रुपन्देहीमा स्वास्थ्य सेवाको जवाफदेहिता बढाउन सामाजिक परीक्षण तालिम

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवामा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय रुपन्देहीले आयोजना गरेको दुईदिने ‘स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता (सामाजिक परीक्षण) सम्बन्धी क्षमता विकास तालिम’ बुटवलमा सम्पन्न भएको छ।

तालिममा रुपन्देहीका १६ वटै स्थानीय तहबाट ४४ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए। सहभागीलाई स्वास्थ्य प्रणाली, प्राथमिकतामा रहेका स्वास्थ्य कार्यक्रम, स्वास्थ्य क्षेत्रको सामाजिक जवाफदेहिताको अवधारणा, सामाजिक परीक्षणको संस्थागत व्यवस्था, सामाजिक परीक्षण सञ्चालनका विभिन्न चरण तथा सरोकारवालाको पहिचान र परिचालनका विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको समापन गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपचारसँगै सुशासन, पारदर्शिता र नागरिकप्रतिको उत्तरदायित्व पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो।

“सामाजिक परीक्षणले स्वास्थ्य संस्था र समुदायबीच विश्वासको सम्बन्ध बलियो बनाउँछ,“ उहाले भन्नु भयो, “स्वास्थ्य सेवामा देखिएका समस्या पहिचान गरी सुधारका लागि साझा प्रतिबद्धता निर्माण गर्न यो प्रभावकारी माध्यम हो।“
उहाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गर्दै प्रत्येक स्थानीय तहका स्वास्थ्य संस्थामा सामाजिक परीक्षणलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहभागीलाई आग्रह गर्नु भयो । “सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सफलताको मुख्य आधार हो,“ उहाले भन्नु भयो, “त्यसका लागि स्वास्थ्यकर्मी आफैं जवाफदेही र पारदर्शी हुनुपर्छ।“

तालिममा स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पाण्डे, स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्याल, स्वास्थ्य अधिकृत खगराज पोखरेल तथा स्वास्थ्य अधिकृत नन्दाराम पौडेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको संयोजन जनस्वास्थ्य अधिकृत तथा फोकल प्रर्शन डिलाराम भुसालले गर्नु भएको थियो ।

प्रशिक्षकहरूले सामाजिक परीक्षणलाई स्वास्थ्य संस्थाको सेवा गुणस्तर मूल्याङ्कन गर्ने प्रभावकारी विधिका रूपमा व्याख्या गर्दै नागरिकको प्रत्यक्ष सहभागिताले सेवा प्रवाहलाई थप उत्तरदायी बनाउन सहयोग पुग्ने बताएका थिए।

तालिममा सामाजिक परीक्षणको पृष्ठभूमि, स्वास्थ्य क्षेत्रको सामाजिक जवाफदेहिताको अवधारणा, संस्थागत व्यवस्था, कार्यान्वयनका चरण, तथ्य संकलन, सरोकारवालाको भूमिका, सार्वजनिक छलफल तथा कार्ययोजना निर्माणलगायत विषयमा प्रशिक्षण दिइएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार तालिमपछि सहभागी स्वास्थ्यकर्मीले आफ्ना पालिकामा सामाजिक परीक्षण सञ्चालन, सहजीकरण तथा प्रतिवेदन तयारी गर्न सक्ने क्षमता विकास गरेका छन्। यसबाट स्थानीय तहका स्वास्थ्य संस्थामा सेवाको गुणस्तर सुधार, स्रोत-साधनको पारदर्शी उपयोग, सेवाग्राहीको गुनासो व्यवस्थापन तथा नागरिकको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

सहभागीता तर्फबाट बिन्दु अर्याल र राजेश ज्ञाबलीले वोल्दै सामाजिक परीक्षणको लागि हामी कखरा सिकेका बताउनु भयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सामाजिक परीक्षणलाई जिल्लाभरका स्वास्थ्य संस्थामा नियमित अभ्यासका रूपमा विस्तार गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीच सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ। तालिमको आयोजना स्वास्थ्य कार्यलय रुपन्देहीले गरेको कार्यक्रम संयोजक भुसालले बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :