तिलोत्तमामा १५सय६३ किशोरीलाई एचपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा १ हजार ५६३ किशोरीलाई एचपीभी खोप लगाउने तयारी पूरा भएको छ। कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी असोज १२ देखि १५ गतेसम्म खोप अभियान सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

अभियानका लागि नगरपालिकाका १७ वटै वडाका १७ स्वास्थ्य संस्थामार्फत ५३ वटा खोप केन्द्र तोकिएका छन्। अभियानमा ७० जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

खोप अभियानलाई व्यवस्थित बनाउन सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, खोप समन्वय समिति, स्वास्थ्य संस्था प्रमुख तथा वडा तहमा अभिमुखीकरण सम्पन्न गरिएको जनस्वास्थ्य अधिकृत केशव भट्टराईले बताए।

उनका अनुसार खोप लगाएपछि देखिन सक्ने प्रतिकूल घटना (एईएफआई) व्यवस्थापनका लागि डा. प्रतिमा बस्यालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ। आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा तथा रेफरलका लागि अभियान अवधिभर दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।

एचपीभी संक्रमण पाठेघरको मुखको क्यान्सरको प्रमुख जोखिममध्ये एक भएकाले किशोरावस्थामै खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग पुग्ने स्वास्थ्यकर्मीले बताएका छन्।

नगरपालिकाले विद्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्वास्थ्यकर्मीबीच समन्वय गरी लक्षित सबै छात्रालाई खोपको पहुँचमा ल्याउने जनाएको छ।

 

सम्बन्धित शिर्षक :