स्वास्थ्यसमाचार/जिल्लाका १२ स्थानीय तहको स्वास्थ्य सेवाको वार्षिक समीक्षामा धुर्कोट गाउँपालिका पहिलो भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले तम्घासमा सोमबार र मंगलबार आयोजना गरेको समीक्षामा धुर्कोटले ८०.२५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहका स्वास्थ्य शाखाले गरेका काम तथा पालिकाको समग्र स्वास्थ्य अवस्थालाई २८ वटा सूचकका आधारमा मूल्यांकन गरिएको थियो। एक सय पूर्णांकमा गरिएको मूल्यांकनमा इस्मा गाउँपालिकाले ८०.०७ अंकसहित दोस्रो र रुरुक्षेत्र गाउँपालिकाले ७९.०४ अंकसहित तेस्रो स्थान हासिल गरेका छन्।
मूल्यांकनमा खोप सेवा, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, क्षयरोग, वित्तीय प्रगति, परिवार नियोजन, पोषणलगायतका सूचक समेटिएका थिए। लुम्बिनी प्रदेशले निर्धारण गरेका सूचकका आधारमा पालिकाले वर्षभर गरेका स्वास्थ्यसम्बन्धी कामको मूल्यांकन गरी अंक प्रदान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कमल गौतमले बताए।
धुर्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले स्वास्थ्य संस्थामा नियमित मासिक बैठक, घुम्ती बैठक तथा तथ्यांकमा आधारित योजना निर्माणले पालिकालाई उत्कृष्ट बनाउन सहयोग गरेको बताए। बैठकमा तथ्यांक फोकल पर्सन, स्वास्थ्य संस्था प्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको सहभागिता र सहयोगबाट भएको बताए।
प्रथम, दोस्रो र तेस्रो भएका पालिकाका स्वास्थ्य संयोजकलाई जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे तथा कार्यालय प्रमुख पुष्पा थापालगायतले सम्मानपत्र प्रदान गरेका थिए।


प्रतिकया दिनुहोस्