भोटेकोशी बाढीको ११औँ दिन दुई जनाको उद्धार, दुवैको स्वास्थ्य अवस्था स्थिर

स्वास्थ्यसमाचार/ रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता अन्दाजी ६० वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा फसेका एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार श्रेष्ठलाई शनिबार नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित चार तले घरबाट हिलोमा थुनिएको अवस्थामा उद्धार गरिएको हो। उद्धारपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत त्रिशूली लगिएको छ।

यस्तै, बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक चिनियाँ नागरिकको पनि सकुशल उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका ती नागरिकलाई उद्धार गरेको हो।

उद्धार गरिएका चिनियाँ नागरिकलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ लगिएको जनाइएको छ। दुवै जनाको उद्धारपछि आवश्यक स्वास्थ्य उपचार तथा परीक्षण भइरहेको छ।

भोटेकोशी बाढी गएको ११औँ दिन टनेलभित्र लामो समयदेखि फसेका चिनियाँ नागरिकको सकुशल उद्धार हुनु उद्धार टोलीका लागि महत्वपूर्ण सफलता मानिएको छ।

सम्बन्धित शिर्षक :