स्मृतिको ओझेल पर्दा: कुहिरोको देशमा हराउँदै गरेका आमा बुबाहरू

“स्मृति नै मानिसको अस्तित्वको जग हो। जब यो जग नै भत्किन थाल्छ,मानिस जीवित त रहन्छ, तर आफ्नै पहिचानको भूगोलभित्र एउटा अपरिचित शरणार्थी बन्न पुग्छ।”

यो कथा र व्यथा केवल एक काल्पनिक पात्र हरिप्रसादको मात्र होइन। यो त आज हाम्रा घर-आँगनमा पाकेका कपाल, चाउरिएका गाला र धुमिल आँखाहरू बोकेर अनन्त कुहिरोको देशमा हराउँदै गरेका हजारौँ बुबाहरूको वास्तविक महाख्यान हो।

एउटा गतिशील र सम्मानित जीवन कसरी बिस्तारै विस्मृतिको अँध्यारो गल्छीमा खस्छ र अन्ततः मौनताको महासागरमा विलीन हुन्छ भन्ने यथार्थलाई बुझ्न यसका सात चरणहरू र यसले समाजलाई दिएको गम्भीर चेतावनीलाई गहिराइबाट नियाल्नुपर्छ।

खण्ड १: विस्मृतिको महायात्रा – सात चरणको कहालीलाग्दो ऐना

चरण १: सफा आकाश (कुनै संज्ञानात्मक ह्रास नभएको अवस्था / No Cognitive Decline) त्यो बेला हरिप्रसादको मस्तिष्कको आकाश हिमालको काख जस्तै सफा थियो। नीलो, कञ्चन र बादलको एउटा सानो टुक्रासम्म नभएको खुला क्षितिज जस्तै। ७० वर्षको बैँसमा पनि उनी गाउँको स्थानीय क्लबका अध्यक्ष थिए।

गाउँमा कसको विवाह कहिले भयो, कुन जग्गाको सिमाना कहाँ निर छ, र समाजको विकास बजेटको हिसाबकिताब कति हो—सबै कुरा उनको मस्तिष्कको अदृश्य डायरीमा स्वर्ण अक्षरमा सुरक्षित रहन्थे। बिहान ठिक ५ बजे ओछ्यान छाड्नु, कसलाई कस्तो आदर-सत्कार गर्नु र बैठकमा कसरी कडा निर्णय लिनु, उनी सामाजिक मर्यादाका प्रतीक थिए।

तर, उनी र उनको परिवार पूर्ण रूपमा अञ्जान थे कि यही सफा आकाशमुनि, उनको मस्तिष्कको भित्री कोषहरूमा ‘एमाइलोइड’ (Amyloid) र ‘टाउ’ (Tau) नामका जैविक शत्रुहरूले बिस्तारै आफ्नो विषालु जालो बुन्न सुरु गरिसकेका थिए। यो अवस्थामा बाहिर न कुनै लक्षण देखिन्थ्यो, न त कुनै व्यवहारिक धमिलोपन नै थियो। जीवनको सामाजिक र पारिवारिक उत्सव सामान्य रूपमा चलिरहेकै थियो, जसलाई चिकित्सा विज्ञानले कुनै बाह्य ह्रास नदेखिएको पहिलो प्रारम्भिक चरण मान्दछ।

चरण २: भुइँकुहिरोको पहिलो स्पर्श (अति हल्का ह्रास – उमेर अनुसारको विस्मृति / Very Mild Decline)

समयको अदृश्य पाङ्ग्रा आफ्नै गतिमा घुमिरह्यो। एकदिन चिसो मौसमको बिहानीमा हरिप्रसाद बैठक कोठामा बसेर चस्मा खोज्न थाले। उनी आत्तिए, टेबुलका दराजहरू पल्टाए, पुस्तकका पानाहरू उघारे। तर, चस्मा त उनकै निधारमा अडिएको थियो। कहिलेकाहीँ वर्षौंदेखि चिनिएको, सँगै हुर्किएको छिमेकी आँगनमा आउँदा उनको नाम जिब्रोको टुप्पोमा आएर अड्किन्थ्यो, बाहिर निस्कँदैनथ्यो।

उनले एक साँझ भान्साको डिलमा बसेर अलि चिन्तित हुँदै भने, “बुढी, अचेल त मन अलि अल्मलिन्छ, सामान राखेको ठाउँ ठ्याक्कै बिर्सिन्छु।” श्रीमतीले गुन्युको सप्कोले आँसु पुछ्दै हाँसेर टारेकी थिइन्, “उमेर भएपछि अलिअलि त भइहाल्छ नि, घरव्यवहारको धेरै सोचेर होला, अरू केही होइन।” छिमेकी, परिवार र डाक्टर कसैले पनि यसलाई रोग ठानेनन्। यो त बुढ्यौलीको एउटा स्वभाविक पाटो जस्तै लागेर सबैले बेवास्ता गरिदिए। भुइँकुहिरोले उनको गोडामा पहिलो स्पर्श गरिसकेको थियो, तर यो केवल उमेरजन्य विस्मृति मात्र हो भन्ने भ्रममा समाज निदाइरह्यो।

चरण ३: गोधूलि साँझको अलमल (हल्का ह्रास – Mild Cognitive Impairment)

बिस्तारै दिन ढल्दै गयो र हरिप्रसादको जीवनमा गोधूलि साँझको धमिलोपन छायो। अब समस्याहरू लुक्न सक्ने अवस्थामा थिएनन्। छोराले बजारबाट फर्किँदा ल्याउन भनेका तीनवटा सामान्य सामानमध्ये उनी एउटा सधैं बिर्सन्थे। उनी एउटै प्रश्न—”बाबु, आज महिनाको कति गते हो?”—छोरालाई आधा घण्टाभित्रै चार पटक सोधिसक्थे। छोरो झर्किन्थ्यो, “भर्खर त भनेँ बा, कति सोध्नुभएको?” तर हरिप्रसादको मस्तिष्कमा त्यो सूचना एक मिनेट पनि टिक्दैनथ्यो।

गाउँको जटिल हिसाबकिताब गर्दा अङ्कहरू भद्रगोल हुन थाले। ७ र ९ को फरक छुट्टिन छाड्यो। उनले बिस्तारै आफ्नो पुरानो डायरी लुकाउन र मानिसहरूका अगाडि लेख्न छाडे, किनकि उनलाई शब्दहरू निर्माण गर्न र सही अर्थ खोज्न निकै गाह्रो हुन थालेको थियो। बाहिर हेर्दा उनी अझै स्वतन्त्र जस्तै देखिन्थे, आफ्नै खुट्टामा हिँड्थे, तर उनको भित्री मनमा एउटा गहिरो, अज्ञात चिन्ता र आत्मसम्मान गुम्ने डरले बलियो डेरा जमाउन थालिसकेको थियो। यो चरणमा आएर बिरामीको मानसिक अलमल र भित्री छटपटी अझ प्रस्ट रूपमा सतहमा आउन थाल्छ।

चरण ४: हुरीको सुरुवात (मध्यम ह्रास – हल्का डिमेन्सिया / Moderate Decline)

त्यो दिन हरिप्रसादका लागि एउटा ठूलो धक्का बन्यो। उनी आफ्नो वृद्धभत्ता बुझ्न बैंक गए तर पैसा निकाल्ने साधारण फर्म भर्नै सकेनन्। कलम समातेको हात काँप्यो, अक्षरहरू अक्षर जस्ता रहेनन्। उनी अपमानित महसुस गर्दै रित्तो हात घर फर्किए। अब उनलाई घरको बिजुलीको बिल तिर्न, तरकारी बजारमा मोलतोल गर्न र साँझको खानामा के पाक्दैछ भन्ने कुराको योजना बनाउन असम्भव जस्तै भयो। हिजो बेलुका घरमा को पाहुना आएका थिए र उनले के कुरा गरेका थिए, आज बिहान उनको स्मृतिबाट त्यो पाना पूरै च्यातिएको हुन्थ्यो।

जब छोराले चिन्तित हुँदै डाक्टरकहाँ परीक्षणका लागि लैजाने कुरा गर्‍यो, हरिप्रसाद एक्कासि जंगिए, “मलाई केही भएको छैन! तिमीहरू मलाई बहुला र पागल बनाएर यो सम्पत्ति हडप्न खोज्दैछौ!” आफ्ना यी अनौठा कमजोरीहरू समाजले थाहा नपाओस् भनेर उनी बिस्तारै मानिसहरूबाट टाढिन थाले, आफ्नै अध्याँरो कोठाभित्र गुम्सिन थाले।

वास्तवमा, यो त्यो चरण हो जहाँ बिरामीले आफ्ना मानसिक कमजोरी लुकाउन आक्रोश र संशयको सहारा लिन्छ, जसलाई परिवारले अनादर ठानेर मन दुखाउने गर्छन्। तर चिकित्सकको क्लिनिकमा पुगेपछि जाँचपश्चात् डाक्टरले टोपी सुम्सुम्याउँदै परिवारलाई गम्भीर स्वरमा भने—”उहाँलाई ‘अल्जाइमर्स डिमेन्सिया’ भएको हो, अब मानसिक हुरी सुरु भयो।”

चरण ५: बाटो बिर्सिएको यात्री (मध्यम रूपमा गम्भीर ह्रास – मन्द डिमेन्सिया / Moderately Severe)

अब हरिप्रसादको संसार उनको कोठा र आँगनको सानो घेराभित्र मात्र साँघुरो भयो। उनी आफ्नै घरभित्र बाटो बिर्सने यात्री बनेका थिए, जहाँ समय, स्थान र आत्म-पहिचानको भूगोल पूर्ण रूपमा विलोप भइसकेको थियो। एकदिन बिहान उनी कट्टुमाथि औपचारिक कोट र टाई लगाएर बजार निस्कन लागे। जाडो महिनाको कठ्याङ्ग्रिने बिहानीमा उनी पातलो सुतीको कपडा रोज्थे, त कहिले जेठ-असारको रापिलो गर्मीमा सिरक ओढेर पसिना-पसिना भई बस्थे।

उनलाई कुन कपडा कतिखेर लगाउने भन्ने मौसम र समयको ज्ञान पूर्ण रूपमा हराइसकेको थियो।उनले आफ्नो वर्षौंदेखिको घरको ठेगाना, आफ्नै मोबाइल नम्बर र पुराना साथीहरूको अनुहार बिर्सिए। एकदिन कोठाको ऐनामा हेरेर उनी आफ्नै प्रतिविम्बसँग ठूलो स्वरले रिसाउँदै चिच्याए, “यो को हट्टाकट्टा मान्छे मेरो कोठामा जबरजस्ती पस्यो?

यसलाई बाहिर निकाल!” ५० वर्षसम्म सुख-दुःखमा साथ दिएकी श्रीमतीलाई उनले ‘आमा’ भनेर बोलाउन थाले। शंका, भय र आक्रोश उनको दैनिक स्वभाव बन्यो। उनलाई प्रत्येक गाँस खुवाउन, शौचालय लैजान र कपडा फेर्न २४ सै घण्टा एउटा छाया जस्तै सहयोगीको हात अनिवार्य भयो।

चरण ६: निष्पट्ट अँध्यारो रात (गम्भीर ह्रास – मध्यम रूपमा गम्भीर डिमेन्सिया / Severe Decline)

यो चरणसम्म आइपुग्दा हरिप्रसादको जीवनको आकाशमा निष्पट्ट अँध्यारो रात परिसकेको थियो। उनले आफ्नै कोखबाट जन्मेका छोराछोरीलाई समेत चिन्न छाडे। अमेरिकाबाट बुबालाई हेर्न आएको छोरो अगाडि उभिएर “बाबा म आएँ” भन्दै रुँदा, हरिप्रसाद केवल टोलाएर हेरिरहन्थे, मानौँ उनको अगाडि कुनै सात समुद्र पारिको अपरिचित विदेशी उभिएको छ। उनले लुगा कसरी लगाउने भन्ने प्रक्रियाको क्रम नै बिर्सिए—भिटामिनको गोलो बट्टालाई जुत्ता सम्झेर गोडामा घुसार्न खोज्थे।

नुहाउन बाथरूम लैजाँदा पानीको तातो-चिसो महसुस गर्ने क्षमता हराएकाले उनी छाला डढ्ने पानीमा पनि अचल बस्थे त कहिले सामान्य पानी देख्दा पनि बाघ देखेजस्तै आत्तिएर कराउँथे। बिस्तारै उनको दिसा-पिसाबमाथिको शारीरिक नियन्त्रण पनि गुम्यो। उनी राती सबै सुतेपछि उठेर बिना उद्देश्य कोठाभरि यताउता भट्किरहन्थे, कसैले नबुझ्ने भाषामा बर्बराउँथे, र कहिलेकाहीँ अतितका पुराना धुमिल सम्झनाका केही टुक्राहरू कतै ठोक्किँदा भक्कानिएर रुन्थे। उनको सञ्चारको भाषा अब पूर्ण रूपमा टुटिसकेको थियो र चेतनाको त्यान्द्रो एकदमै कमजोर बनेको थाल्यो।

चरण ७: मौनताको महासागर (अति गम्भीर ह्रास – गम्भीर डिमेन्सिया / Very Severe Decline)

अन्ततः हरिप्रसाद मौनताको त्यो अनन्त महासागरमा पुगे, जहाँबाट शब्दहरू कहिल्यै फर्किएर आउँदैनन्। उनको ओठबाट निस्कने बोली अब केवल एउटा वा दुईवटा अस्पष्ट र अर्थहीन ध्वनिमा सिमित भयो—”पानी… उ… अहँ…”। बिस्तारै उनको शरीरको मांसपेशी कडा र काठको मुडों जस्तै हुँदै गयो। उनी ओछ्यानबाट आफैं उठ्न नसक्ने भए; त्यसपछि बस्न पनि दुई जनाको सहारा चाहियो, र अन्त्यमा सिरानीबाट टाउको समेत उठाउन नसक्ने गरी ओछ्यान परे।

मस्तिष्कका ती कोषहरू जसले खान कसरी निल्नुपर्छ र कसरी चपाउनुपर्छ भनेर निर्देशन दिन्थे, तिनीहरू पनि मृत भइसकेका थिए। उनलाई चम्चाले पातलो लिटो खुवाउँदा पनि घाँटीमा अड्किन्थ्यो र खोकी लाग्थ्यो। यही अन्तिम चरणको एक उदास साँझ, निल्न नसकेकै कारण खाना र तरल पदार्थ फोक्सोको नलीमा पुगेर उनलाई ‘एस्पिरेशन निमोनिया’ (Aspiration Pneumonia) भयो। हरिप्रसादले कुनै गुनासो बिना, अत्यन्तै शान्तसँग आफ्ना गहिरा आँखाहरू चिम्ले। उनको मस्तिष्कको त्यो अथाह कुहिरो सधैंका लागि हट्यो, र उनी अनन्तको एउटा महायात्रामा विलीन भए।

खण्ड २: सामाजिक ऐना र वर्तमान चेतावनी: हामी कता जाँदैछौँ?

हरिप्रसाद त भौतिक रूपमा यो संसारबाट बितेर गए, तर उनी जस्ता हजारौँ ‘हरिप्रसादहरू’ आज हाम्रै घरको माथिल्लो कोठामा, छिमेकको ओछ्यानमा र वृद्धश्रमका कुनाहरूमा स्मृतिको यो अत्यन्तै कहालीलाग्दो र एकाकी लडाईं लडिरहेका छन्।

१. समस्या कति विकराल छ? (दशा र दिशा)

नेपालमा चिकित्सा विज्ञानको विकाससँगै मानिसको औसत आयु त बढेको छ, तर आधुनिक, व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण डिमेन्सियाको समस्या एउटा अदृश्य र मौन महामारीका रूपमा फैलिरहेको छ। हाम्रो परम्परागत संयुक्त परिवार (Joint Family) को ढाँचा, जहाँ हजुरबुबाहरू नातिनातिनासँग खेलेर, कथा सुनाएर र गफिएर आफ्नो मस्तिष्कलाई निरन्तर सक्रिय राख्थे, त्यो सुन्दर सामाजिक प्रणाली अहिले आधुनिकताको नाममा भत्किएर एकल परिवार (Nuclear Family) मा परिणत भएको छ।

यसको प्रत्यक्ष असर हाम्रा बुबाहरूमा परेको छ। युवा पुस्ता रोजगारी र उच्च शिक्षाका लागि विदेश पलायन हुँदा ज्येष्ठ नागरिकहरू घरका चार पर्खालभित्र टिभी हेरेर वा शून्यतालाई नियालेर चरम एक्लोपनको सिकार भइरहेका छन्। यो मानसिक एक्लोपन र संवाधहीनताले डिमेन्सियाको गतिलाई झनै तीव्र बनाइदिएको छ।

यससँगै हाम्रो समाजमा अर्को ठूलो अज्ञानताको साङ्लो छ। नेपाली ग्रामीण समाजमा अझै पनि यो रोगलाई “बुढो भएर बहुलाएको”, “सत्केको”, “मतिभ्रष्ट भएको” वा “बोक्सी र भूत लागेको” भन्दै कोठामा थुन्ने, जन्तर बाँध्ने वा निको पार्न धामीझाँक्रीकहाँ लैजाने अन्धविश्वास व्याप्त छ। यही सामाजिक अज्ञानता र चेतनाको अभावका कारण बिरामीले समयमै उचित उपचार र सम्मान पाउनुको साटो अपहेलना भोग्नुपर्छ, जसले गर्दा अन्तिम अवस्थामा पुग्दा मात्र रोगको पहिचान हुन्छ।

खण्ड ३: हाम्रो दायित्व – अब हामीले के गर्ने?

यो विकराल बन्दै गएको परिस्थितिलाई रोक्न, रोगीहरूको संख्या कम गर्न र पीडितहरूलाई सम्मानजनक जीवन दिन हामीले व्यक्ति, परिवार र राज्यको स्तरबाट तत्काल यी कदमहरू चाल्नुपर्छ:

• अन्धविश्वास तोडौँ (बृहत् जनचेतना): बिर्सने बानी, व्यवहारमा अचानक आउने परिवर्तन, शङ्कालु स्वभाव वा कपडा उल्टो लगाउनु बुढ्यौलीको सामान्य नियम वा पागलपन होइन; यो मुटुको रोग जस्तै मस्तिष्कको एउटा भौतिक रोग हो भन्ने कुरा समाजका हरेक तह, विद्यालय र रेडियो-टेलिभिजनमार्फत बुझाउनु आवश्यक छ।

• समयमै चिकित्सककहाँ पुर्‍याऔँ (Early Detection): यदि हामीले हाम्रा आमाबुबामा रोगको पहिलो वा दोस्रो चरणमै लक्षणहरू पहिचान गरेर न्यूरोलोजिस्ट वा साइक्याट्रिस्ट(मानसिक रोग विशेषज्ञ) कॅहा पुर्‍याउन सक्यौँ भने, सही औषधि, संज्ञानात्मक थेरापी (Cognitive Therapy) र सही जीवनशैलीका माध्यमबाट यसको तीव्र गतिलाई धेरै वर्षसम्म पर सार्न सकिन्छ।

• हेरचाहकर्ता (Caregivers) लाई राज्य र समाजको साथ: डिमेन्सियाका बिरामीको सेवा गर्दागर्दै घरका सदस्यहरू (विशेषगरी श्रीमती वा छोराछोरी) २४ सै घण्टाको तनावले गर्दा आफैं गम्भीर डिप्रेसन र मानसिक रोगको सिकार हुने गर्छन्। उनीहरूलाई मानसिक परामर्श, आर्थिक सहयोग र केही समयको आराम दिन टोल-छिमेक र स्थानीय सरकारले ‘डे-केयर सेन्टर’ (दिवा सेवा केन्द्र) र विश्राम सेवा (Respite Care) भन्नाले बिरामी, अशक्त वा वृद्ध व्यक्तिको नियमित हेरचाह गर्ने मुख्य व्यक्तिलाई आराम वा केही समयको लागि राहत दिनको लागि प्रदान गरिने अस्थायी वा छोटो अवधिको हेरचाह सेवा जस्ता सुविधाहरू निःशुल्क उपलब्ध गराउनुपर्छ।

• सुरक्षित र मायालु भौतिक वातावरण: डिमेन्सियाका बिरामीहरू घरको ढोका खोलेर बाहिर निस्किएपछि फर्कने बाटो बिर्सेर हराउने जोखिम अत्यन्तै उच्च हुन्छ। त्यसैले, उनीहरूको खल्तीमा वा हातमा नाम, ठेगाना र आकस्मिक फोन नम्बर लेखिएको परिचयपत्र वा कतारी (ID Band/GPS Tracker) अनिवार्य रूपमा राखिदिने गरौँ। घरभित्र उनीहरू हिँड्ने ठाउँमा तिखा कुनाहरू र लड्ने खालका अवरोधहरू हटाएर ‘फ्रेन्डली वातावरण’ निर्माण गरौँ।

लेख को चुरोः
याद राखौँ, डिमेन्सिया भएका व्यक्तिहरूले आफ्नो गौरवमय विगत, आफ्नो ठेगाना र सायद हाम्रो नाम समेत बिर्सिएका होलान्। तर, प्रेम, आदर, करुणा र स्पर्शको भाषा भने उनीहरूको आन्तरिक मनले अन्तिम श्वास र अन्तिम धड्कनसम्म बुझिरहेको हुन्छ।

उनीहरूलाई हाम्रो रिस, झर्को वा उपेक्षा होइन; असीम धैर्यता, करुणा र आत्मियताको खाँचो छ। आज हामीले हाम्रा असहाय बुबाहरूलाई दिने सम्मान र सुरक्षा नै भोलि परिवर्तनशील समयको चक्रमा हाम्रो आफ्नै बुढ्यौलीको सुरक्षा कवच बन्नेछ। कुहिरोमा हराउँदै गरेका ती आमा बुबा हरूको हात दरोसँग समातौँ, किनकि उनीहरूले हिँडेको बाटोमा भोलि हामी पनि हिँड्नुपर्नेछ।

-मनको गोठालो
बुटवल

सम्बन्धित शिर्षक :