फ्रन्टलाइनरलाई माघ पहिलो सातादेखि ‘बुस्टर डोज’ खोप दिइने

स्वास्थ्यसमाचार/  माघ पहिलो साताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो साताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक डोज खोप लगाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अतिरिक्त थप एक डोज खोप लगाउने निर्णय वताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ। शुक्रबारमात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको थियो।

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक डोज खोप दिने भएको हो। शुक्रबारमात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो। यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त डोज एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो।

मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो। मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ।

यस्तै, मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपंक्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइने जनाएको छ।

यस्तै, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका साथै मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाएको छ।

अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ।स्वास्थ्य सचिव डा पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टीजेन परीक्षण बढाइएको समेत बताए।

सम्बन्धित शिर्षक :