कोरोनाको उच्च जोखिममा रुपन्देही : स्थानीय तहले सुरु गरे पूर्व तयारी

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोभिड–१९ संक्रमणको जोखिम उच्च बन्दै गएको छ । भारतीय सीमा नाकासँग जोडिएको जिल्ला रुपन्देही कोभिडको पहिलो र दोस्रो लहरमा ‘रेड जोन’मा परेको थियो ।

भारतीय बजारहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्नेका कारण रुपन्देहीसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा जोखिम बढेको छ । बेलहिया नाकामा हेल्थ डेस्कमा कार्यरत ८ कर्मचारीमध्ये ४ मा संक्रमण पुष्टि भैसकेको छ ।

हेल्थ डेस्कमा कार्यरत कर्मचारी मात्र होइन्, सीमामा रहेका २ जना पर्यटक प्रहरीमा समेत एन्टीजेन परीक्षणमा कोभिड पोजेटीभ पुष्टि भएको छ । सीमामा कार्यरत कर्मचारीहरुमा नै कोभिड संक्रमण देखिन थालेपछि अहिले कर्मचारीहरु त्रासमा रहेका छन् । डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीहरुमा पोजेटिभ देखिएपछि सर्वासाधारणमा समेत संक्रमण फैलिन सक्ने जोखिम बढेको बेलहिया हेल्थ डेस्कका फोकल पर्सन लोकनाथ कडेल बताउँछन् ।

‘हामी सावधान भएर काम गर्दा पनि संक्रमण भएका छौं । सचेत हुनुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने । यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी सुरु गरेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने भन्दै तिलोत्तमाले पूर्व तयारीका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय गरेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्नेरगराउने निर्णय गरिसकेको उनी बताउँछन् । अस्थायी कोभिड अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मीलगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गरिने उनले बताए ।

कोभिड–१९ भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । नेपालमा दिनानुदिन ओमिक्रोनको संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरियन्ट पहिलेका भेरियन्टभन्दा तीव्र रुपमा फैलिएको स्वास्थ्य विज्ञहरुले जनाएका छन् । यस्तै, बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगाएतका स्थानीय तहहरुले पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित शिर्षक :