स्वास्थ्यसमाचार/ रुपन्देहीमा विद्यालय उमेरका विद्यार्थी, विशेषगरी किशोरीहरूमा रक्तअल्पता (एनेमिया) उच्च देखिएपछि त्यसको नियन्त्रणका लागि आइरन चक्की वितरण मात्र पर्याप्त नभई पोषण शिक्षा, व्यवहार परिवर्तन र विद्यालय-स्वास्थ्य संस्थाबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीले आयोजना गरेको जिल्लास्तरीय रक्तअल्पता व्यवस्थापन तथा मासिक समीक्षा बैठकमा प्रस्तुत तथ्यांकले जिल्लामा रक्तअल्पता अझै सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा रहेको देखाएको छ।
बैठकमा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८२-८३ मा रुपन्देहीका ११ हजार ४४४ विद्यार्थीको हेमोग्लोबिन परीक्षण गर्दा ४ हजार ३२१ जना (३७.८ प्रतिशत) मा रक्तअल्पता भेटिएको छ। तीमध्ये १ हजार ९८९ जना हल्का, २ हजार २१९ जना मध्यम र ११३ जना गम्भीर रक्तअल्पताबाट प्रभावित छन्। ७ हजार १२३ जना (६२.२ प्रतिशत) विद्यार्थीको अवस्था भने सामान्य रहेको छ।
पालिकागत तथ्यांकले समस्या केही क्षेत्रमा अझ गम्भीर रहेको देखाएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७१.२ प्रतिशत, तिलोत्तमा नगरपालिकामा ५७.१ प्रतिशत र बुटवल उपमहानगरपालिकामा ५१.६ प्रतिशत विद्यार्थीमा रक्तअल्पता देखिएको छ। प्रभावित विद्यार्थी संख्याका आधारमा भने बुटवलमा १ हजार ५९७ र तिलोत्तमामा १ हजार २४३ जना विद्यार्थी रक्तअल्पताबाट प्रभावित रहेको स्वास्थ्य कार्यलयको तथ्याकमा उल्लेख गरिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्षय कुष्ठ अधिकृत टीकाराम अधिकारीले रक्तअल्पता न्यूनीकरणमा पोषणयुक्त खानपानको भूमिकाबारे जानकारी गराउँदै आइरनयुक्त स्थानीय खाद्य पदार्थको नियमित सेवन, हरियो सागसब्जी, गेडागुडी, अण्डा, मासु तथा भिटामिन ‘सी’युक्त फलफूलको प्रयोग बढाउनुपर्ने बताउनुभयो।

उहाँले चिया-कफीको अत्यधिक सेवनले शरीरमा आइरनको अवशोषण घटाउने भएकाले खानपानको बानीमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले प्रस्तुतीकरण गर्दै स्वास्थ्य सूचकहरूको वर्तमान अवस्था, ती सूचकमा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने प्रमुख पक्षबारे जानकारी गराउनुभयो। उहाले रक्तअल्पता न्यूनीकरणका लागि स्वास्थ्य संस्थाले गरेका गतिविधिबारे प्रस्तुतीकरण गर्नुभयो। जोखिममा रहेका किशोरीहरूको समयमै पहिचान, परामर्श, उपचार र नियमित अनुगमनमा विद्यालय तथा स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीकी जनस्वास्थ्य अधिकृत सपना थापाले रुपन्देहीमा रक्तअल्पताको वर्तमान अवस्था, जोखिमका कारण, उपचार तथा व्यवहार परिवर्तनका उपायबारे विस्तृत प्रस्तुतीकरण गर्नुभयो। उहाँले रक्तअल्पता नियन्त्रणका लागि आइरन चक्की वितरणसँगै पोषणयुक्त खाना, नियमित जुकाको औषधि, स्वास्थ्य शिक्षा र अभिभावकको सहभागितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

बैठकमा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्माले केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई आइरन चक्की खरिदसम्बन्धी जिम्मेवारी स्पष्ट गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आइरन केन्द्रबाट आउने हो कि प्रदेशबाट वा स्थानीय तहले खरिद गर्ने हो भन्ने विषय स्पष्ट छैन। बजेट बनाउने बेलामै अन्योल हुने भएकाले कतिपय पालिकामा खरिद प्रक्रिया प्रभावित भएको छ।“
शर्माले रक्तअल्पता न्यूनीकरणका लागि विद्यालयको पाठ्यक्रममै पोषण शिक्षा र स्वस्थ खानपानसम्बन्धी विषयलाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो। व्यवहार परिवर्तन बिना कार्यक्रम प्रभावकारी हुन नसक्ने उहाँको भनाइ थियो।
समापन समारोहमा बोल्दै प्रमुख थापा उमादेवीले रक्तअल्पता नियन्त्रणको सबैभन्दा ठूलो चुनौती नियमित आइरन सेवन गराउनु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “एक दिन आइरन चक्की खुवाउन सजिलो छ, तर दैनिक वा नियमित रूपमा खान लगाउन निकै गाह्रो छ। उपचारमा आइरन किन आवश्यक हुन्छ भन्ने विषय किशोरीलाई बुझाउन अझ चुनौती छ। रक्तअल्पता घटाउन आइरन वितरण मात्र होइन, व्यवहार परिवर्तन पनि आवश्यक छ।“

थापाले विद्यालयका कक्षाकोठामै पोषण, सन्तुलित आहार, एनेमिया के हो, किन हुन्छ, आइरनको आवश्यकता किन पर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा नियमित स्वास्थ्य शिक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो। विद्यालय, स्वास्थ्य संस्था र अभिभावकबीचको सहकार्य बलियो नभएसम्म रक्तअल्पता न्यूनीकरणको लक्ष्य हासिल गर्न कठिन हुने उहाँको भनाइ थियो।
कार्यक्रममा रुपन्देहीका स्वास्थ्य शिक्षा शाखाका प्रमुख, जनस्वास्थ्य अधिकृत, विभिन्न स्थानीय तहका स्वास्थ्य तथा शिक्षा शाखाका प्रतिनिधि, प्रधानाध्यापक, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
बैठकमा जिल्लामा रक्तअल्पता न्यूनीकरणका लागि विद्यालय केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, नियमित अनुगमन गर्ने र व्यवहार परिवर्तनलाई अभियानकै रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।




प्रतिकया दिनुहोस्