रूपन्देही पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

पूर्णखोप सुनिश्चितता कायम राख्नु अझ ठूलो चुनौती हो : स्वास्थ्यमन्त्री घिमिरे

स्वास्थ्यसमाचार/ रूपन्देही जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। जिल्लाका सबै १६ स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरेपछि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले बिहीबार आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो।

जिल्ला खोप समन्वय समितिको सचिवालय, स्वास्थ्य कार्यालय रूपन्देहीद्वारा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री घिमिरेले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने सबैभन्दा प्रभावकारी माध्यम खोप भएको उल्लेख गर्दै पूर्णखोप सुनिश्चिततालाई दीगो रूपमा कायम राख्नु अझ ठूलो चुनौती भएको बताउनुभयो।

उहाँले घोषणा गर्नु मात्र पर्याप्त नभई आगामी वर्षहरूमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन सबै तहको निरन्तर सक्रियता आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले रूपन्देहीले खोप कार्यक्रममार्फत हासिल गरेको उपलब्धि अन्य जिल्लाका लागि समेत अनुकरणीय भएको बताउनुभयो।

स्वास्थ्य कार्यालय रूपन्देहीका खोप कार्यक्रम फोकल पर्सन डिलाराम भुसालले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अभियानका क्रममा जिल्लाभर १५ महिनामुनिका १६ हजार ५७७ र १६ देखि ५९ महिनासम्मका ४६ हजार ८१० बालबालिकाको घरधुरी सर्वेक्षण गरी विवरण अद्यावधिक गरिएको थियो। सर्वेक्षणका क्रममा नियमित खोपबाट छुटेका ५६७ बालबालिका तथा शून्य डोज रहेका २८ बालबालिकाको पहिचान गरी राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्रदान गरिएको थियो।

हाल रूपन्देहीमा १६ स्थानीय तह, ३३१ खोप केन्द्र र मासिक ३९१ नियमित खोप सत्र सञ्चालन हुँदै आएका छन्। अभियानलाई सफल बनाउन वडा, पालिका र जिल्ला तहका खोप समन्वय समितिहरू परिचालन गरिएका थिए। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको सक्रियतामा घरधुरी सर्वेक्षण, लाइन लिस्टिङ तथा खोज र खोप अभियान सञ्चालन गरिएको थियो।

त्यसपछि प्रत्येक स्थानीय तहले स्वमूल्याङ्कन, प्रमाणीकरण तथा आवश्यक प्रक्रिया पूरा गरी क्रमशः पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका थिए।जिल्लाका सबै स्थानीय तहले घोषणा सम्पन्न गरेपछि जिल्ला खोप समन्वय समितिले प्रदेश खोप समन्वय समितिमा सिफारिस गरेको थियो। प्रदेशस्तरीय अनुगमन तथा प्रमाणीकरणपछि रूपन्देहीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न स्वीकृति प्रदान गरिएको हो।

जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक मोहम्मद खान र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले वडा तहदेखि जिल्ला घोषणासम्मको यात्रा सबैको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कोटहीमाई, मायादेवी, शुद्धोधन लगायतका स्थानीय तहका प्रमुख तथा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापा, स्वास्थ्य कार्यालय रूपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापा, विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, खोप कार्यक्रमका फोकल पर्सन, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्था प्रमुख, उत्कृष्ट खोप कार्यकर्ता तथा उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो। साथै स्वास्थ्य कार्यालय रूपन्देहीका कोल्ड चेन निरीक्षक सुरेन्द्रप्रसाद दुबेदीलाई खोप कार्यक्रमको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।

रूपन्देहीले २०७३ सालमै पहिलो पटक पूर्णखोप जिल्ला घोषणा गरेको थियो। त्यसयता प्रत्येक वर्ष पूर्णखोपको अवस्थालाई कायम राख्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :