आज २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती

आज नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अभिभावकत्वमा ‘प्रकृतिअनुकूल आहार, औषधि र विहार : रोगमुक्त समाजको आधार’ भन्ने आदर्श वाक्यका साथ २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाइँदै छ। नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु र स्वास्थ्य प्रवर्द्धन गर्नु यस दिवसको मुख्य उद्देश्य हो।

‘सन्तुलित आहार, योग, ध्यान, व्यायाम र आयुर्वेदीय जीवनशैली अपनाऔँ, स्वस्थ रहौँ; नसर्ने रोग तथा मानसिक तनावजन्य समस्याबाट बचौँ’ भन्ने सन्देश आजको समयमा झनै सान्दर्भिक बन्दै गएको छ। ऋषि धन्वन्तरिले धेरै वर्षअघि गरेको औषधि तथा स्वास्थ्यसम्बन्धी अनुसन्धानको महत्त्व अहिले अझ बढ्दै गएको छ।

समुद्र मन्थन र धन्वन्तरि जयन्तीको प्रसङ्ग

मानव सभ्यताको इतिहास अध्ययन गर्दा पृथ्वीमा विभिन्न किसिमका जीवजन्तु तथा सजीव प्राणीको विकाससँगै मानव जातिको पनि विकास भएको पाइन्छ। पौराणिक मान्यताअनुसार मानव सभ्यताको विकासक्रममा देवता र ऋषिहरूको संस्कृति तथा दैत्य र राक्षसहरूको प्रवृत्तिबीच द्वन्द्व भइरहन्थ्यो।

यी दुई पक्षबीच पटक–पटक भएका द्वन्द्वबाट कुनै उपलब्धि हासिल नहुने देखिएपछि समुद्र मन्थन गर्ने निष्कर्ष निकालिएको पौराणिक कथन छ। त्यसपछि देवता र दैत्य दुवै पक्षको साझा प्रयासमा समुद्र मन्थन गरिएको थियो।

समुद्र मन्थनका क्रममा धन्वन्तरि नामका ऋषि अमृतकलशसहित प्रकट भएको धार्मिक मान्यता छ। उहाँका चार हातमध्ये माथिल्ला दुई हातमा शङ्ख र चक्र तथा अन्य दुई हातमध्ये एउटामा जलौका (जुका) र अर्कोमा अमृतजलसहित विभिन्न औषधीय वनस्पति, जडीबुटी, रस तथा रसायन रहेको वर्णन पाइन्छ।

पौराणिक कथनअनुसार समुद्र मन्थनबाट विभिन्न उपलब्धि प्राप्त भएको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात् काग तिहारको दिन थियो। यही दिनलाई धनतेरस वा धन्वन्तरि जयन्तीका रूपमा मनाउने परम्परा रहिआएको छ। त्यसैले ऋषि धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तक वा जनकका रूपमा सम्मान गरिन्छ।

आयुर्वेदको विकासमा धन्वन्तरिको योगदान

ऋषि धन्वन्तरिले पृथ्वीमा पाइने विभिन्न वनस्पति, जडीबुटी, रस तथा रसायनको अध्ययन गरी तिनमा रहेका गुण, अवगुण र औषधीय विशेषता पहिचान गरेको मानिन्छ। उहाँले प्राप्त गरेको ज्ञान अन्य ऋषिहरूमार्फत आम नागरिकसम्म पुर्‍याउने काम गर्नुभयो। यसले बिरामी व्यक्तिको रोग न्यूनीकरण गर्न तथा निरोगी व्यक्तिको स्वास्थ्य चुस्तदुरुस्त राख्न स्वास्थ्यसम्बन्धी ज्ञान र सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिन्छ।

यही कारण यस दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउने गरिन्छ। आयुर्वेदको इतिहास अध्ययन गर्दा विभिन्न ग्रन्थमा यससम्बन्धी ज्ञान र अभ्यासको उल्लेख पाइन्छ। धन्वन्तरि संहितालाई आयुर्वेदसम्बन्धी महत्त्वपूर्ण ग्रन्थका रूपमा लिइन्छ। आयुर्वेद विज्ञानका अन्य अनुसन्धानकर्ता चरक, सुश्रुतलगायत ऋषिहरूले पनि यस ज्ञानलाई थप विकसित र विस्तार गरेको पाइन्छ।

पौराणिक तथा परम्परागत मान्यताअनुसार धन्वन्तरिको समय ईसापूर्व सात हजार वर्षअघिको मानिन्छ। उहाँ काशीका राजा धन्वका पुत्र हुनुहुन्थ्यो भन्ने उल्लेख पाइन्छ। उहाँले शल्यचिकित्सा (चिरफार) सम्बन्धी अध्ययनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको मानिन्छ।

धन्वन्तरिका नाति दिवोदास धन्वन्तरिले त्यस ज्ञानलाई थप परिमार्जन गर्दै शल्यचिकित्साको विकासमा योगदान पुर्‍याएको धार्मिक तथा आयुर्वेदिक परम्परामा उल्लेख छ। त्यसैले शल्यचिकित्साको विकाससँग पनि ऋषि धन्वन्तरिको नाम जोडिने गरेको छ।

वर्तमान समयमा आयुर्वेद र समग्र स्वास्थ्यको आवश्यकता

वर्तमान समयमा आम नागरिकमध्ये धेरैजसो कुनै न कुनै रोग, शारीरिक समस्या वा मानसिक तनावबाट प्रभावित भइरहेका छन्। अस्वस्थ जीवनशैली, खानपानमा आएको परिवर्तन, शारीरिक निष्क्रियता तथा मानसिक तनावका कारण स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै गएका छन्।

कुनै एउटा मात्र चिकित्सा पद्धतिले नागरिकमा देखिने सबै प्रकारका स्वास्थ्य समस्याको व्यवस्थापन गर्न पर्याप्त नहुने विषयलाई हामीले बुझ्न आवश्यक छ।

त्यसैले विभिन्न कालखण्डमा अनुसन्धानकर्ताहरूले विकास गरेका चिकित्सा विधि, आयुर्वेद, योग तथा ध्यानलाई समयसापेक्ष रूपमा उपयोग गर्न सकेमा रोग न्यूनीकरण र नागरिकको स्वास्थ्य प्रवर्द्धनमा थप योगदान पुग्न सक्छ।

स्वस्थ समाज निर्माणका लागि रोग लागेपछि उपचार गर्ने मात्र होइन, रोग लाग्नै नदिन अपनाउनुपर्ने सावधानी, सन्तुलित आहार, नियमित व्यायाम, योग, ध्यान र स्वस्थ जीवनशैलीलाई पनि प्राथमिकता दिनुपर्छ।

धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसले हामी सबैलाई स्वस्थ जीवनशैली अपनाउन, आयुर्वेदको महत्त्व बुझ्न र नागरिक स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरणा प्रदान गरोस्। जय धन्वन्तरि ! जय राष्ट्रिय आरोग्य दिवस !

आचार्य लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित शिर्षक :