अस्पतालको शल्यकक्ष बाहिर परिवारका सदस्यहरूको अनुहारमा चिन्ता स्पष्ट देखिन्छ। दुर्घटनामा गम्भीर घाइते भएर ल्याइएका कतिपय बिरामी हिँड्न सक्ने कि नसक्ने भन्ने अन्योलमा हुन्छन्। केही घण्टापछि शल्यक्रिया सफल भएको खबरसँगै परिवारको अनुहारमा मुस्कान फर्किन्छ।
केही दिनपछि त्यही बिरामी आफ्नै खुट्टामा टेकेर अस्पतालबाट घर फर्किन्छ। यही क्षण डा. युधिष्ठि राज खड्काका लागि चिकित्सकीय जीवनको सबैभन्दा ठूलो पुरस्कार हो।“बिरामी फेरि सामान्य जीवनमा फर्किएको देख्नु, आफ्नै खुट्टामा हिँडेर घर गएको देख्नु र परिवारको अनुहारमा खुसी देख्नु नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो,“ उनी भन्छन्।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कन्सल्टेन्ट अर्थोपेडिक स्पाइन सर्जनका रूपमा कार्यरत डा. खड्का पछिल्लो एक दशकदेखि हाडजोर्नी तथा मेरुदण्डसम्बन्धी जटिल शल्यक्रियामा सक्रिय छन्। सडक दुर्घटना, अग्लो स्थानबाट लड्दा हुने चोट, मेरुदण्डको क्षयरोग, क्यान्सर, नसामा च्यापिने समस्या, जन्मजात मेरुदण्डका विकृति, बाल अर्थोपेडिकदेखि घुँडा तथा हिप जोर्नी प्रत्यारोपणसम्मका उपचारमा उनले विशेष दक्षता हासिल गरेका छन्।
उनले हालसम्म दुई सयभन्दा बढी मेरुदण्डका जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। लुम्बिनी प्रदेशमा स्पाइन सर्जरीलाई व्यवस्थित रूपमा विस्तार गर्ने चिकित्सकमध्ये उनी अग्रपंक्तिमा चिनिन्छन्।

मानव सेवा गर्ने चाहनाबाट चिकित्सा यात्रासम्म
डा. खड्काको चिकित्सा यात्रा कुनै संयोग होइन। समाजका लागि उपयोगी काम गर्ने र बिरामीको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने चाहनाले उनलाई चिकित्सा क्षेत्रतर्फ आकर्षित गर्यो।
“मानव सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वासले चिकित्सा पेशा रोजें,“ उनी सम्झन्छन्। “अध्ययनका क्रममा शल्यचिकित्साप्रतिको रुचि बढ्दै गयो। त्यसपछि अर्थोपेडिक्स रोजेँ, किनकि दुर्घटना वा हाडजोर्नी समस्याका कारण अशक्त बनेका मानिसलाई फेरि सामान्य जीवनमा फर्काउन सकिने सम्भावना यही विधामा धेरै हुन्छ।“
उनका अनुसार अर्थोपेडिक्स केवल हड्डी जोड्ने वा अपरेसन गर्ने विषय मात्र होइन। यो बिरामीको जीवनको गुणस्तर सुधार्ने विज्ञान हो। कुनै व्यक्ति हिँड्न नसक्ने अवस्थाबाट फेरि काम गर्न सक्ने, परिवारको जिम्मेवारी सम्हाल्न सक्ने र आत्मनिर्भर बन्न सक्नु नै उपचारको वास्तविक सफलता भएको उनी बताउँछन्।
शैक्षिक यात्रादेखि अन्तर्राष्ट्रिय अनुभवसम्म
डा. खड्काले काठमाडौं विश्वविद्यालयअन्तर्गत मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरे। त्यसपछि नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (NAMS) अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टर (वीर अस्पताल) बाट एमएस अर्थोपेडिक्स गरे। ट्रमा तथा जटिल हाडजोर्नी शल्यक्रियामा अनुभव बटुल्दै उनले भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित सर गंगाराम अस्पतालमा स्पाइन सर्जरीसम्बन्धी फेलोसिप पूरा गरे।
त्यहाँ उनले अत्याधुनिक स्पाइन शल्यक्रिया, मिनिमली इन्भेसिभ प्रविधि तथा जटिल मेरुदण्ड पुनर्निर्माणका आधुनिक विधि सिक्ने अवसर पाए। भारत, फिलिपिन्स र सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय तालिम, सम्मेलन तथा कार्यशालामा सहभागी हुँदै उनले विश्वस्तरीय उपचार पद्धतिबारे अनुभव साटासाट गरेका छन्।
AO Trauma Course लगायतका अन्तर्राष्ट्रिय प्रशिक्षणले पनि उनको व्यावसायिक दक्षता थप मजबुत बनाएको छ।

रुकुमबाट सुरु भएको सेवा यात्रा
सन् २०११ मा चिकित्सकीय सेवा सुरु गरेका डा. खड्काको पहिलो कार्यस्थल रुकुम पश्चिमको जिल्ला अस्पताल थियो। दुर्गम क्षेत्रमा सीमित स्रोतसाधनबीच सेवा दिँदा उनले नेपाली स्वास्थ्य प्रणालीको वास्तविक अवस्था नजिकबाट बुझ्ने अवसर पाए।
पछि उनी देवदह मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, राष्ट्रिय ट्रमा सेन्टर हुँदै हाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन्। प्रत्येक संस्थामा उनले ट्रमा, जटिल हाडजोर्नी चोट तथा मेरुदण्ड शल्यक्रियामा अनुभव बटुले।
उनका अनुसार दुर्गम क्षेत्रमा काम गर्दा सिकेको सबैभन्दा ठूलो पाठ भनेको सीमित स्रोतसाधनमै सही निर्णय लिन सक्ने क्षमता हो।
लुम्बिनीमा बढ्दै स्पाइन उपचारको पहुँच
केही वर्षअघिसम्म मेरुदण्डको जटिल शल्यक्रिया गर्नुपर्ने बिरामी काठमाडौं वा भारत जान बाध्य हुन्थे। यसले आर्थिक भार मात्रै होइन, उपचारमा ढिलाइ पनि गराउँथ्यो।
डा. खड्काका अनुसार अहिले लुम्बिनीमै धेरै प्रकारका स्पाइन शल्यक्रिया सम्भव भएका छन्। कम्मर तथा घाँटीको नसामा च्यापिने समस्या, मेरुदण्ड भाँचिने, क्षयरोग, ट्युमर, क्यान्सरका कारण हुने समस्या, जटिल फ्याक्चर, सर्भाइकल, थोरासिक र लम्बर स्पाइनका अधिकांश शल्यक्रिया लुम्बिनीमै भइरहेका छन्। “प्रदेशमै उपचार उपलब्ध हुँदा बिरामीको समय, पैसा र मानसिक तनाव तीनै कुरा कम भएका छन्,“ उनी भन्छन्।

बढ्दो समस्या : कम्मर र घाँटी दुख्ने बिरामी
उनका अनुसार पछिल्ला वर्षहरूमा कम्मर तथा घाँटी दुख्ने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ। यसको मुख्य कारण जीवनशैलीमा आएको परिवर्तन हो।
लामो समय कम्प्युटरअगाडि बस्ने, मोबाइल अत्यधिक प्रयोग गर्ने, शारीरिक गतिविधि कम हुनु, मोटोपना, नियमित व्यायामको अभाव र बढ्दो उमेरले मेरुदण्डसम्बन्धी समस्या बढाइरहेको उनी बताउँछन्।
“धेरै मानिसले दुखाइलाई सामान्य सम्झेर महिनौँ वा वर्षौँसम्म बेवास्ता गर्छन्,“ उनी भन्छन्। “जब हातखुट्टा कमजोर हुन थाल्छ वा नसामा गम्भीर असर पुग्छ, त्यसपछि मात्रै अस्पताल आउँछन्।“
समयमै विशेषज्ञको परामर्श लिए धेरै बिरामीलाई औषधि, फिजियोथेरापी र जीवनशैली सुधारबाटै निको पार्न सकिने उनी बताउँछन्।
सबै कम्मर दुखाइको समाधान अपरेसन होइन
कम्मर दुख्यो भने तुरुन्त अपरेसन गर्नुपर्छ भन्ने धारणा गलत रहेको डा. खड्का बताउँछन्।उनका अनुसार अधिकांश बिरामीलाई सुरुमा औषधि, व्यायाम, फिजियोथेरापी र जीवनशैली परिवर्तनबाट उपचार गरिन्छ। नसामा गम्भीर दबाब परेर हातखुट्टा कमजोर भएको, दिसापिसाब नियन्त्रण गुमेको, मेरुदण्ड भाँचिएको वा अन्य जटिल अवस्था देखिएमा मात्रै शल्यक्रिया आवश्यक पर्छ।
“बिरामीलाई आवश्यक नभएको अवस्थामा अपरेसन गर्नु चिकित्सा नैतिकताविपरीत हुन्छ,“ उनी भन्छन्। “हाम्रो पहिलो प्राथमिकता सुरक्षित र वैज्ञानिक उपचार हो।“
सबैभन्दा चुनौतीपूर्ण शल्यक्रिया
सडक दुर्घटनामा बहु-अंगमा चोट लागेका र मेरुदण्ड पनि गम्भीर रूपमा क्षतिग्रस्त भएका बिरामीको उपचार सबैभन्दा चुनौतीपूर्ण हुने उनको अनुभव छ। यस्ता बिरामीमा समयसँग प्रतिस्पर्धा गर्नुपर्छ। न्युरोसर्जन, एनेस्थेसिया विशेषज्ञ, ट्रमा टोली, आईसीयू र पुनस्र्थापना टोलीबीच उत्कृष्ट समन्वय आवश्यक पर्छ। “एक–एक निर्णयले बिरामीको भविष्य निर्धारण गर्न सक्छ,“ उनी भन्छन्।
आधुनिक प्रविधिको बढ्दो प्रयोग
विश्वभर अर्थोपेडिक तथा स्पाइन सर्जरीमा अत्याधुनिक प्रविधि प्रयोग बढिरहेको छ। नेभिगेसन प्रणाली, रोबोटिक स्पाइन सर्जरी, मिनिमली इन्भेसिभ स्पाइन सर्जरी, थ्रीडी प्रिन्टिङ, कम्प्युटर–सहायता प्राप्त जोर्नी प्रत्यारोपण, उन्नत आथ्र्रोस्कोपी र बिरामीअनुसार तयार गरिने इम्प्लान्टले उपचारलाई अझ सुरक्षित र प्रभावकारी बनाइरहेका छन्।
नेपालमा पनि यस्ता प्रविधि विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन्। “विश्वमा उपलब्ध उपचार नेपालमै उपलब्ध गराउने वातावरण बनाउनुपर्छ,“ उनी भन्छन्।
जनस्वास्थ्यसँग जोडिएको चुनौती
डा. खड्काका अनुसार नेपालमा हाडजोर्नी रोग बढ्नुको एउटा प्रमुख कारण सडक दुर्घटना हो। त्यसबाहेक बढ्दो आयु, मोटोपना, शारीरिक निष्क्रियता र अस्वस्थ जीवनशैलीले पनि समस्या बढाइरहेको छ।
दुर्घटनापछि प्राथमिक उपचारबारे समुदायमा पर्याप्त ज्ञान नभएको उनको अनुभव छ। घाइतेलाई गलत तरिकाले उठाउँदा मेरुदण्डमा थप क्षति पुग्न सक्ने भएकाले समुदायस्तरमै प्राथमिक उपचारसम्बन्धी सचेतना बढाउनुपर्ने आवश्यकता उनी औँल्याउँछन्।
स्वस्थ मेरुदण्डका लागि के गर्ने ?
उनका अनुसार नियमित व्यायाम, सन्तुलित आहार, सही आसन, स्वस्थ तौल र पर्याप्त आरामले अधिकांश मेरुदण्डसम्बन्धी समस्या रोक्न मद्दत गर्छ। कार्यालयमा लामो समय बस्ने व्यक्तिले प्रत्येक ३० देखि ४५ मिनेटमा उठेर केही समय हिँड्ने, स्ट्रेचिङ गर्ने र सही आसनमा बस्ने बानी बसाल्नुपर्छ।
हड्डी बलियो बनाउन क्याल्सियमयुक्त आहार, दूध तथा दुग्धजन्य पदार्थ, हरियो सागसब्जी, प्रोटिनयुक्त खाना, पर्याप्त भिटामिन-डी र नियमित घामको सम्पर्क आवश्यक रहेको उनी बताउँछन्। वृद्धवृद्धाले लड्नबाट बच्ने उपाय अपनाउनुका साथै नियमित हिँडडुल र आवश्यक पोषणमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
अनुसन्धान, शिक्षण र नयाँ पुस्ताप्रतिको जिम्मेवारी
शल्यक्रियासँगै डा. खड्का अनुसन्धान र चिकित्सक प्रशिक्षणमा पनि सक्रिय छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा अनुसन्धान प्रस्तुत गर्दै आएका उनी युवा चिकित्सकलाई निरन्तर अध्ययन, इमानदारी र सीप विकासलाई प्राथमिकता दिन आग्रह गर्छन्। “चिकित्सा क्षेत्रमा सिकाइ कहिल्यै सकिँदैन,“ उनी भन्छन्। “हरेक बिरामी नयाँ पाठ हुन्।“
भविष्यको लक्ष्य : लुम्बिनीमै विश्वस्तरीय स्पाइन सेवा
आगामी पाँच वर्षमा लुम्बिनी प्रदेशलाई स्पाइन उपचारको प्रमुख केन्द्र बनाउने उनको लक्ष्य छ। अत्याधुनिक प्रविधि भित्र्याउने, युवा चिकित्सकलाई प्रशिक्षण दिने, अनुसन्धानलाई सुदृढ बनाउने र बिरामीलाई विदेश वा काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने उनको योजना छ।“नेपालमै विश्वस्तरीय उपचार दिन सकिन्छ भन्ने विश्वास स्थापित गर्नुपर्छ,“ उनी भन्छन्।
अन्त्यमा “कम्मर, घाँटी वा हाडजोर्नीको समस्या लुकाएर बस्ने होइन। समयमै विशेषज्ञको सल्लाह लिनुहोस्। नियमित व्यायाम गर्नुहोस्, स्वस्थ जीवनशैली अपनाउनुहोस् र दुर्घटनाबाट जोगिने बानी बसाल्नुहोस्। अधिकांश हाडजोर्नी तथा मेरुदण्डसम्बन्धी समस्याको समयमै उपचार सम्भव छ।“
बिरामीलाई फेरि आत्मविश्वासका साथ हिँड्न सक्ने बनाउने यही प्रतिबद्धताले डा. युधिष्ठिर राज खड्कालाई लुम्बिनी प्रदेशको अर्थोपेडिक तथा स्पाइन उपचार क्षेत्रमा विश्वासिलो नामका रूपमा स्थापित गरेको छ।

डा. खड्का लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ ।


प्रतिकया दिनुहोस्