स्वास्थ्य परीक्षण बढ्यो, अब व्यवहार परिवर्तनमा जोड दिने पालो

लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवा विस्तारसँगै रोग पहिचान गर्ने परीक्षणको दायरा पनि फराकिलो भएको छ। स्वास्थ्य संस्थाहरूमा सेवा थपिएका छन्, विभिन्न रोगको परीक्षण र उपचारमा नागरिकको पहुँच बढेको छ।

तर रोग लाग्नै नदिने रोकथाम, स्वस्थ जीवनशैलीका लागि आवश्यक जानकारी र नागरिकको व्यवहारमा परिवर्तन ल्याउने स्वास्थ्य शिक्षा र व्यवहार परिवर्तन भने अझै स्वास्थ्य प्रणालीको केन्द्रमा पुग्न सकेको छैन।

स्वास्थ्य शिक्षा भनेको कुनै अभियानका बेला सूचना बाँड्ने वा स्वास्थ्य सम्बन्धी सन्देश दिने काम मात्र नभई नागरिकले आफूलाई लागेको वा लाग्न सक्ने रोगबारे बुझ्ने, जोखिम घटाउने र आफ्नो दैनिक व्यवहारमा परिवर्तन ल्याउने प्रक्रिया हो।

स्वास्थ्य शिक्षाको अन्तिम उद्देश्य नागरिकको ज्ञान, सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु हो।

पाँच लाखको लक्ष्य, चार लाख ६६ हजारको परीक्षण

लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख नागरिकको नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये ४ लाख ६६ हजार १९७ जनाको परीक्षण गरिएको छ। अर्थात् लक्ष्यको ९३.२४ प्रतिशत नागरिक परीक्षणको दायरामा आएका छन्।

तर परीक्षणको संख्या बढ्नु मात्र पर्याप्त उपलब्धि होइन। परीक्षणपछि देखिएको स्वास्थ्य अवस्था र त्यसबाट जोखिम घटाउन भएका थप प्रयास अझ महत्वपूर्ण हुन्छन्।

परीक्षण गरिएकामध्ये करिब ४९% मा उच्च रक्तचापको पूर्वअवस्था देखिएको छ। २३% मा उच्च रक्तचाप, २५% मा मधुमेहको जोखिम, १४% मा मिर्गौला सम्बन्धी समस्या र ४८% मा बढी तौल वा मोटोपन देखिएको तथ्यांकबाट देखिएको छ।

यी तथ्यांकले लुम्बिनीमा नसर्ने रोगको जोखिम गम्भीर बन्दै गएको देखाउँछन्।अब प्रश्न केवल कति जनाको स्वास्थ्य परीक्षण भयो भन्ने होइन। जोखिम पहिचान भएका नागरिकको जीवनशैलीमा कस्तो परिवर्तन आयो भन्ने पनि महत्वपूर्ण प्रश्न हो।

यदि परीक्षणपछि नागरिकले खानपानमा सुधार गरेनन्, शारीरिक गतिविधि बढाएनन्, नियमित स्वास्थ्य जाँच गराएनन् र आवश्यक उपचार तथा परामर्श लिएनन् भने परीक्षणले मात्र रोगको भार घटाउन सकिदैन।

परीक्षणपछि सुरु हुन्छ अर्को काम

स्वास्थ्य परीक्षण रोगको जोखिम पहिचान गर्ने पहिलो खुड्किलो हो। त्यसपछि आवश्यक उपचार, परामर्श र निरन्तर अनुगमनको चरण सुरु हुन्छ।

कसैमा रक्तचाप बढेको देखियो भने औषधि सेवन आवश्यक पर्न सक्छ। तर औषधिसँगै नुनको मात्रा कम गर्ने, नियमित हिँडडुल तथा व्यायाम गर्ने, तौल नियन्त्रण गर्ने, धूमपान तथा मदिरा सेवनबाट टाढा रहने र स्वस्थ खानपान अपनाउने विषयमा परामर्श पनि आवश्यक हुन्छ।

मधुमेहको जोखिम देखिएको व्यक्तिका लागि पनि यही कुरा लागू हुन्छ। परीक्षणको नतिजा दिएर मात्र जिम्मेवारी पूरा हुँदैन। उसले त्यसपछि के गर्ने भन्ने जानकारी र निरन्तर सहयोग आवश्यक रहन्छ।

त्यसैले अब स्वास्थ्य सेवामा परीक्षण, परामर्श, अनुगमन र सामाजिक तथा व्यवहार परिवर्तनलाई एउटै प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।

अस्पतालबाट होइन, घरबाट सुरु हुन्छ रोकथाम

नेपालमा स्वास्थ्यसम्बन्धी बहस प्रायः अस्पताल, चिकित्सक, औषधि र उपचार सेवाको वरिपरि घुम्ने गरेको छ। तर नसर्ने रोगको ठूलो हिस्सा नागरिकको दैनिक जीवनशैली तथा खानपानसँग जोडिएको हुन्छ।

घरमा कस्तो खाना पकाइन्छ, कति नुन र चिनी प्रयोग गरिन्छ, बालबालिकाले कति समय मोबाइल चलाउँछन्, मानिस कति हिँड्छन्, धूमपान गर्छन् कि गर्दैनन्, मदिरा कति सेवन गर्छन्—यी सबै स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन्।

त्यसैले स्वास्थ्य शिक्षा अस्पताल बाट मात्र सञ्चालन हुने विषय नभई घर, विद्यालय, कार्यस्थल र समुदायबाट हुनुपर्ने विषय हो।

शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चार माध्यम र समुदाय लाई जोडेर स्वास्थ्य शिक्षा सञ्चालन गर्न सके यसको प्रभाव दीर्घकालीन हुन सक्छ।

मातृस्वास्थ्यमा उपकरणसँगै शिक्षा

लुम्बिनी प्रदेशले मातृ तथा नवजात स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

उच्च मातृ मृत्युदर भएका २६ स्थानीय तहलाई लक्षित गरी १२ करोड ७४ लाख रुपैयाँको कार्यक्रम सञ्चालन गरिएको छ। त्यसबाट करिब २७ हजार ६ सय आमालाई लक्षित गरिएको छ।

त्यस्तै १२ जिल्लाका १०५ स्थानीय तहमा पोर्टेबल अल्ट्रासाउन्ड सेवा विस्तार गरिएको छ।गर्भावस्थामा जोखिम पहिचान गर्न यस्ता उपकरण महत्वपूर्ण छन्। तर उपकरणले मात्र मातृ मृत्युदर घटाउँदैन।

गर्भवती महिलाले समयमै स्वास्थ्य परीक्षण गराउने, गर्भावस्थाका जोखिमका संकेतबारे जानकार हुने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने र सुत्केरी पछि आवश्यक हेरचाह गर्ने व्यवहार विकास गर्नु पनि उत्तिकै आवश्यक हुन्छ।

त्यसैले मातृ स्वास्थ्यमा पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ।

सुधारका तथ्यांकसँगै चुनौती

लुम्बिनीमा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ बाट १६ मा झरेको छ। पाँच वर्षमुनिका बालबालिका को मृत्युदर पनि ४० बाट २९ मा आएको तथ्यांक छ।

स्तनपानको अवस्था पनि प्रदेशमा तुलनात्मक रूपमा राम्रो छ। लुम्बिनीमा ८१.५ प्रतिशत आमाले स्तनपान गराउने तथ्यांक छ भने राष्ट्रिय अवस्था ६९.७ प्रतिशत रहेको छ।

यी उपलब्धि महत्वपूर्ण छन्। तर यिनलाई निरन्तर दिन स्वास्थ्य शिक्षा आवश्यक हुन्छ।

बालबालिकाको पोषण, स्तनपान, पूरक आहार, खोप, सरसफाइ र बाल हेरचाहका विषयमा परिवारलाई निरन्तर जानकारी दिन सकिएन भने विगतका उपलब्धि कमजोर हुन सक्छन्।

अभियान सकिएपछि के हुन्छ?

डेंगु नियन्त्रणदेखि क्षयरोग, कुष्ठरोग, एचपीभी खोप, पोषण र नसर्ने रोगसम्म विभिन्न स्वास्थ्य अभियान सञ्चालन भइरहेका छन्।

अभियान आवश्यक छन्, तर अभियान सकिएपछि नागरिकको व्यवहारमा कस्तो परिवर्तन आयो भन्ने प्रश्न अझ महत्वपूर्ण छ।

डेंगु फैलिएका बेला लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाउन सकिन्छ। तर घरवरपर पानी जम्न नदिने बानी विकास गराउनु अझ दिगो रोकथाम हो।

त्यस्तै नसर्ने रोगको परीक्षण गरेर जोखिम पहिचान गर्नु आवश्यक छ, तर परीक्षणपछि जीवनशैली परिवर्तन गर्न प्रेरित गर्न सकिएन भने जोखिम कायमै रहन्छ।

त्यसैले स्वास्थ्य शिक्षाको सफलता कार्यक्रमको संख्या गनेर होइन, नागरिक को व्यवहारमा आएको परिवर्तनबाट मापन गर्नुपर्छ।

स्वास्थ्य शिक्षालाई स्थानीय तहसँग जोड्नुपर्छ

लुम्बिनीका सबै स्थानीय तहको स्वास्थ्य अवस्था एउटै छैन। कतै नसर्ने रोगको जोखिम बढी हुन सक्छ, कतै मातृ स्वास्थ्यको चुनौती गम्भीर हुन सक्छ भने कतै बाल स्वास्थ्य र पोषण मुख्य समस्या हुन सक्छ।

त्यसैले सबै स्थानीय तहमा एउटै स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्नुको सट्टा स्थानीय अवस्था तथा आवश्यकतानुसार कार्यक्रम तय गर्न आवश्यक छ।

कुन क्षेत्रमा उच्च रक्तचाप बढी छ? कहाँ मधुमेहको जोखिम धेरै छ? कुन समुदायमा मातृ स्वास्थ्यसम्बन्धी समस्या बढी छन्?

कुन विद्यालयमा किशोरकिशोरीका लागि पोषण तथा प्रजनन स्वास्थ्य शिक्षा आवश्यक छ?यस्ता प्रश्नको तथ्यांकमा आधारित उत्तर खोजेर स्वास्थ्य शिक्षा सञ्चालन गर्न सके कार्यक्रम अझ लक्षित र परिणाममुखी हुन सक्छ।

अब स्वास्थ्य शिक्षा तथा सामाजिक व्यवहार परिवर्तनलाई मूलधारमा ल्याउने बेला

लुम्बिनीमा अस्पताल, स्वास्थ्य संस्था, उपकरण र उपचार सेवा विस्तार भइरहेका छन्। यो आवश्यक पनि छ। तर उपचार सेवा विस्तारसँगै रोगको रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई पनि समान महत्व दिनुपर्ने अवस्था आएको छ।

नसर्ने रोगको बढ्दो जोखिमले यसको संकेत गरिसकेको छ।स्वास्थ्य शिक्षा अब स्वास्थ्य संस्थाको एउटा कार्यक्रम मात्र भएर पुग्दैन। यसलाई प्रदेशको स्वास्थ्य नीति, स्थानीय तहको योजना, विद्यालयको शिक्षा प्रणाली र समुदायको दैनिक जीवनसँग जोड्नुपर्छ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सामुदायिक स्वास्थ्यकर्मीलाई नागरिक को व्यवहार परिवर्तनमा थप प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ। सञ्चारमाध्यम मार्फत पनि रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिने विषयलाई प्राथमिकता दिन सकिन्छ।

अन्ततः स्वास्थ्य प्रणालीको सफलता अस्पतालमा कति बिरामी आए भन्नेले मात्र मापन हुँदैन। कति रोग समयमै पहिचान भए, कति जोखिम घटे, कति मानिसले आफ्नो जीवनशैली बदले र कति परिवारले स्वस्थ व्यवहार अपनाए

यी प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्। लुम्बिनीले स्वास्थ्य परीक्षणको पहुँच विस्तार गरेको छ। अब त्यसबाट देखिएका जोखिमलाई घटाउने अर्को चरण सुरु गर्नुपर्ने बेला आएको छ।

 लेखक पाण्डे स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित शिर्षक :