स्वास्थ्यसमाचार/क्षयरोग (टीबी) का बिरामीको उपचार प्रभावकारी बनाउनुका साथै उनीहरूको पोषण अवस्था सुधार गर्न बाँकेमा ‘नौरिश–३’ (NOURISH III) परियोजना सञ्चालन गरिएको छ ।
बेलायत नेपाल मेडिकल ट्रष्ट (BNMT UK) को सहयोग तथा सावित्री बास्न्यात फण्ड फर टीबी (SFBT) को दाता सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत बाँके जिल्लाका ४० जना क्षयरोगीलाई खाद्य तथा पोषण सामग्री वितरण गरिएको हो ।
परियोजनाले क्षयरोगीको उपचारलाई निरन्तरता दिन, कुपोषणको अवस्था सुधार गर्न, शरीरको प्रतिरक्षा क्षमता बढाउन तथा उपचार बीचमै छाड्ने अवस्था न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्य राखेको छ ।परियोजनाअन्तर्गत जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका क्षयरोगीलाई स्वास्थ्य संस्थामार्फत खाद्य तथा पोषण सामग्री वितरण गरिएको छ ।
जानकी गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य संस्थामार्फत २१ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरिएको छ । त्यस्तै, खजुरा गाउँपालिकाका ८ वटा स्वास्थ्य संस्थामार्फत १९ जना क्षयरोगीलाई सामग्री उपलब्ध गराइएको छ ।क्षयरोगको उपचारमा नियमित औषधि सेवनसँगै बिरामीको पोषण अवस्थाले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले परियोजनाले उपचारसँगै पोषणलाई जोड दिएको हो ।
परियोजना म्यानेजर बिबेचना पाण्डेका अनुसार पर्याप्त पोषणको अभावमा क्षयरोगीको स्वास्थ्य अवस्था कमजोर हुनसक्ने भएकाले उपचाररत बिरामीलाई पोषण सहयोग उपलब्ध गराइएको हो ।उनले यस प्रकारको सहयोगले बिरामीलाई नियमित औषधि सेवन गर्न प्रोत्साहित गर्नुका साथै उपचार पूरा गर्न सहयोग पुग्ने बताइन् ।
‘उपचारसँगै बिरामीको पोषण अवस्था सुधार गर्न सकेमा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ,’ पाण्डेले भनिन्, ‘नियमित औषधि सेवन र उपचार पूरा गर्ने वातावरण बनाउन पनि पोषण सहयोगले भूमिका खेल्छ।’
क्षयरोग लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने रोग भएकाले उपचारको क्रममा बिरामीले विभिन्न समस्या भोग्नुपर्ने अवस्था हुन्छ । आर्थिक तथा सामाजिक कारणले पर्याप्त खाना खान नसक्ने बिरामीका लागि उपचारसँगै पोषण सामग्रीको सहयोगले उपचार निरन्तरतामा सहयोग पुग्ने परियोजनाको अपेक्षा छ ।
परियोजनाले विशेषगरी उपचारमा रहेका क्षयरोगीको पोषण अवस्था सुधार, उपचारप्रतिको नियमितता कायम र उपचार बीचमै छाड्ने प्रवृत्ति घटाउने विषयलाई प्राथमिकतामा राखेको छ ।
स्थानीय तहका स्वास्थ्य संस्थामार्फत लाभग्राही बिरामी पहिचान गरी पोषण सामग्री वितरण गरिएको जनाइएको छ । स्वास्थ्य संस्थाले बिरामीको उपचार अवस्थासँगै नियमित औषधि सेवन र उपचारको निरन्तरतामा समेत निगरानी गर्नेछन् ।



प्रतिकया दिनुहोस्