भने पछिल्लो दुईरचार वर्ष भयो।

प्रदेश सरकारले अस्पताललाई गौरवको नै अयोजनाको रुपमा अगाडि बढाउने निर्णय गरेको छ । अस्पताल स्थापना भएको एक सय वर्ष अर्थात् २०६७ सालसम्ममा अस्पतालमा एक सय ५१ शैया सञ्चालनमा थिए । तर सरकारले भने अस्पताललाई एक सय शैयाको मात्रै स्वीकृत दिएको थियो । तर बिरामीको चापका कारण अस्पतालले थप ५१ शैया सञ्चालन गरिरहेको थियो । तीमध्ये १६ वटा शैया आकस्मिक कक्षमा थिए ।

भौतिक संरचनाको नाममा एक तले पुरानो भवन थियो, जसको तत्कालीन संसदको माथिल्लो सदनका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले २०१६ साल फागुन १५ गते शिलान्यास गरेका थिए । त्यससबाहेक एक तले नयाँ अप्रेशन कक्ष थियो, जसको उद्घाटन तत्कालीन राष्ट्रपति रामवरण यादवले २०६७ मा गरेका थिए । २०६७ सालमा सतवार्षिकी मनाइरहँदा अस्पतालको भौतिक संरचना यतिमा मात्रै सीमित थियो ।

संघ मातहत रहेको अस्पताल प्रदेश मातहत आएपछि स्वरुप परिवर्तन बढी भएको दाबी कतिपयको छ । प्रदेशले गुरु योजनाको रुपमा विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना बनाएसँगै अस्पताल स्तरोन्नतिको काम सुरु भएको हो । अहिले ५ सय २० बेडको ठूलो अस्पताल बनेको छ । जहाँ अहिले पनि दैनिक विरामीहरु क्षमता अभावले रिफर गर्नु पर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरेटेण्डेन डा। इन्द्र ढकालको भनाइ छ ।

दुई वर्ष पहिलेसम्म निजी क्लिनिकले घेरिएको अस्पताललाई अहिले सडकबाटै देख्न मिल्ने बनाइएको छ । तर आझैँ त्यसको व्यवस्थित संरचना निमार्ण भएको छैन । सटर भत्काएर पर्खाल लगाइएको छ। गुरुयोजना बनाएरै १२ सय बेडको ठूलो अस्पतालका रूपमा विकास गर्ने प्रदेशको योजना छ। प्रदेश पूर्वाधार प्राधिकरणअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकन र डीपीआरको काम पूरा भइसकेको छ । विकास समितिको पहलमा नेपाल सरकारले अस्पतालको स्तरोन्नतिका लागि १० तला भवनको गुरुयोजना बनाइ काम अगाडि बढाएको हो।

नयाँ गुरुयोजनाअनुसार यो अस्पतालमा अहिले थप गरिने सेवा सुविधाले १ सय वर्षसम्म धान्ने अनुमान गरेको छ । गुरुयोजना अनुसार अस्पतालको संरचनाका लागि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। नयाँ बन्ने अस्पतालको भवनमा १२ सय शैया, क्याथ–ल्याब, एमडी आईसीयू, एसआईसीयू, सीसीयू, सीटीभी र स्वीट वार्डको समेत डिजाइन गरिएको छ। भौतिक संरचनामात्रै होइन, आन्तरिक प्रशासनमा पनि सुधार आएको छ ।

वरिपरिका निजी क्लिनिक हटाएपछि चिकित्सकहरू पनि आफ्नो कार्य समय अस्पतालमै बस्न थालेको अस्पताल प्रशासनका कर्मचारीहरू बताउँछन् ।गएको महिनामात्रै स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले गरेको अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्यांकन नतिजाले पनि अस्पतालको सेवा सुधार भएको पुष्टि गर्छ । अघिल्लो वर्ष ४९ प्रतिशत रहेको अस्पतालको न्यूनतम सेवा मापदण्ड यस वर्ष ७४ प्रतिशत पुगेको अनुगमन तथा मूल्यांकन टिमले बताएको थियो ।

दैनिक दु्ई हजारसम्म बिरामी उपचारको लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ६० प्रतिशत बढी बेड भरिने गर्दछन् । अस्पतालको भौतिक संरचना निर्माणमा संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैंले पनि करोडौं रुपैयाँ लगानी गरेको छ । तर प्रदेश सरकारले पूर्वाधार विकासमा भने सोंचेजति सहयोग नगरेको पुर्व अध्यक्ष सुर्य भट्टराईको गुनासो छ । पछिल्लो दुई वर्षमा मात्र विभिन्न निकायको गरी भौतिक पूर्वाधार र उपकरणका लागि झण्डै एक अर्ब रुपैयाँ लगानी गरिएको छ ।

दुईपटक गरी संघीय सरकारले भौतिक संरचना बनाउन ५८ करोड रुपैयाँ दिएको थियो । त्यस्तै, अस्पताल विकास समितिले इमरजेन्सी, ओपीडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउन्ड वाल निर्माण लगायतमा करिब ३५ करोड रुपैयाँ लगानी गरेको छ । अस्पतालमा अहिले १ सय चिकित्सक कार्यरत छन् । तीमध्ये ७० जना मेडिकल अफिसर र ३० जना विशेषज्ञ चिकित्सक छन्।

२ सय ५० स्टार्फ नर्स तथा प्यारामेडिक्स, कर्मचारी गरी ७ सयभन्दा बढी जनशक्ति अस्पतालमा कार्यरत छन् । दैनिक ८ सयदेखि १ हजारसम्म बिरामीले सेवा लिन्छन् । वर्षमा करिब साढे दुई लाख बिरामीले उपचार पाइरहेको तथ्यांक अस्पताल प्रशासनसँग छ। सामान्य चिकित्सा ९मेडिकल० विभाग, महिला तथा प्रसूति विभाग, बालरोग विभाग, शल्यक्रिया विभाग, नान, कान र घाँटी विभाग, हाडजोर्नी विभाग, छाला, यौन तथा कुष्ठ रोग विभाग, मानसिक रोग विभाग, आकस्मिक सेवा विभाग, एनेस्थेसिया, आइसीयू सेवा, दन्त सेवा विभाग, ल्याबसम्बन्धी सेवा, सिटी स्क्यान सेवासमेत अस्पतालमा छन् ।

अस्पतालका मेसु ढकालका अनुसार अस्पतालमा हृदयरोग विभाग, आँखा विभाग, क्यान्सर विभाग थिएन । अहिले सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ। छिट्टै नै क्याथल्याबसहितको मुटुको उपचार गर्ने तयारी पनि गरिएको छ। साविक लुम्बिनी अञ्चलका जिल्लाहरू मात्र नभई सिंगो लुम्बिनी प्रदेशसँगै अन्य प्रदेशका बिरामी पनि उपचारको लागि यहाँ आउने गर्छन्।

मेडिकल सुपरिटेन्डेन्ट डा ढकाल तेस्रो लहरललाई लक्षित गरी एउटै भवनबाट ७ बेडको इमर्जेन्सी, ३३ बेडको एचडियू र ६ भेन्टिलेटरसहित २० बेडको आइसीयू सञ्चालन गरिएको बताउँछन् । कोभिड संक्रमितहरूको लागि डायलासिस सेवा दिन छुट्टै मेसिन,र शल्यक्रिया सेवासमेत सुरु गरेको ढकालले बताए । सरकारले मिर्गौलाका बिरामीहरूको डायलाइसिस सेवालाई निःशुल्क गरेपछि ५ बेडबाट सुरु गरिएको डायलाइसिस सेवालाई अहिले १२ बेड थपेर १७ पुर्‍याइएको छ । अहिले २४ घण्टा डायलाइसिस सेवा सञ्चालनमा छ ।

पहिले एचआईभी र हेपाटाइटिस बी भएका बिरामीलाई डायलाइसिसको लागि काठमाडौं जानुपर्ने बाध्यता थियो । अहिले बुटवलबाटै सेवा दिन थालिएको छ । अस्पतालमा ट्रमा सेवा पनि सुरु गरिएको छ । बुटवलमै प्रसूति तथा बालबालिकाको लागि सिद्धार्थ बाल तथा महिला अस्पताल सञ्चालनमा रहे पनि लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाहरूको संख्या ठूलो छ ।

डा ढकाल दैनिक ३० बढीलाई सामान्य प्रसूति र १२ देखि २० जनासम्मको अपरेसन गरी करिब ५० जनाको प्रसूति गराउने सेवा दिने गरेको बताउँछन् । अस्पताल प्रशासनले पनि चिकित्सकको निगरानी बढाएको छ । हाजिरी र ड्युटीमा कडाइ गरेको छ । भर्ना भएका बिरामी हेर्ने राउण्ड सकेर १० बजेसम्म ओपीडीमा बसिसक्नुपर्ने नियम लागू गरेको छ ।

अन्तराष्ट्रिय स्तरको सेवा दिने मुख्यमन्त्रीको प्रतिबद्धता

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश गरेको छ । १ सय १२ औं बार्षिकउत्सव मनाएको छ । बार्षिकउत्सव समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको अस्पतालको रुपमा विकास गरिने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले अबको ५ वर्षभित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको रुपमा सेवा प्रदान गर्ने दाबी गरे ।

अस्पतालको विकासको लागि ५ अर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको मन्त्री केसीले बताए । उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल गर्दै अबको पाँच वर्षभित्रमा अस्पतालले स्तरिय विशेषज्ञ सेवा प्रदान गर्ने उनको भनाइ छ । सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि उद्घाटन गरेका छन् ।

वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसँगै मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन ढकालले जानकारी दिए । अस्पतालले पछिल्लो समय पेइङ क्लिनिक, क्यान्सर उपचार, बिमाको प्रभावकारी कार्यान्यन, कोभिड विशेष अस्पताल सञ्चालन गरिरहेको छ ।

सम्बन्धित शिर्षक :