स्वास्थ्यसमाचार- मेरुदण्ड (स्पाइन) उपचार र शल्यक्रियाको क्षेत्रमा भइरहेका अत्याधुनिक वैश्विक प्रविधि र नवीन पद्धतिका विषयमा अनुभव आदानप्रदान गर्न बुटवलमा ‘स्पाइन सीएमई २०२६’ (Spine CME 2026) आयोजना हुने भएको छ ।
जर्मन स्पाइन फाउन्डेसन (GSF) को आयोजना तथा नेपाल अर्थोपेडिक एसोसिएसन (NOA) लुम्बिनी च्याप्टरको सहकार्यमा असार २५ गते बुधबार बुटवलमा सो वैज्ञानिक कार्यक्रम हुन लागेको हो ।
बुटवलको योगिकुटीस्थित होटल पौवामा चल्ने सो कार्यक्रममा नेपाल र जर्मनीका स्थापित मेरुदण्ड रोग विशेषज्ञ तथा शल्यचिकित्सकहरूले आफ्ना प्राविधिक कार्यपत्रहरू प्रस्तुत गर्नेछन् ।
कार्यक्रमका विशेषज्ञ एवं कन्सल्टेन्ट अर्थोपेडिक स्पाइन सर्जन डा. युधिष्ठिर राज खड्काका अनुसार यो सम्मेलन लुम्बिनी प्रदेशका अर्थोपेडिक र स्पाइन सर्जनहरूका लागि प्रविधि हस्तान्तरणको महत्त्वपूर्ण अवसर हो । डा. खड्काले भन्नुभयो, “नेपालमा मेरुदण्डसम्बन्धी समस्या र शल्यक्रियाको दायरा आधुनिक प्रविधिसँगै बदलिँदो छ ।
यस सीएमई (कन्टिन्युइङ मेडिकल एजुकेसन) र कार्यशालाले नेपाली चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीप र प्रविधि बुझ्न ठूलो मद्दत पुर्याउनेछ, जसको प्रत्यक्ष लाभ यहाँका बिरामीहरूले पाउनेछन् ।”
जर्मन विशेषज्ञहरूको प्रस्तुति र लाइभ कार्यशाला सम्मेलनमा मेरुदण्डको जटिल शल्यक्रियाका प्राविधिक पक्षमाथि केन्द्रित वैज्ञानिक सत्रहरू सञ्चालन गरिनेछन् । कार्यक्रममा प्रा. डा. गौरव राज ढकाल जर्मनीका प्रख्यात प्रा. डा. फ्लोरियन गेइगर (Prof. Dr. Florian Geiger) ले बालबालिकामा देखिने मेरुदण्डको टेडोपन (जुभेनाइल स्कोलियोसिस) र ढाड दुख्ने समस्याका आधुनिक उपचार विधिबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, डा. युधिष्ठिर राज खड्काले ‘सबएक्सियल फासेटल डिस्लोकेसन्स’ (Subaxial Facetal Disloc ations) र जर्मनीकै डा. ग्रेगोर स्मेइजर (Dr. Gregor Schmeiser) ले मेरुदण्डको शल्यक्रियाका क्रममा आउने जटिलता ‘डुरल टियर रिपेयर प्रविधि’ माथि प्रकाश पार्नुहुनेछ ।
सीप हस्तान्तरणका लागि ‘ह्यान्ड्स-अन वर्कशप’ कार्यक्रममा कार्यपत्र प्रस्तुति मात्र नभई चिकित्सकहरूका लागि व्यावहारिक अभ्यास गराइने मुख्य आकर्षण रहेको छ ।
‘ह्यान्ड्स-अन वर्कशप’ (Hands-on Workshop) मा तीनवटा तालिम स्टेसनहरू राखिएका छन् । जसमा मेरुदण्डको माथिल्लो भाग (Cervical Spine) मा स्क्रू राख्ने प्रविधि, थोराकोलम्बर (TL) इन्स्ट्रुमेन्टेसन र डुरल टियर रिपेयरको ‘लाइभ प्रोजेक्सन’ मार्फत व्यावहारिक प्रशिक्षण दिइने आयोजकले जनाएका छन् ।
सो सम्मेलनमा राष्ट्रिय संकाय (National Faculty) का रूपमा प्रा. डा. गौरव राज ढकाल, सह-प्राध्यापक डा. प्रतीक कार्की र भेरी अस्पतालका डा. प्रकाश थापा सहभागी हुनुहुन्छ । मेरुदण्डको उपचारमा ‘उत्कृष्टता, शिक्षा र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रमले नेपालको स्पाइन केयर क्षेत्रमा नयाँ इँटा थप्ने चिकित्सकहरूको विश्वास छ । कार्यक्रमको समापन जर्मन स्पाइन फाउन्डेसनका प्रतिनिधि र नोआ लुम्बिनी च्याप्टरको सहकार्यमा हुने छ ।


प्रतिकया दिनुहोस्