भीम अस्पताल भैरहवालाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण

स्वास्थ्यसमाचार/प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले अस्पताललाई करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले अस्पतालको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालमा रुपन्देहीबाट मात्र नभइ विभिन्न जिल्लाबाट बिरामी आउने गरेका छन्, यो अस्पतालको विकासका लागि यहाँका नागरिक तथा संघ–संस्थाको सहयोग रहेको छ, ’बोहराले भने ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा बच्चाको वार्ड स्थापना भए पनि बच्चाको लागि भेन्टिलेटर नभएको अवस्थामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सहयोग गर्नु प्रशसंनीय रहेको बताए । उनले बहुमुल्य वस्तु चाइल्ड भेन्टिलेटरले बच्चाको ज्यान बचाउन उपयोगी सामग्री भएको बताए । अहिले भेन्टिलेटरममा राखेर सर्पदशंका बिरामीहरुको पनि उपचार भइरहेको उनले जानकारी दिए ।

‘सीमित स्रोतसाधनका साथ सञ्चालन भएको अस्पतालमा यस क्षेत्रका संघ–संस्था, राजनीतिक दल, समाजसेवी, उद्योगी, व्यवसायीले सहयोग गर्दै आउनुभएको छ, ’उनले भने ।यस अघि पनि प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनटेटर लगायत झण्डै एक गाडी स्वास्थ्य सामग्री प्रदान गरेको बताए । अध्यक्ष भण्डारीले अस्पताललाई आत्मनिर्भर र सक्षम बनाउन प्रतिष्ठानको सहयोगले ईट्टा थपिएको बताए । अस्पतालमा ५० बेड क्षमताको निर्णय भए पनि सो अनुसार जनशक्ति नभएको उनको भनाइ थियो । ‘अस्पतालमा १२० बेड राखेका छौं, तर यहाँ २५ बेडको मात्रै जनशक्ति छ, ’उनले भने । अस्पतालमा हालै अक्सिजन प्लान्ट पनि स्थापना गरिएको उनले बताए ।

प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिकालाई हुन सक्ने जोखिमको न्यूनीकरण गर्नका लागि अस्पतालको माग अनुसार भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले प्रोजेक्ट होपको सहयोगमा लुम्बिनी प्रदेशमा रहेका १३ वटा सरकारी अस्पताल र सातवटै प्रदेशका स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ विरुद्ध लड्नका लागि करिब ११ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री व्यवस्था गरी हस्तान्तरण गरिएको बताए ।

अस्पतालका बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले चाइल्ड भेन्टिलेटर बच्चाहरुको लागि निकै उपयोगी हुने बताए । उनले भेन्टिलेटरबाट बच्चाको तौल अनुसार अक्सिजन दिन सकिने बताए । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले स्वास्थ्य सेवामा समर्पित भएर प्रतिष्ठानले सहयोग गरेको बताए ।

कार्यक्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोभिड–१९ महामारीविरुद्ध लड्न सहयोग गरेको भन्दै अस्पताल विकास समितिले प्रतिष्ठानलाई सम्मान–पत्र प्रदान गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरालाई उक्त सम्मानपत्र हस्तान्तरण गरेका हुन्् ।

 

सम्बन्धित शिर्षक :