स्वास्थ्यसमाचार/सैनामैना नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको साझेदारीमा शहरी पूर्वतयारी तथा वातावरणीय उत्थानशीलता प्रवर्द्धनसम्बन्धी ‘सुपर–२’ परियोजना सञ्चालन हुने भएको छ।
पहिलो चरणको परियोजनाले प्रभावकारी काम गरेको आधारमा त्यसकै निरन्तरताका रूपमा दोस्रो चरणको परियोजना सुरु गर्न लागिएको हो। सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माको अध्यक्षतामा आयोजित परियोजना परिचयात्मक तथा सम्झौता कार्यक्रममा नगरपालिकाका तर्फबाट नगर प्रमुख शर्मा र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका जिल्ला सभापति रामचन्द्र उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे।
तीन वर्ष सञ्चालन हुने परियोजनामा नेपाल रेडक्रसको तर्फबाट १ करोड ६ लाख ९८ हजार ७ सय ९४ रुपैयाँ र सैनामैना नगरपालिकाबाट ३३ लाख ८० हजार रुपैयाँ गरी कुल १ करोड ४० लाख ७८ हजार ७ सय ९४ रुपैयाँ बराबरको स्रोत परिचालन हुनेछ।
परियोजनाले स्वास्थ्य, खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, शिक्षा र समावेशीकरणलाई प्राथमिकतामा राखेको छ। स्वास्थ्यतर्फ समुदायमा स्वास्थ्य जोखिम न्यूनीकरण, स्वास्थ्यसम्बन्धी सचेतना तथा स्थानीय स्वास्थ्य संरचनाको क्षमता अभिवृद्धिमा काम गरिनेछ। विपद्का बेला स्वास्थ्य सेवा प्रभावित हुन नदिन स्थानीय तह, स्वास्थ्य संस्था, स्वयंसेवक तथा समुदायबीच समन्वय र तयारीलाई समेत बलियो बनाइने परियोजनाले जनाएको छ।
त्यस्तै खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रवर्द्धनमार्फत समुदायमा रोगको जोखिम घटाउने र सुरक्षित स्वास्थ्य वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।
विद्यालयलाई पनि परियोजनाको महत्वपूर्ण क्षेत्रका रूपमा समेटिएको छ। विद्यालयमा विपद् पूर्वतयारी, प्राथमिक उपचार, जोखिम पहिचान तथा सुरक्षित वातावरण निर्माणसम्बन्धी क्षमता अभिवृद्धि गरिनेछ। विद्यार्थी र शिक्षकमार्फत समुदायमा समेत विपद् तथा स्वास्थ्य सुरक्षासम्बन्धी सचेतना विस्तार गर्ने लक्ष्य छ।
परियोजनाले बाढी, डुबान, आगलागी तथा अत्यधिक गर्मीलगायतका जलवायुजन्य जोखिममा पूर्वतयारी र प्रतिकार्य क्षमता विकास गर्नेछ। ‘हिट एक्सन च्याम्पियन टिम’ गठन तथा परिचालनमार्फत गर्मीजन्य स्वास्थ्य जोखिमबारे समुदायलाई सचेत बनाउने योजना पनि छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई समेट्दै समावेशी स्वास्थ्य तथा विपद् व्यवस्थापनमा समेत परियोजनाले जोड दिनेछ। नगरपालिका, स्वास्थ्य संस्था, विद्यालय, रेडक्रस र समुदायबीचको सहकार्यमा सञ्चालन हुने ‘सुपर–२’ ले विपद् आएपछि उद्धार गर्नेभन्दा विपद् आउनुअघि नै स्वास्थ्य तथा अन्य जोखिम न्यूनीकरण गर्ने प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।


प्रतिकया दिनुहोस्