स्वास्थ्य हाम्रो जीवनको आधार हो। तर, धेरैजसो मानिसले आफ्नो स्वास्थ्यको ख्याल त्यतिबेला मात्र गर्छन्, जब शरीरमा कुनै समस्या देखिन थाल्छ। बिरामी भएपछि उपचार गर्नु आवश्यक हुन्छ, तर रोग लाग्नुअघि नै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनु अझ राम्रो उपाय हो।
दैनिक व्यस्तता, पारिवारिक जिम्मेवारी र आर्थिक कठिनाइका कारण धेरै मानिस स्वास्थ्य परीक्षणलाई पछि सार्छन्। कतिपयले कुनै लक्षण नदेखिएकाले आफू पूर्ण रूपमा स्वस्थ छु भन्ने ठान्छन्। तर, बाहिरबाट स्वस्थ देखिए पनि शरीरभित्र कुनै समस्या बिस्तारै बढिरहेको हुन सक्छ।
उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी समस्या सुरुवाती अवस्थामा लक्षणबिना पनि देखिन सक्छन्। त्यसैले समस्या देखिएपछि मात्र जाँच गराउने बानी परिवर्तन गर्न आवश्यक छ।
नियमित स्वास्थ्य परीक्षण भनेको अनावश्यक रूपमा अस्पताल धाउनु होइन। यो आफ्नो स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक परे समयमै कदम चाल्ने माध्यम हो। परीक्षणबाट सम्भावित रोगको जोखिम पहिचान गर्न, सुरुवाती चरणमै उपचार सुरु गर्न र पछि हुन सक्ने जटिलता कम गर्न सहयोग पुग्छ।
रोग समयमै पत्ता लागेमा उपचार पनि सजिलो र प्रभावकारी हुन सक्छ। कतिपय अवस्थामा यसले उपचारमा लाग्ने खर्चसमेत घटाउन सक्छ।स्वास्थ्य परीक्षण सबै उमेरका मानिसका लागि उपयोगी हुन्छ। बालबालिकाको वृद्धि र विकास, महिलाको प्रजनन तथा मातृस्वास्थ्य, ज्येष्ठ नागरिकको स्वास्थ्य र दीर्घरोगको जोखिम भएका व्यक्तिको नियमित निगरानीमा यसको विशेष महत्त्व हुन्छ।
तर, सबैले एउटै प्रकारका परीक्षण गराउनुपर्छ भन्ने होइन। उमेर, स्वास्थ्य अवस्था, पारिवारिक इतिहास र व्यक्तिगत जोखिमअनुसार चिकित्सकको सल्लाहमा आवश्यक परीक्षण गराउनु उचित हुन्छ।हाम्रो समाजमा स्वास्थ्य परीक्षणलाई खर्च र समयको बर्बादी ठान्ने सोच अझै पाइन्छ। तर, रोग बढेपछि उपचार गर्न लाग्ने खर्च, समय र मानसिक तनावको तुलनामा समयमै स्वास्थ्य जाँच गराउनु धेरै फाइदाजनक हुन सक्छ।
विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका लागि रोगको सुरुवाती पहिचानले उपचारको योजना बनाउन र उपलब्ध स्वास्थ्य सेवाको सही उपयोग गर्न मद्दत गर्छ। नियमित स्वास्थ्य परीक्षणसँगै स्वस्थ जीवनशैली अपनाउनु पनि आवश्यक छ। सन्तुलित र पौष्टिक खाना खाने, नियमित व्यायाम गर्ने, पर्याप्त निद्रा लिने, धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने र मदिराको हानिबारे सचेत हुने बानीले स्वास्थ्य जोगाउन मद्दत गर्छ।
चिकित्सकको सल्लाहअनुसार खोप लगाउने र आवश्यक परीक्षण गराउने बानी पनि महत्त्वपूर्ण छ।स्वास्थ्यप्रतिको सचेतना व्यक्ति र परिवारमा मात्र सीमित हुनु हुँदैन। विद्यालय, समुदाय, स्थानीय तह र स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जनचेतना फैलाउनुपर्छ। स्वास्थ्य सेवामा सहज पहुँच, सही जानकारी र समयमै परामर्श पाउने वातावरण बनाउनु सबैको साझा जिम्मेवारी हो।
स्वास्थ्यको हेरचाह गर्नु भनेको बिरामी भएपछि औषधि खानु मात्र होइन। आफूलाई स्वस्थ राख्न आवश्यक कदम समयमै चाल्नु पनि स्वास्थ्यप्रतिको जिम्मेवारी हो। आफ्नो स्वास्थ्यप्रति सचेत व्यक्तिले आफ्नो जीवनसँगै परिवार र समाजको स्वास्थ्यमा पनि सकारात्मक योगदान पुर्याउन सक्छ।
आजै आफ्नो स्वास्थ्यबारे सोचौँ। आवश्यक स्वास्थ्य परीक्षणका लागि समय छुट्याऔँ, चिकित्सकसँग परामर्श गरौँ र परिवारका सदस्यलाई पनि स्वास्थ्यप्रति सचेत बनाऔँ। रोग बढेपछि पछुताउनुभन्दा समयमै सावधानी अपनाउनु बुद्धिमानी हो।
जनस्वास्थ्य निरीक्षक, जिरी अस्पताल


प्रतिकया दिनुहोस्