भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल

गुल्मीको धुर्काेटमा जन्मेर हाल रुपन्देहीको तिलोत्तमा-२ निवासी कृष्ण खनालको उमेर ६८ टेक्न थाल्यो । २०३९ सालमा कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोष्टमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका उनी कमाउँदै पढ्दै गरेर २०५० सालमा एमबीबीएस पास गरी ०५२ सालमा डाक्टरको रूपमा मुस्ताङबाट सेवा सुरु गरेका हुन् ।

२०६० सालमा सर्जनमा एमडी गरेका उनी २०६१ सालदेखि २०७६ सम्म पहिलेको लुम्बिनी अञ्चल अहिले प्रादेशिक अस्पतालमा सेवा गरेर निवृत्त हुन् । खनाल सरकारी सेवाबाट निवृत्त भए पनि निजी अस्पतालमा अहिले पनि पूर्णकालीन रूपमा सेवारत छन् । श्रीमती, एक छोरा र छोरीसहित चारै जना स्वास्थ्य सेवामा रहेको खनाल परिवार सानो भए पनि सबै व्यस्त भएकाले कहिलेकाहीँ धेरै दिनसम्म सबै जनाको भेट नै नहुने अवस्था आउँछ ।

सर्जन भएपछि मेजर अप्रेसनका लागि करिब ४० हजारभन्दा बढी व्यक्तिको शरीर चिरेका डा. खनालको पुरानो पारिवारिक अवस्था, अध्ययन, सरकारी सेवा प्रवेश, आन्तरिक अध्ययनबाट पाएको उपलब्धि, स्वास्थ्य क्षेत्रमा लागेर पाएका मुख्य उपलब्धि र कमजोर पक्ष, परिवार नै स्वास्थ्य क्षेत्रमा रहँदाको अवस्था सबै पठनीय र नयाँ पुस्तालाई महत्त्वपूर्ण सिकाई बन्ने खालका छन् ।

नेपाल प्रेसकर्मीसँग अहिलेसम्म कति जनाको मेजर अप्रेसन भयो भन्ने एकिन तथ्य त उनले भन्न सकेनन् । तर पछिल्लो दुई दशकमा मात्रै करिब ४० हजारभन्दा माथिकै अप्रेसन भएको र साना अप्रेसनको कुनै हिसाब नै नहुने बताए ।

सरकारी अस्पतालमा स्वतथ्यकर्मीलाई काम गर्न टीमवर्क हुने भएकाले सहज हुने तर निजी संस्थामा टीमवर्क कम हुने भएकाले रिस्क पनि बढी हुने उनको बुझाइ छ । अहिले उनी बुटवल अस्पताल प्रालिको मेसु रहेका छन्, जहाँ उनले २० वर्षअघिबाटै सर्जरीको जिम्मेवारी लिएका थिए । सरकारी अस्पतालमा काम गर्दा पनि उनले साँझ बिहान यही अस्पतालमा काम गर्ने गरेका थिए ।

कसरी प्रवेश गरे एचएमा ?

गुल्मीको धुर्कोटबाट २०३२ सालमा एसएलसी पूरा गरेका उनले पाटनबाट आइएस्सी पूरा गरेका हुन् । बीएस्सी पढ्न फाराम भर्न त्रिचन्द्र क्याम्पसतर्फ हिँडिरहेका बेला रणधीर सुब्बाका छोरा भेटिए । उनले पनि आईए्सी सकेको तर बीएस्सी नपढी एचए पढेर डाक्टर पढ्न पाउने योजनासहितको नीति सरकारले ल्याउन लागेको सुनाएपछि उनी पनि त्यतै लागेका रहेछन् ।

रणधीर तत्कालीन समयमा राजदरबारको निकटस्थ भएकाले उनीहरूले बनाएको योजना कार्यान्वयन हुने सुनाएपछि खनाल यो विषय पढ्न राजी भएको तर पछि उनकै छोराको मृत्यु भएपछि त्यो योजना त्यसै हराएकाले आफू एचएमा धेरै समय बिताउनुपरेको बताउँछन् ।

एचए पूरा गरेपछि २०३९ सालमा लोकसेवा पास गरेर कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोस्टमा हाजिर भएर सरकारी सेवामा प्रवेश गरेका हुन्-खनाल । नेपालगन्जबाट हिँडेर ७ दिनमा कालिकोट पुगेका दिनको स्मरण गर्दै उनले भने, ‘सरकारी काम गर्ने भनेपछि जहाँ खटायो त्यहाँ पुग्नुपर्‍यो, कर्णालीमा अहिले त डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी जान मान्दैनन् त्यो समय कस्तो थियो होला । जिल्लाभरमा एकजना डाक्टर हुन्थे सदरमुकाममा त्यो पनि कहिलेकाहीँ बस्ने, सबै एचए, सिएमएले चलाउनुपर्थ्यो । नेपालगन्जबाट सुर्खेत हुँदै हिँडेर ७ दिनमा कालिकोट पुगेको थिएँ । भीरमा बाबियो समातेर जानुपर्ने बाटा थिए ।’

४ वर्ष कर्णालीमा काम गरेका उनले त्यहाँ अप्रेसनबाहेक सबै गर्नुपरेको बताउँछन् । ‘त्यहाँ अरू विकल्प थिएन, हिँडेर नेपालगन्ज पुग्न ७ दिन लाग्थ्यो । बिरामीलाई त कसरी पुर्‍याउनु । त्यो बेलाको दिन सम्झेर अहिले पनि अत्यास लाग्छ’, खनालले त्यहाँ काम गरेको समयको स्मरण गर्दै भने ।

कर्णालीपछि उनको २०४३ सालमा कञ्चनपुरको दहीजी हेल्थपोष्टमा सरुवा भयो । सधैँ दुर्गममा बसेको भनेर त्यहाँबाट सरुवा मागेका खनाललाई पुनः डडेलधुराको अजयमेरु हेल्थपोष्टमा पठाइयो । राजनीतिक रूपमा कम्युनिस्ट नजिक रहेका उनको बोली र शैलीले तत्कालीन शासकहरूले नरुचाएका कारण यस्तो भएको हुनसक्ने उनको आङ्कलन छ ।

‘म कम्युनिस्ट विचारप्रति आस्था राख्थेँ । कसैको थिचोमिचो सहने नभई तुरुन्तै सवाल जवाफ गर्ने भएकाले पनि धेरैलाई चस्को पस्यो होला’, उनले भने । २०४५ सालमा डडेलधुराबाट सरुवा माग्न उनी काठमाडौँ गएका थिए । त्यही समयमा एमबीबीसमा फारम खुलेको सूचना पाएपछि फारम भरेर परीक्षा दिएको नाम निस्क्यो । सँगै सरुवा पनि अर्घाखाँचीको नरपानी हेल्थपोष्टमा भयो ।

उता अध्ययनबिनामा तलब नि पाउने र पढ्न नि पाउने भएपछि उनमा खुसीको सीमा रहेन । नरपानीमा करिब १ महिना हाजिर भएका उनी सहकर्मी साथीको भूगोल मिलाउन गुल्मीको ह्वाङ्दी हुँदै पिपलधारा सरुवा भएर एमबीबीएस अध्ययनको समयभर त्यहीबाट तलब पाए । २०५० सालमा एमबीबीएस सकाउँदा रुपन्देहीको लुम्बिनी पिएससीमा उनको सरुवा भएको थियो ।

डाक्टर पास भए पनि एचएमै उनको दरबन्दी रहेको तर भीम अस्पतालमा जनशक्ति कम रहेकाले काजमा सरुवा भएका थिए । २०५२ को लोकसेवामा डक्टरमा नाम निकालेपछि उनी पुनः मुस्ताङ जानुपर्ने भयो । ‘त्यो समय आफूले एमडी पढ्नका लागि सहज ठाउँ पनि खोज्नुपर्ने थियो र दुर्गम गएपछि नम्बर थप गर्न पनि सहज हुन्थ्यो, सबैको सल्लाहले मैले मुस्ताङ जाने निधो गरेँ, सातौँ तहको भए पनि म जाने बित्तिकै त्यहाँ रहेका जिल्ला जनस्वास्थ्य प्रमुखले कामु दिएर हिँड्नुभयो, प्रशासनसँगै बिरामी हेरेर ४ वर्ष मुस्ताङ बसेपछि ०५६ मा लुम्बिनी अञ्चल अस्पतालमा सरुवा भएँ’ उनले भने –‘मलाई दुर्गमको अनुभव पहिले नै थियो तर थप अध्ययनका लागि सहजता र आर्थिक रूपमा पनि प्लस हुने भएकाले मुस्ताङ रोजेको हुँ ।’

लुम्बिनीमा २ वर्षे सेवा गरेलगत्तै उनले एमडी अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाले । त्यहाँ उनले ६ महिना बिदा कम भएकाले बेतलबी भए पनि अरू तलबी रूपमै अध्ययन गरेको बताउँछन् । उनको अध्ययनकै क्रममा २०५९ सालमा रुपन्देहीको धकधईमा सरुवा भए । २०६० मा एमडी सकाएपछि उनी धकधकमै हाजिर भए र भैरहवाको भीम अस्पताल काजमा बसे ।

‘सर्जनमा एमडी सकाएको मान्छे लुम्बिनी अस्पतालमा जनशक्ति चाहिएको सूचना पाएपछि २०६२ मा सरुवा भयो र २०७६ मंसिरमा त्यहीबाट रिटायर्ड भएँ’, डाक्टर खनालले सुनाए ।

लुम्बिनीमा रहँदा उनले २७ महिना मेसु भएर काम गरे र त्यहाँको आर्थिक अवस्था सुधार्न उल्लेख्य भूमिका खेलेको बताउँछन् । ‘म मेसु हुँदा १ करोड ३८ लाख ऋण थियो, २७ महिना काम गरेर २३ करोड जम्मा गराएको थिएँ । अस्पतालको खातामा, सामान्य सुधार र खर्च कटौतीका काम गरेर यो रकम जम्मा भएको थियो ।

तर इमरजेन्सी र ट्रमाबिन बनाउने सपना भने पूरा गर्न सकिनँ, प्रदेशबाट योजना पास भएको पनि थियो ५२ करोडको त्यो बाँकी रह्यो’, उनले भने, ‘अस्पतालको कर्मचारीको औषधिमा मात्रै ४४ लाख वार्षिक खर्चेको ठाउँमा १२ लाखको बिमा गराएर २८ लाख बचाइयो, रोटरीसँग सहकार्य गरेर सबै अक्सिजन आन्तरिक उत्पादनबाट पूरा गरेर वार्षिक ३७ लाख बचत भयो, पानी र शौचालयको अलग्गै व्यवस्थापन गरेर वार्षिक १२ लाख बचत भयो, यस्तै स्रोतबाट जम्मा भएको थियो । ’

यसरी परिवार नै स्वास्थ्य सेवामा लागे

खनालका बुवा पण्डित हुन् । बुबाआमाका ६ भाइ छोराहरूमध्ये पहिलो र दोस्रो बुबाकै पेसा पछ्याएर संस्कृत अध्ययनमा लागे भने त्यसयताका अङ्ग्रेजी अध्ययनमा लागेका हुन् । कृष्ण ६ भाइमध्ये कान्छा हुन् । उनी माथिका दाइ पनि जनस्वास्थ्य प्रमुख भएर निवृत्त भए ।

त्यसो त कृष्णको आफ्नै परिवार सङ्ख्या ४ जनाको छ । र सबै स्वास्थ्य क्षेत्रमै जोडिएका छन् । उनीसँगै श्रीमती पुतला आचार्य एमएस्सी नर्सिङ अध्ययन गरेकी छिन् । उनी लुम्बिनी अस्पतालमै नर्सिङ सेवामै छन् । छोरा आशिष खनाल एमबीबीएस सकाएर भर्खर लुम्बिनी अस्पतालमै सेवामा प्रवेश गरेका छन् भने छोरी एलिना खनाल पनि आँखाको डाक्टर हुन् ।

‘परिवारको मुख्य मान्छे जता भयो अरूको पनि त्यसै चासो हुने रहेछ । मेरो पनि चाहना सबैले यही सेवा अपनाउन भन्ने थियो, संयोग पनि मिल्यो’, उनले भने, ‘सबै जना फूल टाइम काम गर्नेछौँ, कति दिनसम्म सबै परिवारको भेट नै हुँदैन नि, सरकारी क्षेत्रसँगै सबैले निजीमा पनि काम गर्ने भएकाले खाली समय मिल्दै मिल्दैन अनि ड्युटी समय पनि सबैको अलग अलग हुने भएकाले यस्तो भएको हो ।’

सर्जन हुँदाको सबैभन्दा खुसी र दुःखको स्मरण

स्वास्थ्यकर्मीले कहिले पनि जानेर कमजोरी गर्ने र थालेको काम पूरा नगरी हिँड्नै नमिल्ने उनको बुझाइ छ । त्यसमा पनि सर्जनका लागि अझै बढी जिम्मेवारीसँगै रिस्क पनि हुने उनी बताउँछन् । सरकारी अस्पतालभन्दा त्यस प्रकारको रिस्क निजीमा बढी हुने खनालले बताए ।

‘सरकारीमा टीमवर्कमा काम गर्न पाइन्छ, चापमा काम गर्न पर्दैन । तर निजीमा बढी चाप हुन्छ नै, काम गर्ने टिम पनि कम हुन्छ, अहिले म काम गरिरहेको बुटवल अस्पतालमा १० वर्ष एक्लैले सर्जन चलाएको हुँ, अहिले त टिम छ’, उनले भने । सर्जनको काम थालेपछि ४० हजारभन्दा बढी मेजर अप्रेसनका लागि व्यक्तिका शरीर चिरेको तर माइनरका लागि त्यो भन्दा धेरै सङ्ख्यामा चिर्नुपरेको र अहिले पनि त्यो क्रम निरन्तर चलेको उनी बताउँछन् ।

‘हिजो मात्रै १ सय वर्ष पूरा गरेको बुवाको अप्रेसन गरेँ निकै खुसी लायो, धेरैले अब त आराम गर्नुस् भन्नुहुन्छ । तर मलाई अस्पताल आउन जतिको खुसी केही लाग्दैन, बिरामीलाई खुसी बनाएर पठाउँदा नै आनन्द आउँछ’, उनी भन्छन्, ‘म घरमा पनि बिरुवासँग, जमिनसँग रमाउने खुसी हुने मान्छे हो तर पहिलेबाट बिरामीसँग खेल्ने, बोल्ने बानी परेकाले यहाँ नआउँदासम्म के बिराएँ जस्तो लाग्छ, बाहिर समय नै बिताउन सकिँदैन ।’

उनले अहिलेसम्म गरेको सर्जनमा सबैभन्दा बढी खुसीको अनुभव रोल्पामा एक युवाको अप्रेसनपछि आफैले माया मारेको तर उपचारकै क्रममा ठीक भएर ती बिरामी कोसेली लिएर भेट्न आएको केश स्मरण गर्दछन् । ‘करिब १८ वर्षअघि होला, नाम पनि याद छ त्यो बिरामीको, रोल्पाका अन्तिम घर्तीमगर, सम्भवत १७ वर्षको उपचार गर्न आएका थिए, पेट दुखेर आएका सामान्य नै होला भनेर अप्रेसन सुरु गरेँ, एक्लै थिएँ भित्र आन्द्राहरू सबै कुहिएर पिप बगेको, मलाई सय प्रतिशत उसलाई बचाउन सकिन्छ भन्ने लागेकै थिएन, ती आन्द्राहरू भित्र राखेर फोहोर सफा हुँदैन भनेर धेरै दिन बाहिरै राखेर सफा गराइयो ।

तर कस्तो संयोग उसलाई त बिस्तारै सुधार भएर अचम्मै भयो । विज्ञानलाई पनि चुनौती भयो’, उनले भने, ‘त्यो बाबुको अभिभावकलाई सबै कुरा बताएको थिएँ अवस्थाबारे । तर ठीक भएपछि उनले पछि कोसेली लिएर भेट्न आएको खुसी कहिल्यै बिर्सन सक्दिन, कतिपय अवस्था यस्तो पनि आउने रहेछ ।’

त्यस्तै उनले उपचारका क्रममा अर्को भुल्नै नसकिने नमिठो उदाहरण पनि सम्झेका छन् । लुम्बिनी अस्पतालमा रुपन्देहीको चरङ्गेका बिरामी पेट दुखेर इमरजेन्सीमा भर्ना भए । त्यहाँ रहेका डक्टरले एपेन्डिक्सको आशङ्का गरेर तत्काल अप्रेसनका सिफारिसका लागि पठाएपछि उनी सर्जन रुममा गएर काम सुरु गरे । उनलाई एपेन्डिक्सभन्दा पनि सानो आन्द्रा पूरा बिग्रेर कालो बनेर समस्या रहेछ ।

‘समस्या सानो आन्द्रा पूरा कुहेको रहेछ, जति काटेर आन्द्रा तान्दै गयो सबै कुहिएर कालो भएको भेटिन्छ, त्यो देखेपछि आफ्नो टिममा पनि सल्लाह गरेँ र आफन्तलाई पनि बोलाएर सबै अवस्था देखाइयो, ९ दिनमा उपचारकै क्रममा ती बिरामीको मृत्यु भयो । तर बिरामीका आफन्तले कुकुरको आन्द्रा ल्याएर मिसाए भनेर आन्दोलन गरे । अस्पतालमै हङ्गामा भयो’, उनले भने, ‘काम गर्दा कमजोरी गरेको भए, आफन्तलाई वास्तविकता नदिएको भए के भन्थे होलान् ? त्यति धेरै मेहनत गरेर समन्वयमा काम गर्दा पाएको अपजस सबैभन्दा नमिठो लाग्छ ।’

३७ वर्षको सरकारी सेवामा काम गर्ने दौरानमा उनले धेरै पटक अन्यायको अनुभूति गरे पनि दुर्गममा काम गरेकालाई प्राथमिकता दिने थाइलैण्डको डर्मालोजिष्ट पढ्ने सूचिमा आफ्नो कोटा सुरक्षित भए पनि अन्तिममा हटाइएर अन्याय भएको स्मरण गरेका छन् ।

मंसिरमा ६८ टेक्न आँटेका कृष्ण खनाललाई आफू बुढ्यौली भएको कुनै अनुभूति छैन । तर धेरै शुभेच्छुकले अब आराम गर्नुस् भन्दा साँच्चिकै होला भन्ने लाग्ने बताउँछन् । अहिले पनि दैनिक सर्जन र बुटवलमा निजी क्षेत्रको सबैभन्दा ठूलो जनशक्ति भएको र सेवाग्राही आउने अस्पतालको मुख्य जिम्मेवारीमा रहेका छन् ।

‘म त फूलटाइम अस्पतालमै भेटिन्छु । दैनिक सर्जनको काम गरिरहेको छु । प्रशासनिक जिम्मेवारी पनि छँदै छ । तर शुभेच्छुक, आफन्तले अब आराम गर्नुस् भन्दा साँच्चिकै बूढो भइएछ कि भन्ने लाग्छ । तर अहिले काम छोड्दिन हो’, ठट्यौली पारामा उनले भने, ‘कुनै बलियो रोग लाग्या छैन । बिरामीसँग रमाउने बानी परेको छ । सक्ने बेलासम्म त यही काममै खुसी हुने हो । पैसाभन्दा पनि सेवामा लाग्ने मान्छे हो पहिलेबाट, काम गरेपछि पैसा त आफै आउँछ खोज्दै ।’

पाका र अनुभवी डा. खनालले अहिले भर्खर स्वास्थ्य सेवा छिरेका र अध्ययन गर्दै गरेका पुस्तालाई बढी महत्वाकाङ्क्षी नबन्न आग्रह गरेका छन् । ‘अहिले आएको पुस्तालाई कुनै ठूलो मिहिनेत गर्नुपरेको छैन । स्रोत जुटाउन पनि समस्या झेल्नुपरेन । अभाव भन्ने नै अनुभूत भएन । त्यसैले धेरै सङ्ख्यामा महत्त्वाकाङ्क्षी देखिन्छन् । तर त्यसलाई क्रमिक रूपमा सुधार गरेर लैजानुपर्दछ । तुरुन्तै नतिजा खोज्नेहरूबाट दुःख पाउन सकिन्छ, सङ्घर्षबाट सफलता पाइन्छ भन्ने बुझ्न जरुरी छ’, उनले सुनाए ।

 

 

सम्बन्धित शिर्षक :