कुष्ठरोगविरुद्ध ३१ वर्षको यात्रा: बस्ती–बस्तीमा सेवाको दीप बाल्ने टीकाराम अधिकारी

पाल्पा जिल्लाको साविक वन्दिपोखरा गाउँ विकास समिति (हालको तानसेन नगरपालिका ११) मा जन्मिएका टीकाराम अधिकारीको बाल्यकाल संघर्ष, कठिनाई र ग्रामीण अभावबीच बित्यो। त्यतिबेला पाल्पाका गाउँहरूमा स्वास्थ्य सुविधा पाउनु फलामे च्युरा चपाउन सरह थियो।

गाउँमा कोही मानिस अचानक बिरामी पर्दा वा प्रसव वेदनाबाट छटपटाउँदा उसलाई स्टेचर वा डोकोमा बोकेर तानसेन बजार पुर्‍याउन मात्रै कम्तीमा तीन घण्टा उकालो–ओरालो हिँड्नुपर्थ्यो। बाटोमै बिरामीले ज्यान गुमाएका धेरै कहाली लाग्दा दृश्यले बालमस्तिष्कमा गहिरो चोट पारेको थियो। त्यही पीडा र छटपटीले उनको अवचेतन मनमा एउटा दृढ संकल्प जन्माएको थियो- “ठूलो भएर जनताको जीवन बचाउने स्वास्थ्य क्षेत्रमै केही गर्नुपर्छ।”

प्रारम्भिक शिक्षा गाउँकै श्री भैरव जनता माध्यमिक विद्यालय, भैरवस्थानबाट पूरा गरेपछि उनले स्वास्थ्य विषयमै भविष्य खोज्ने निर्णय गरे। तानसेनस्थित समुदाय चिकित्सा सहायक (CMA) क्याम्पसबाट सीएमए अध्ययन र पछि त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनबाट स्नातक तहसम्मको शिक्षा हासिल गरे।

तत्कालीन समयमा गाउँलेहरूका लागि मसीहा बनेका हार्थोक खस्यौलीका विष्णु खनाल दाजुको सेवाभाव र मुटु रोग विशेषज्ञ डा. बद्री नेपाल तथा डा. हरिहर खनालजस्ता विज्ञहरूको प्रेरणाले उनलाई चिकित्सा क्षेत्रमा पूर्णरूपमा समर्पित हुन ऊर्जा प्रदान गर्यो।

ताँहु स्वास्थ्य चौकीका ती कठिन दिनहरू

२०४६ साल पौष ६ गते तत्कालीन पश्चिमाञ्चल स्वास्थ्य सेवा निर्देशनालयबाट अ.हे.व. (AHW) पदमा नियुक्ति पाएपछि टीकारामले आफ्नो निजामती सेवाको ढोका खोले। पहिलो पोष्टिङ पाल्पाकै दुर्गम ताँहु स्वास्थ्य चौकीमा भयो।
त्यतिबेला जिल्लामा स्वास्थ्य चौकीहरूको संख्या औंलामा गन्न सकिन्थ्यो।

त्यसैले एउटै संस्थाले विशाल भूगोल र हजारौं जनसंख्यालाई सेवा दिनुपथ्र्यो। स्रोत, साधन र औषधीको चरम अभाव थियो। ताँहु, खस्यौली र चापपानी स्वास्थ्य चौकीहरूमा सेवा गर्दाको अनुभव सुनाउँदै उनी भन्छन्, “त्यतिबेला स्वास्थ्य चौकीमा सुत्केरी सेवादेखि सामान्य चिरफार र घाउ चिर्नेजस्ता शल्यक्रियात्मक कामसमेत आफैँ गर्नुपर्ने बाध्यता थियो। यो केवल जागिर थिएन, हरेक दिन जीवन र मृत्युबीचको कडा संघर्ष थियो।”

एकपटक झाडापखाला लागेर अति नै सिकिस्त भइसकेका बिरामीलाई अत्यन्त ढिलो गरी ल्याइयो। शरीरमा जलवियोजन पूर्ण भइसकेको थियो। सम्पूर्ण प्रयास गर्दागर्दै पनि बिरामीलाई बचाउन सकिएन। आँखाअगाडि मानिसले ज्यान गुमाएको त्यो पीडाले स्वास्थ्य क्षेत्रमा समयमै उपचारको महत्व कति हुँदो रहेछ भन्ने कठोर यथार्थबोध गरायो।

तर, अर्कोतिर सुखद अनुभूतिहरू पनि थिए। एकदिन जटिल अवस्थामा ढिला गरी आएकी एक गर्भवती महिलाको पेटमा मृत बच्चा रहेको प्रारम्भिक जाँचबाट पत्та लगाइयो। बिना विलम्ब उनलाई तानसेन मिसन अस्पताल रिफर गरियो, जसको परिणामस्वरूप आमाको अमूल्य ज्यान बच्यो। त्यो क्षण सम्झँदा आज पनि उनका आँखाहरू गर्वले रसाउँछन्।

उनी आफ्नो सीपलाई केवल शारीरिक रोगको उपचारमा मात्र सीमित राखेनन्, सेवाग्राहीको मानसिक र मुख स्वास्थ्यलाई समेत एकीकृत गरेर सेवा दिए। सरुवाको बेला स्थानीय जनताले रोक लगाउन जिल्लामा सिधै ‘डेलीगेसन’ जाने गर्दथे। त्यो जनताको अथाह माया नै उनको जीवनको सबैभन्दा ठूलो पुँजी बन्यो।

रूपन्देही सरुवा र ३१ वर्षे महाअभियान

२०५२ साल असार २१ गते खुला विज्ञापनबाट क्षय-कुष्ठ सहायक पदमा नियुक्त भएर उनी स्वास्थ्य कार्यालय रूपन्देहीमा हाजिर भए। यहींबाट सुरु भयो उनको जीवनको सबैभन्दा लामो र गौरवमय ३१ वर्षको क्षयरोग र कुष्ठरोग निवारणको यात्रा।

जागिरे जीवनको क्रममा उहाँले बाँके जिल्लामा दुई वर्ष (२०५९ सालदेखि), त्यसपछि २०६१ सालदेखि प्युठान, २०७८ सालमा केही समय पाल्पा र गुल्मी हुँदै हाल रुपन्देहीलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन ।

स्वास्थ्य सेवामा उहाँको विशेष योगदान कुष्ठरोग निवारण अभियानमा देखिन्छ। बाँकेमा कार्यरत रहँदा आफ्नै पहलमा विद्यालयका विद्यार्थीहरूमा कुष्ठरोग पहिचान तथा परीक्षण अभियान सञ्चालन गर्ने प्रस्ताव तयार गर्नुभयो। तत्कालीन अवस्थामा उक्त अभियानलाई आईएनएफ नेपालबाट आवश्यक सहयोग प्राप्त भयो।

२०५० सालको दरबन्दीमा मात्र कुष्ठरोग फोकल पर्सनको व्यवस्था गरिएको थियो। त्यसअघि मासिक रूपमा घुम्ती क्लिनिक सञ्चालन गरेर सेवा दिने चलन थियो। २०५२ सालतिर कुष्ठरोग निदान भएपछि बिरामीले जीवनभर औषधि खाइरहनुपथ्र्यो।

समाजको डर र तिरस्कारका कारण मान्छेहरू रोग लुकाउन बाध्य थिए। रूपन्देहीमा मात्रै वार्षिक करिब ३,००० कुष्ठरोगीहरूको संख्या थियो। १९८१ मा विश्व स्वास्थ्य संगठन (WHO) ले बहुऔषधि उपचार (MDT) पद्धति लागू गरेपछि र नेपाल सरकारले २०५५ सालमा राष्ट्रिय कुष्ठरोग निवारण अभियान घोषणा गरेपछि स्थितिमा सुधार आउन थाल्यो।

यही क्रममा टीकारामले आफ्नो कार्यकाळमा गरेको एक मौलिक पहलले इतिहास रचे:
• घरदैलो र छरछिमेक खोजपताल विधि (२०५८): आफ्नै विशेष पहलमा कुष्ठरोग महाशाखामा अनुरोध गरी पुराना कुष्ठरोगी र उनीहरूका छिमेकीहरूमा समेत गएर शरीरका दागहरूको जाँचपताल गर्ने विधि उनले रूपन्देहीबाट लागू गरे। यो अभियानबाट ५४ जना नयाँ लुकेका बिरामी पत्ता लागे। रूपन्देहीको यो सफल विधिलाई पछि राष्ट्रिय महाशाखाले देशैभरि लागू गर्यो।

बिरामीका आँसुमा भगवान देख्दाका पलहरू

३१ वर्षको यो लामो अवधिमा उनले सयौं बिरामीको जीवनमा उज्यालो ल्याएका छन्। तीमध्ये केही घटना अमिट भएर बसेका छन्:
• कतारबाट फर्किएका युवाको कथा: २०७६ सालमा रूपन्देही सूर्यपुराका २२ वर्षका एक युवा वैदिकी रोजगारीका क्रममा कतारमा हात कमजोर भएपछि नेपाल फर्के। देशका महँगा अस्पतालहरूमा छाला तथा स्नायुका १० थरीभन्दा बढी महँगा औषधि खुवाइए पनि कान्छो औंला बाङ्गो भइसकेको थियो। जब ती युवा टीकारामको क्याम्पसमा आए, उनले पहिलो नजरमै कुष्ठरोग पहिचान गरे। उचित उपचारपछि ती युवा पूर्ण रूपमा निको भए।

• क्यान्सर अस्पताल पुगेकी महिलाको पुनर्जीवन: अर्की एक तराई मूलकी महिला खुट्टाको पोलाइको घाउ लिएर ठूला क्यान्सर अस्पतालहरूसम्म पुगिन, लाखौँ खर्च भयो तर रोग पत्ता लागेन। टीकारामले गहिरो सोधखोज र स्नायु जाँच गर्दा चेतना गुमेको कारण तातोले पोलेर घाउ भएको र त्यो कुष्ठरोग रहेको पत्ता लगाइन्। पूर्ण निको भएपछि ती महिलाले खुट्टा ढोग्दै भनिन्, “तपाईं त मेरा लागि भगवान नै हुनुहुन्थ्यो!”

कुष्ठरोगको प्रकृति ढिला सर्ने, स्नायुमा असर गरेर चेतना ह्रास गराउने तर सुरुमा दुख्ने वा चिलाउने दाग नहुने भएकाले यो छिटो पत्ता लाग्दैन। अझै पनि समाजमा “कुष्ठरोग पाप वा धर्मको सजाय हो” भन्ने अन्धविश्वास विद्यमान छ। यसलाई चिर्न समुदायको सचेतीकरण अपरिहार्य छ।

क्षयरोग उपचारमा क्रान्ति: ‘सुविधाजनक समय’ को परिकल्पना

सन् १९९५ देखि लागू भएको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने विधि (DOTS) वैज्ञानिक रूपमा प्रभावकारी भए पनि दैनिक कार्यालय समयमा स्वास्थ्य संस्थामा आएर औषधि खानुपर्ने नियमले मजदूरी गर्ने तथा ज्यालादारी गर्ने बिरामीलाई असम्भवजस्तै थियो।

यो समस्या हल गर्न रूपन्देहीका तत्कालीन इलाका स्वास्थ्य चौकीहरूमा स्वास्थ्य संस्था प्रमुख र नर्सिङ प्रमुखहरूको संयुक्त बैठकबाट २४ घण्टा सेवा दिने संस्थाहरूमा बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म औषधि खुवाउने व्यवस्था मिलाइयो।

नेपालमै पहिलो पटक रूपन्देहीमा प्रयोग भएको यो अभ्यास पछि राष्ट्रिय क्षयरोग केन्द्रले देशैभर लागू गर्यो। त्यस्तै, २०५५ सालमा जाइका (JICA) को सहयोगमा औषधि पसलहरूबाटै क्षयरोगका बिरामीको प्रेषण प्रणाली (Referral System) विकास गर्न उनको महत्त्वपूर्ण भूमिका रह्यो।

इमानदारिताको मूल्य र प्रेरणादायी संगत
विश्व क्षयरोग दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रबाट दुई-दुई पटक दीक्षा दक्ष पुरस्कार र रणसमुन्द्र पुरस्कार प्राप्त गरिसकेका टीकाराम आफ्नो स्वभावबारे भन्छन्, “मेरो सबल पक्ष जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नु हो भने कमजोरी मेरो प्रस्ट वक्ता स्वभाव हो- मनको कुरा सिधै बोल्ने, बनावटी व्यवहार गर्न नजान्ने।”

कामभन्दा देखावटी प्रवृत्तिले प्राथमिकता पाउने समाजमा उनले केही अवसर गुमाए पनि जीवनमा पाएका कुशल प्रशासकहरू- डा. यशोवर्धन प्रधान, डा. दीर्घ सिंह बम, रामचन्द्र खनाल, चुरामणि भण्डारी, डा. राजेन्द्र गिरी, महेश्वर श्रेष्ठ, सागर दाहाल र ऋषि लामिछानेजस्ता व्यक्तित्वहरूको संगतले उनलाई सधैं जवाफदेही र कर्तव्यपथमा अडिग रहन सिकायो।

भविष्यको कार्यदिशा र संकल्प

रूपन्देहीमा २०५२ सालको ३,००० को संख्या घटेर २०८३ सालको असार मसान्तसम्म आइपुग्दा कुष्ठरोगका बिरामी १४० मा झरिसकेका छन्।

यसलाई पूर्ण रूपमा शून्यमा पुर्‍याउन निम्न कार्यहरू अपरिहार्य रहेको उनको सुझाव छ: १. विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अर्धवार्षिक रूपमा अनिवार्य शारीरिक परीक्षण गर्ने। २. विद्यालय तहदेखि नै कुष्ठरोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने।

३. समुदायमा रहेको नकारात्मक सोच र विभेद अन्त्य गर्न वर्षमा कम्तीमा दुई पटक आफ्नो शरीरमा दाग भए नभएको स्वयम् परीक्षण गर्ने बानी बसाल्ने। ४. सबै पालिकाहरूमा कम्तीमा एउटा स्वास्थ्य संस्थालाई निदान, उपचार तथा प्रतिक्रिया व्यवस्थापन केन्द्रको रूपमा विकास गर्ने। ५. सरकारी अस्पतालहरूमा जटिलता व्यवस्थापन र पुनस्थापना केन्द्र स्थापना गर्ने।

उपसंहार

पाल्पाको वन्दिपोखराबाट स्वास्थ्य सेवाको झोला बोकेर हिँडेका टीकाराम अधिकारीले आफ्नो जीवनका ३१ वटा वसन्तहरू यसै क्षेत्रमा होमिसकेका छन्।जब उनी विगतका कठिन दिनहरू र बिरामीले पाएको पुनर्जीवन सम्झन्छन्, उनका आँखामा गर्व र सन्तोष छचल्किन्छ।

सेवाबाट बिदा हुने दिनसम्म मन, वचन र कर्मले समर्पित रहने प्रण गर्ने टीकाराम आज रूपन्देही र समग्र देशका स्वास्थ्यकर्मीहरूका लागि मात्र होइन, आम नागरिकका लागि एक जीवित प्रेरणा हुन्। समय बद्लिँदै जाला, तर पाल्पादेखि रूपन्देहीसम्म उनले कोरेको यो निष्कलंक र भावुक इतिहास सधैं अमर रहनेछ।

अधिकारी स्वास्थ्य कार्यलय रुपन्देहीमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित शिर्षक :