दसैँको खुसीसँगै स्वास्थ्य, सद्भाव र उच्च मनोबल

चाडपर्व नजिकिँदै गर्दा हाम्रो मनमा अनेक किसिमका भावनात्मक उतारचढाव आउने गर्छन्। आहार, विहार, विचार र व्यवहारमा परिवर्तन महसुस हुनु हाम्रा मौलिक पर्वहरूको विशेषता हो। यस्ता पर्वले हाम्रो जीवनमा खुसी, उमङ्ग र उत्साह थप्ने गर्छन्।

दसैँ, तिहारजस्ता रमाइला पर्वले विशेषगरी बालबालिकामा खुसी र उमङ्ग थप्छन् भने पाका उमेरका व्यक्तिहरूका लागि पनि परिवार तथा आफन्तसँग भेटघाट गर्ने, दुःख–सुख साटासाट गर्ने र आत्मीयता बढाउने अवसर प्रदान गर्छन्। टीका लगाएर आशीर्वाद ग्रहण गर्ने, जमरा शिरमा धारण गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने हाम्रो आफ्नै मौलिक परम्परा छ। दसैँले आपसी सद्भाव, पारिवारिक एकता र उच्च मनोबलको सन्देश पनि दिन्छ।

तर, दसैँ र तिहार मनाउने क्रममा माछामासु अनिवार्य हुनुपर्ने, प्लास्टिकका बोतलमा प्याक गरिएका कोक, फेन्टा जस्ता चिसा पेय पदार्थ नभई नहुने, मदिरा तथा बियरको प्रयोगलाई रमाइलोसँग जोड्ने, पैसा नभए पनि ऋणसापटी गरेर बोका वा खसी काट्नैपर्ने र जङ्क फुड तथा धेरै तेलमा तारिएका परिकार खानैपर्ने सोच बढ्दै गएको देखिन्छ।

त्यस्तै, मदिरापानसँगै जुवातास खेल्नुलाई पनि कतिपयले चाडपर्वको रमाइलो ठान्ने गरेका छन्।के यिनै हुन् त हाम्रा मौलिक चाडपर्वका विशेषता? हामी किन आफ्नो परम्पराको वास्तविक मर्मबाट टाढिँदै छौँ? यस्ता गतिविधिबारे गम्भीर भएर सोच्न आवश्यक छ।

सामान्य लाग्ने यस्ता क्रियाकलापले हाम्रो आहार र विहारको सन्तुलन बिगार्न सक्छन्। आहारविहारमा आउने परिवर्तनले विचारमा प्रभाव पार्छ भने विचारमा आउने नकारात्मकताले व्यवहारमा समेत असर पुर्‍याउन सक्छ।

यसको परिणामस्वरूप शारीरिक अस्वस्थता, मानसिक तनाव, सामाजिक सम्बन्धमा दूरी र आध्यात्मिक चिन्तनमा कमी आएको अनुभव हुन सक्छ। असन्तुलित दिनचर्याले शरीरमा निष्क्रियता बढाउनुका साथै विभिन्न स्वास्थ्य समस्याको जोखिमसमेत बढाउन सक्छ।

त्यसैले हाम्रा मौलिक पर्वलाई संयमित, सरल र स्वस्थ तरिकाले मनाऔँ। पर्वले मनमा उत्साह, परिवारमा आत्मीयता, छरछिमेकमा भाइचारा र समाजमा उच्च मनोबलको विकास गर्न सकोस् भन्ने कुरामा ध्यान दिऔँ।

आहारमा सन्तुलन, व्यवहारमा संयम

दसैँमा माछामासुको प्रयोग गर्दा हरियो सागपात, मुला, मेवा, गाजरलगायतका तरकारी तथा फलफूललाई पनि खानामा समावेश गरौँ। शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व प्राप्त गर्न विविध प्रकारका खाद्य पदार्थ सन्तुलित रूपमा सेवन गर्नु महत्त्वपूर्ण हुन्छ। माछामासु खाँदा त्यसको मात्रा र पकाउने तरिकामा पनि ध्यान दिऔँ। धेरै चिल्लो, बोसोयुक्त र तेलमा तारिएका परिकारको सेवन सीमित गरौँ।

पेय पदार्थको प्रयोग गर्दा दही, मही र लस्सीजस्ता विकल्पलाई प्राथमिकता दिन सकिन्छ। अत्यधिक गुलियो तथा चिसा पेय पदार्थको सेवनबाट जोगिऔँ। मदिरापानले आफ्नो स्वास्थ्यमा मात्र नभई परिवार र छरछिमेकसँगको सामाजिक सद्भावमा समेत असर पार्न सक्छ। त्यसैले मदिराबाट टाढा रहनु नै स्वास्थ्य र पारिवारिक सम्बन्धका दृष्टिले उपयुक्त हुन्छ।

चाडपर्वका बेला खेलिने जुवातासले शारीरिक निष्क्रियता, मानसिक तनाव र आर्थिक समस्यासमेत निम्त्याउन सक्छ। केही क्षणको रमाइलोले दीर्घकालमा आफू र परिवारलाई पार्न सक्ने असरबारे विचार गरौँ। ऋणसापटी गरेर अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आफ्नो आर्थिक अवस्थाअनुसार पर्व मनाऔँ।

योग, ध्यान र सक्रिय जीवनशैली

दसैँको बिदालाई शरीर र मनलाई स्वस्थ राख्ने अवसरका रूपमा पनि उपयोग गरौँ। बिहानको आधा घण्टा समय व्यवस्थापन गरेर योग, प्राणायाम, ध्यान, हास्यासन, नृत्य तथा सङ्गीतजस्ता गतिविधिमा सहभागी बनौँ। भजनकीर्तन र पारिवारिक जमघटलाई पनि स्वस्थ मनोरञ्जनको माध्यम बनाऔँ।

यस्ता गतिविधिले शारीरिक सक्रियता बढाउन, मनलाई शान्त राख्न र परिवारका सदस्यबीच माया, सद्भाव तथा आत्मीयता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछन्। विचारमा सन्तुलन कायम राख्न र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नियमित योगाभ्यास उपयोगी माध्यम बन्न सक्छ।

चाडपर्व मनाउने नाममा अनावश्यक तडकभडक र देखासिकी नगरौँ। आफ्नो स्वास्थ्यमा प्रतिकूल असर नपर्ने, मनमा नकारात्मक भाव नबढ्ने र सामाजिक दायित्वबाट विमुख हुनुनपर्ने गरी पर्व मनाऔँ। बरु आपसी सहयोग, सद्भाव र सकारात्मक सोचलाई बढावा दिँदै आध्यात्मिक ऊर्जा अभिवृद्धि गरौँ।

हाम्रो जीवनशैली स्वस्थ, मस्त, व्यस्त र सक्रिय बनोस्। हालैका प्राकृतिक विपत्तिले सिर्जना गरेको पीडा र दुःखमा मलम लगाउन हामी सबैमा उच्च मनोबल, धैर्य र सहानुभूति विकास होस्।

आउन लागेका दसैँ, तिहारलगायत सम्पूर्ण चाडपर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याऊन्। वडा दसैँ २०८३ ले सबैको मनोबल उच्च राखोस् र हाम्रो समाजमा आपसी सद्भाव, आत्मीयता तथा सकारात्मक सोचको विकास गरोस्।सम्पूर्णमा वडा दसैँ २०८३ तथा आउँदै गरेका चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना!

लेखक लुम्बिनी आयुर्वेद चिकित्सालय, रुपन्देहीमा कार्यरत आयुर्वेद स्वास्थ्य सहायक हुनुहुन्छ।

 

सम्बन्धित शिर्षक :