दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन मोबाइल भ्यान र टेलिमेडिसिन सेवा : मन्त्री घिमिरे

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत मोबाइल भ्यान अस्पताल र टेलिमेडिसिन सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत मंगलबार बसेको पन्ध्रौँ बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गत विनियोजन गरिएको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उक्त जानकारी दिनुभएको हो।

उहाँले नेपालको संविधान–२०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरेको उल्लेख गर्दै प्रदेश सरकारले सोही अधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्‍याउने नीति अवलम्बन गरेको बताउनुभयो।

स्वास्थ्यमन्त्री घिमिरेका अनुसार मोबाइल भ्यान अस्पताल कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ बजेटविनियोजन गरिएको छ। उक्त कार्यक्रममार्फत विशेषज्ञ चिकित्सक, आवश्यक औषधि तथा स्वास्थ्य उपकरणसहितको टोली दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा पुगेर उपचार सेवा प्रदान गर्नेछ।

यस्तै, टेलिमेडिसिन सेवा सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो। यस कार्यक्रममार्फत प्रदेशका ठूला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकलाई डिजिटल माध्यमबाट दुर्गम क्षेत्रका स्वास्थ्य संस्थासँग जोडेर स्थानीय नागरिकलाई विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ।

“विशेषज्ञ चिकित्सक सधैं ठूला अस्पतालमै बस्ने अवस्था छ। दुर्गमका नागरिकलाई पनि विशेषज्ञ सेवा उपलब्ध गराउन टेलिमेडिसिन कार्यक्रमका लागि बजेट व्यवस्था गरेका हौँ,” मन्त्री घिमिरेले भन्नुभयो।

प्रदेश सभामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रदेशसभा सदस्यहरूले उठाएका जिज्ञासा र सुझावको जवाफ दिँदै मन्त्री घिमिरेले प्रदेश सरकारले आधारभूतदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्मको पहुँच विस्तारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको बताउनुभयो।

उहाँले आगामी आर्थिक वर्षमा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनशक्ति व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार तथा प्रविधिमैत्री स्वास्थ्य प्रणाली विकासलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिएको समेत स्पष्ट पार्नुभयो।

सम्बन्धित शिर्षक :