महिलाको स्वास्थ्यका समस्या धेरैजसो अवस्थामा बाहिरबाट देखिँदैनन्। महिनावारी अनियमित हुनु, अत्यधिक रक्तस्राव, हर्मोनको असन्तुलन, गर्भधारणमा कठिनाइ, गर्भावस्थाका जटिलता तथा पाठेघरसम्बन्धी रोगले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छन्।
कतिपय महिला सामाजिक संकोचका कारण आफ्ना समस्या खुलेर भन्न सक्दैनन् भने कतिपयले सामान्य ठानेर लामो समयसम्म उपचार गराउँदैनन्।
महिलाको स्वास्थ्यसँग जोडिएका यिनै संवेदनशील विषयको पहिचान, उपचार र परामर्श प्रसूति तथा स्त्रीरोग सेवाका महत्त्वपूर्ण पाटा हुन्।
महिलाको जीवनका विभिन्न चरणमा देखिने स्वास्थ्य समस्याको उपचारमा विशेषज्ञता हासिल गरेकी चिकित्सक हुन्, डा. अनुपा थापा । उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत छिन्।
महिलाको स्वास्थ्यलाई केवल गर्भावस्था र प्रसूतिसँग जोडेर हेर्न मिल्दैन। किशोरावस्थामा सुरु हुने महिनावारी सम्बन्धी समस्या देखि प्रजनन उमेरका महिलामा देखिने हर्मोनको असन्तुलन, गर्भधारणमा कठिनाइ, गर्भावस्थामा देखिने जटिलता र रजोनिवृत्तिपछिका स्वास्थ्य समस्यासम्म यस क्षेत्रको दायरा फैलिएको छ।
त्यसैले महिलाको स्वास्थ्य समस्या समयमै पहिचान गर्नु, आवश्यक परीक्षण गराउनु र उचित उपचार पाउनु महत्त्वपूर्ण हुन्छ।
चिकित्सा शिक्षाबाट विशेषज्ञ चिकित्सकसम्म
डा. अनुपाले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेकी हुन्। त्यसपछि उनले चीनको लियाओनिङ मेडिकल विश्व विद्यालयबाट प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर (एमडी) उपाधि हासिल गरिन्।
चिकित्सा शिक्षाको प्रारम्भिक अध्ययनपछि विशेषज्ञता हासिल गर्ने क्रममा उनले महिलाको प्रजनन स्वास्थ्य, गर्भावस्था, प्रसूति तथा स्त्रीरोगसम्बन्धी समस्याको अध्ययन गरिन्। यही विशेषज्ञताका आधारमा उनी अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा महिलाको स्वास्थ्यसँग सम्बन्धित सेवा प्रवाहमा आबद्ध छिन्।
प्रसूति तथा स्त्रीरोग चिकित्सा महिलाको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदन शील क्षेत्र हो। यसमा रोगको पहिचान र उपचारसँगै बिरामीको शारीरिक अवस्था, मानसिक स्वास्थ्य, पारिवारिक परिवेश र प्रजननसम्बन्धी आवश्य कता लाई पनि ध्यान दिनुपर्ने हुन्छ।
महिलाले आफ्नो स्वास्थ्य सम्बन्धी समस्या खुलेर राख्न सक्ने वातावरण निर्माण गर्नु पनि उपचार प्रक्रियाको महत्त्वपूर्ण पक्ष हो।
विशेषगरी यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा संकोचका कारण समस्या लुकाउने प्रवृत्ति हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकीय परामर्श र आवश्यक परीक्षणबाट समस्याको वास्तविक कारण पहिचान गर्न सकिन्छ।
चिकित्सक परिवारमा हुर्किएर चिकित्सा क्षेत्रमा
डा. अनुपा थापाको पारिवारिक पृष्ठभूमि पनि चिकित्सा र स्वास्थ्य शिक्षासँग जोडिएको छ। उनका बुबा डा. प्रेमबहादुर थापा जनरल सर्जन हुन्। उनकी आमा तृष्णा थापा पोखरास्थित चिकित्सा शिक्षासँग सम्बन्धित संस्थामा सह प्राध्यापकका रूपमा कार्यरत रहिसकेकी छन्।
बुबा शल्यचिकित्सा क्षेत्रमा र आमा चिकित्सा शिक्षण क्षेत्रमा आबद्ध रहेको परिवारमा हुर्किएकी अनुपमाले पनि चिकित्सा क्षेत्रलाई आफ्नो पेसाका रूपमा रोजेकी छन्।
परिवारको पेसागत पृष्ठभूमि उनको जीवनको एउटा महत्त्वपूर्ण परिचय हो। चिकित्सा पेसा केवल शैक्षिक योग्यता हासिल गरेर पूरा हुने जिम्मेवारी होइन।
बिरामीको समस्या बुझ्नु, रोगको कारण पहिचान गर्नु, उपलब्ध उपचारका विकल्पबारे जानकारी दिनु र आवश्यकताअनुसार उपचार गर्नु यसका आधारभूत पक्ष हुन्। प्रसूति तथा स्त्रीरोगजस्तो संवेदनशील क्षेत्रमा यी पक्ष अझ महत्त्वपूर्ण हुन्छन्।
महिनावारी अनियमिततालाई सामान्य ठानेर बेवास्ता नगरौँ
महिलामा देखिने स्वास्थ्य समस्यामध्ये महिनावारी अनियमित हुनु प्रमुख हो। महिनावारीको चक्रमा परिवर्तन हुनु, लामो समयसम्म महिनावारी नहुनु, अत्यधिक रक्तस्राव हुनु वा असह्य पेट दुख्नुका पछाडि विभिन्न कारण हुन सक्छन्।
हर्मोनको असन्तुलन, थाइराइडसम्बन्धी समस्या, तनाव, तौलमा परिवर्तन, पोषणको अवस्था तथा अन्य स्वास्थ्य समस्याले महिनावारीमा प्रभाव पार्न सक्छन्।
किशोरी तथा युवतीमा यस्ता समस्या देखिएमा लाज मान्ने वा आफैँ औषधि सेवन गर्नेभन्दा स्वास्थ्यकर्मीसँग परामर्श लिनु उपयुक्त हुन्छ।
महिनावारी अनियमित हुँदैमा गम्भीर रोग लागेको निष्कर्ष निकाल्नु हुँदैन। तर समस्या लामो समयसम्म रहिरहेमा, रक्तस्राव अत्यधिक भएमा वा दैनिक जीवनमा असर पर्ने गरी दुखाइ भएमा परीक्षण गराउनु आवश्यक हुन्छ।
महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको उपचार गर्दा उमेर, लक्षण, स्वास्थ्य इतिहास र आवश्यक परीक्षणका आधारमा कारण पहिचान गर्नुपर्छ। सबै महिलामा एउटै समस्या वा एउटै उपचार लागू हुँदैन।
पीसीओएस र प्रजनन स्वास्थ्यको चुनौती
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) महिलामा देखिने हर्मोन तथा चयापचयसँग सम्बन्धित अवस्थामध्ये एक हो। यसमा महिनावारी अनियमित हुने, अण्डोत्सर्गमा समस्या देखिने, डन्डिफोर आउने, अनुहारमा अनावश्यक रौँ पलाउने तथा तौल बढ्ने समस्या देखिन सक्छन्। केही महिलामा गर्भधारणमा कठिनाइसमेत हुन सक्छ।
पीसीओएसको एउटै निश्चित कारण हुँदैन। शरीरमा इन्सुलिनप्रतिको संवेदनशीलता घट्नु, पुरुष हर्मोनको मात्रा बढ्नु तथा आनुवंशिक प्रभावले यसको विकासमा भूमिका खेल्न सक्छन्।
तौल बढी भएका महिलामा यसको प्रभाव थप देखिन सक्छ, तर सामान्य तौल भएका महिलामा पनि पीसीओएस हुन सक्छ।
महिनावारी अनियमित हुँदैमा पीसीओएस भएको निष्कर्ष निकाल्न मिल्दैन। चिकित्सकले लक्षण, स्वास्थ्य इतिहास र आवश्यक परीक्षणका आधारमा समस्या पहिचान गर्छन्।
यसको व्यवस्थापनमा सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, आवश्यकताअनुसार तौल व्यवस्थापन र चिकित्सकीय सल्लाह अनुसार औषधि उपयोगी हुन सक्छन्।
समयमै पहिचान तथा उपचारले महिनावारी नियमित बनाउन, अन्य लक्षण नियन्त्रण गर्न र गर्भधारणको सम्भावना सुधार गर्न सहयोग गर्न सक्छ। त्यसैले महिलाले प्रजनन स्वास्थ्यमा देखिएका परिवर्तनलाई बेवास्ता नगरी उचित परामर्श लिनुपर्छ।
बाँझोपनमा महिला र पुरुष दुवैको परीक्षण आवश्यक
विवाहपछि लामो समयसम्म गर्भधारण हुन नसक्दा महिलालाई मात्र दोष दिने सामाजिक प्रवृत्ति अझै पाइन्छ। तर बाँझोपन महिला वा पुरुष दुवैसँग सम्बन्धित कारणले हुन सक्छ।
त्यसैले गर्भधारणमा समस्या देखिएमा दम्पती दुवैले स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ।महिलामा अण्डोत्सर्गसम्बन्धी समस्या, पीसीओएस, पाठेघरको समस्या, डिम्बवाहिनी नली बन्द हुनु तथा इन्डोमेट्रियोसिसजस्ता अवस्थाले गर्भधारणमा कठिनाइ ल्याउन सक्छन्।
पुरुषमा शुक्रकीटको सङ्ख्या वा गतिशीलता कम हुनु पनि बाँझोपनको कारण हुन सक्छ।उमेर, जीवनशैली, धूमपान, मदिरा सेवन, तौलसम्बन्धी समस्या तथा केही दीर्घरोगले पनि प्रजनन क्षमतामा असर पार्न सक्छन्।
त्यसैले बाँझोपनको उपचार गर्नुअघि कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ।
गर्भनिरोधक साधन प्रयोग नगरी नियमित यौनसम्पर्क गर्दा पनि एक वर्षसम्म गर्भधारण नभएमा चिकित्सकीय जाँच गराउनु उपयुक्त हुन्छ।
महिलाको उमेर ३५ वर्ष वा बढी भएमा छ महिनासम्म प्रयास गर्दा गर्भधारण नभए परामर्श लिनु उचित हुन्छ। पहिले नै प्रजननसम्बन्धी समस्या वा अन्य जोखिम देखिएको अवस्थामा भने अझ चाँडै जाँच आवश्यक पर्न सक्छ।
बाँझोपनको उपचार सबैमा एउटै हुँदैन।
समस्याको प्रकृति र दम्पतीको अवस्थाअनुसार औषधि, शल्यक्रिया वा सहायक प्रजनन प्रविधिमध्ये उपयुक्त विकल्प छनोट गर्न सकिन्छ।
सुरक्षित मातृत्वका लागि नियमित गर्भजाँच
गर्भावस्था महिलाको जीवनको संवेदनशील अवस्था हो। यस समयमा नियमित गर्भजाँच, सन्तुलित पोषण, आवश्यक परीक्षण र स्वास्थ्यकर्मीको परामर्शले आमा तथा शिशुको स्वास्थ्य सुरक्षित राख्न सहयोग गर्छ।
गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पता, संक्रमण तथा अन्य जटिलता देखिन सक्छन्। समयमै पहिचान नभएमा यी समस्याले आमा र शिशु दुवैको स्वास्थ्यमा जोखिम बढाउन सक्छन्।
गर्भवती महिलाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित गर्भजाँच गराउनुपर्छ। रक्तस्राव, असह्य पेट दुखाइ, गम्भीर टाउको दुखाइ, दृष्टिमा समस्या वा शिशुको चाल कम हुनेजस्ता संकेत देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
सुरक्षित मातृत्वका लागि गर्भवती महिलाको मात्र प्रयास पर्याप्त हुँदैन। परिवारको सहयोग, समयमै स्वास्थ्य संस्थासम्म पुग्न सक्ने व्यवस्था र आवश्यक सेवा उपलब्ध हुनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
सिजेरियन प्रसूति आवश्यकता अनुसार
सिजेरियन शल्यक्रियामार्फत गरिने प्रसूति हो। सामान्य प्रसूति सम्भव नहुने वा त्यसो गर्दा आमा अथवा शिशुको स्वास्थ्यमा जोखिम हुने अवस्थामा सिजेरियन आवश्यक पर्न सक्छ।
शिशुको असामान्य अवस्था, प्रसव अगाडि नबढ्नु, शिशुलाई पर्याप्त अक्सिजन नपुगेको संकेत देखिनु, सालसम्बन्धी जटिलता तथा आमामा केही गम्भीर स्वास्थ्य समस्या हुनु सिजेरियन आवश्यक पर्न सक्ने अवस्थामध्ये हुन्।
सिजेरियन गराउने वा सामान्य प्रसूति गराउने भन्ने निर्णय गर्भवतीको अवस्था, शिशुको स्वास्थ्य र चिकित्सकीय मूल्याङ्कनका आधारमा गर्नुपर्छ। सामान्य प्रसूति सम्भव हुने अवस्थामा अनावश्यक शल्यक्रियाबाट जोगिनु र आवश्यक परेको अवस्थामा ढिलाइ नगर्नु दुवै महत्त्वपूर्ण छन्।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञको जिम्मेवारी गर्भावस्थामा देखिने जोखिम पहिचान गर्नु, उपयुक्त प्रसूति विधि छनोट गर्न सहयोग गर्नु र आमा तथा शिशुको सुरक्षा सुनिश्चित गर्ने उपचार प्रक्रियामा सहभागी हुनु हो।
पाठेघरको मुखको क्यान्सर रोकथाममा सचेतना
पाठेघरको मुखको क्यान्सर महिलाको स्वास्थ्यमा गम्भीर चुनौतीका रूपमा रहेको छ। यसको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को दीर्घकालीन संक्रमण हो। समयमै पहिचान र उपचार गर्न सके यसबाट हुने जटिलता घटाउन सकिन्छ।
एचपीभीविरुद्धको खोप, उमेर र जोखिमअनुसार पाठेघरको मुखको नियमित परीक्षण तथा असामान्य नतिजा आएमा समयमै उपचार यसबाट बच्ने प्रमुख उपाय हुन्।
क्यान्सरको प्रारम्भिक अवस्थामा स्पष्ट लक्षण नदेखिन पनि सक्छ। त्यसैले कुनै समस्या नभए पनि स्वास्थ्य निर्देशिकाअनुसार परीक्षण गराउनु आवश्यक हुन्छ। यौनसम्पर्कपछि रक्तस्राव हुनु, महिनावारीबाहेकको समयमा रक्तस्राव देखिनु वा रजोनिवृत्तिपछि रक्तस्राव हुनुजस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन।
एचपीभी खोपले संक्रमणबाट हुने केही प्रकारका क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ। तर खोप लगाएका महिलाले पनि आवश्यकताअनुसार परीक्षण गराइरहनुपर्छ।
रजोनिवृत्तिपछि पनि स्वास्थ्यमा ध्यान
महिलाको महिनावारी स्थायी रूपमा बन्द हुने अवस्थालाई रजोनिवृत्ति भनिन्छ। यस समयमा हर्मोनको मात्रा परिवर्तन हुँदा शरीर तात्ने, राति पसिना आउने, निद्रामा समस्या हुने, मनस्थिति परिवर्तन हुने तथा यौन स्वास्थ्यमा परिवर्तन देखिन सक्छन्।
रजोनिवृत्तिपछि हड्डी कमजोर हुने र मुटु तथा रक्तनलीसम्बन्धी जोखिम बढ्ने सम्भावना पनि रहन्छ। त्यसैले यस अवस्थालाई सामान्य भन्दै सबै समस्या बेवास्ता गर्नु हुँदैन।
सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा र आवश्यकता अनुसार चिकित्सकीय परामर्शले रजोनिवृत्तिका लक्षण व्यवस्थापन गर्न सहयोग गर्छ।
लक्षणले दैनिक जीवनमा असर पारेमा चिकित्सकसँग परामर्श गरेर उपयुक्त उपचार विधि छनोट गर्न सकिन्छ।
महिलाको स्वास्थ्यमा परिवार र समाजको भूमिका
महिलाले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन नसक्नुका पछाडि व्यक्तिगत कारण मात्र हुँदैनन्। परिवारको जिम्मेवारी, आर्थिक निर्भरता, स्वास्थ्यसम्बन्धी जानकारीको कमी, सामाजिक संकोच र स्वास्थ्य सेवामा पहुँचको अभावले पनि असर पार्न सक्छ।
कतिपय महिला परिवारका सदस्यको हेरचाहमा व्यस्त हुँदा आफ्नै स्वास्थ्य परीक्षण पछाडि सार्छन्। प्रजनन स्वास्थ्यसम्बन्धी समस्या देखिए पनि परिवारलाई भन्न हिचकिचाउने अवस्था हुन सक्छ। यस्तो प्रवृत्तिले समस्या पहिचान र उपचारमा ढिलाइ गराउन सक्छ।
त्यसैले महिलाको स्वास्थ्य सुधारका लागि परिवारले सहयोगी भूमिका खेल्नु पर्छ। पोषण, आराम, नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक वातावरण बनाउनुपर्छ। समुदायमा महिला स्वास्थ्यसम्बन्धी सचेतना बढाउनु र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
महिलाले रक्तचाप, रक्तचिनी, तौल, रक्तअल्पता तथा अन्य स्वास्थ्य समस्या सम्बन्धी परीक्षण आफ्नो उमेर, लक्षण, पारिवारिक इतिहास र चिकित्सकीय सल्लाहअनुसार गराउनुपर्छ।
गर्भधारणको योजना बनाएका महिलाका लागि गर्भधारणपूर्वको स्वास्थ्य परीक्षण उपयोगी हुन्छ।
महिलाको स्वास्थ्यसम्बन्धी समस्या लुकाउने होइन, समयमै पहिचान गरी उपचार गर्ने विषय हो। नियमित परीक्षण, स्वास्थ्यसम्बन्धी सचेतना र चिकित्सकीय परामर्शले महिलालाई स्वस्थ जीवन बिताउन सहयोग पुर्याउँछ।


प्रतिकया दिनुहोस्