कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

स्वास्थ्यसमाचार / कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ।शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो।

कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ।

खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ।अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतःभेरिफाई हुनेछ।

यस विषयमा कुनै समस्या भएमा जनस्वास्थ्य अधिकृत दिपक झालाई मोबाइल नम्बर ९८४३२८४३५२ मा सम्पर्क गर्न भनिएको छ।यसअघि मन्त्रालयले विदेश जानेहरूको लागि टेकु अस्पतालबाट प्रमाणीकरण गरिँदै आएको थियो।

खोप प्रमाणीकरण गर्नेको संख्या बढेसँगै मन्त्रालयले पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत गरिँदै आएको थियो। उपत्यका बाहिरको हकमा ५० शय्याभन्दा माथिका सरकारी अस्पतालहरूबाट समेत खोप प्रमाणीकरण गर्ने मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित शिर्षक :