ओएनएमकै अड्चनले रोकियो बिजौरी आयुर्वेद चिकित्सालयको ५० शय्या विस्तार

स्वास्थ्यसमाचार/ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार र जनशक्ति विस्तार हुन नसक्दा सेवा प्रभावित भएको छ । ३५ शय्या स्वीकृत रहेको चिकित्सालयमा बिरामीको चाप बढेपछि थप दुई शय्या व्यवस्थापन गरी अहिले ३७ जना बिरामी भर्ना गरेर उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे र स्वास्थ्यसचिव दुर्गालक्ष्मी श्रेष्ठले आइतबार चिकित्सालयको अनुगमन गर्दै सेवा प्रवाह, पूर्वाधार, जनशक्ति, औषधि तथा बजेटलगायत विषयमा जानकारी लिएका छन् ।

चिकित्सालयमा शय्या अभावका कारण पाइल्स, फिस्टुलालगायतका बिरामीले आयुर्वेदको क्षारसूत्र विधिबाट उपचार तथा शल्यक्रियाका लागि काठमाडौं र भारतसम्म जानुपर्ने अवस्था रहेको सूचना अधिकारी बसन्त केसीले बताए । ‘बिरामीको चाप बढेको छ, तर शय्या थप्न सकिएको छैन,’ उनले भने, ‘शय्या खाली नहुँदा कतिपय बिरामीलाई बाहिर जानुपर्ने बाध्यता छ ।’

चिकित्सालयले हाल सञ्चालनमा रहेको ३५ शय्यालाई बढाएर ५० शय्या पुर्‍याउने प्रस्ताव गरेको छ । तर संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत नहुँदा प्रस्तावित शय्या विस्तारसँगै आवश्यक जनशक्ति व्यवस्थापन हुन नसकेको चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तवले बताए ।

उनका अनुसार चिकित्सालयमा ३५ जनाको स्वीकृत दरबन्दीमध्ये ३० पदमा कर्मचारी कार्यरत छन् । त्यसबाहेक विकास समितिमार्फत २५ जना कर्मचारी कार्यरत छन् । ‘बिरामीको संख्या र सेवाको मागअनुसार जनशक्ति बढाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘ओएनएम स्वीकृत भएपछि आवश्यक दरबन्दी कायम गरेर सेवा विस्तार गर्न सहज हुन्छ ।’

चिकित्सालयमा बिरामीको चाप विशेषगरी क्षारसूत्र उपचारतर्फ बढ्दो रहेको जनाइएको छ । पाइल्स र फिस्टुलाका बिरामीका लागि आयुर्वेदमा प्रभावकारी मानिने क्षारसूत्र उपचार सेवा उपलब्ध भए पनि शय्या अभावका कारण सबै बिरामीलाई तत्काल भर्ना गरेर उपचार गर्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ ।

चिकित्सालयको भवन तथा भौतिक पूर्वाधार पनि सेवाको मागअनुसार पर्याप्त नभएको डा. श्रीवास्तवले बताए । ५० शय्या सञ्चालन गर्ने लक्ष्यअनुसार भवन, वार्ड, शल्यक्रिया कक्ष, आवश्यक उपकरण तथा अन्य पूर्वाधार विस्तार गर्नुपर्ने उनको भनाइ छ । ‘अस्पतालको क्षमता बढाउन भवन र पूर्वाधारसँगै जनशक्ति पनि आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि पर्याप्त बजेट व्यवस्थापन हुनुपर्छ ।’

बिरामीको बढ्दो चापसँगै औषधिको मागसमेत बढेकाले नियमित र पर्याप्त औषधि उपलब्ध गराउनुपर्ने चिकित्सालयले जनाएको छ । क्षारसूत्रलगायतका विशिष्ट आयुर्वेदिक उपचारका लागि आवश्यक सामग्री तथा उपकरणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने अस्पताल प्रशासनको माग छ ।

चिकित्सालयका अनुसार पूर्वाधार, औषधि, उपकरण र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट आवश्यक छ । सीमित स्रोतका कारण आवश्यक सेवा विस्तार गर्न कठिनाइ भइरहेकाले आगामी दिनमा चिकित्सालयको क्षमता विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने अस्पताल प्रशासनले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले आयुर्वेदिक उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले चिकित्सालयको क्षमता बढाउन आवश्यक पहल गर्नुपर्ने मागसमेत गरिएको छ । ५० शय्यामा विस्तार गर्न सके दाङसहित लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट आउने बिरामीले स्थानीयस्तरमै गुणस्तरीय आयुर्वेदिक उपचार पाउने चिकित्सालयको अपेक्षा छ ।

सम्बन्धित शिर्षक :