स्वास्थ्यसमाचार/मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाउने होइन, समयमै पहिचान गरेर सहयोग खोज्ने विषय हो भन्ने सन्देशसहित गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले विद्यालय र समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्याको प्रारम्भिक पहिचान र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै विद्यार्थी तथा समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरेको हो।
यसै क्रममा रिडी माध्यमिक विद्यालयका विद्यार्थीले मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रस्तुत गरेका छन्। नाटकमार्फत मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर नराख्न, समस्यामा परेका व्यक्तिलाई माया र सहयोग गर्न तथा महिला हिंसा, भेदभाव र दुर्व्यवहारविरुद्ध आवाज उठाउन सन्देश दिइएको थियो।
त्यस्तै, रुरुक्षेत्र गाउँपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयमा किशोरकिशोरी लक्षित मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा तनाव व्यवस्थापन, आफ्ना भावना पहिचान र अभिव्यक्ति, सकारात्मक सोच, सहयोग माग्ने व्यवहार तथा आवश्यकताअनुसार स्वास्थ्य सेवा लिनुपर्ने विषयमा जानकारी दिइएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १० देखि १९ वर्ष उमेर समूहका करिब सातमध्ये एक किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित छन्।
किशोरावस्थामा हुने शारीरिक, भावनात्मक तथा सामाजिक परिवर्तनका कारण यस समयमा मानसिक स्वास्थ्यको हेरचाह अझ महत्वपूर्ण मानिन्छ।
मानसिक स्वास्थ्यमा देखिने समस्याले व्यक्तिको सोच, भावना, व्यवहार, पारिवारिक सम्बन्ध र दैनिक जीवनमा असर पार्न सक्छ। तनाव, चिन्ता, निराशा, सामाजिक दबाब, हिंसा, दुर्व्यवहार र सहयोगको अभावले यस्ता समस्या थप जटिल बनाउन सक्छन्।
समयमै समस्या पहिचान, परिवारको साथ र आवश्यक उपचारले यसको प्रभाव कम गर्न मद्दत पुर्याउँछ।
शारीरिक स्वास्थ्यमा समस्या हुँदा उपचार खोज्नु आवश्यक भएझैँ मानसिक स्वास्थ्यमा समस्या देखिँदा पनि सहयोग लिनु उत्तिकै महत्वपूर्ण छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या कमजोरी वा लाजको विषय नभई उचित सहयोग र उपचारबाट व्यवस्थापन गर्न सकिने स्वास्थ्य समस्या हो।
रुरुक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्यलाई व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारको साझा जिम्मेवारीका रूपमा लिएको छ।
मानसिक स्वास्थ्यसम्बन्धी भ्रम र विभेद हटाउने, किशोरकिशोरीमैत्री वातावरण निर्माण गर्ने, हिंसाविरुद्ध सचेतना फैलाउने र आवश्यक स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखाकी उषा ज्ञवालीले मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएका व्यक्तिलाई दोषारोपण वा भेदभाव नगरी उनीहरूको कुरा सुन्न, बुझ्न र आवश्यक सहयोग गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका सदस्यलाई आग्रह गरेकी छन्।


प्रतिकया दिनुहोस्