बुटवलमा अन्तर्राष्ट्रिय स्पाइन सीएमई : मेरुदण्ड उपचारमा जर्मन र नेपाली विशेषज्ञबीच अनुभव आदान प्रदान

स्वास्थ्यसमाचार/ मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगको उपचार र शल्यक्रियामा विश्वस्तरमा प्रयोग भइरहेका आधुनिक प्रविधि तथा उपचार पद्धतिबारे ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बुटवलमा आयोजित ‘स्पाइन सीएमई २०२६’ सम्पन्न भएको छ।

रुपन्देहीको बुटवलस्थित योगीकुटीमा रहेको होटल पौवामा जर्मन स्पाइन फाउन्डेसन (German Spine Foundation) को आयोजना तथा नेपाल अर्थोपेडिक एसोसिएसन (एनओए) लुम्बिनी च्याप्टरको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका ५० भन्दा बढी अर्थोपेडिक तथा स्पाइन सर्जनको सहभागिता रहेको थियो।

कार्यक्रममा जर्मनीबाट आएका वरिष्ठ स्पाइन विशेषज्ञ प्रो. डा. फ्लोरियन गाइगर र प्रो. डा. ग्रेगर स्माइसर सहित नेपालका वरिष्ठ स्पाइन तथा अर्थोपेडिक विशेषज्ञहरूले मेरुदण्ड रोगको निदान, उपचार, आधुनिक शल्यक्रिया प्रविधि, न्यून चिरफार (Minimally Invasive Spine Surgery), जटिल स्पाइनल समस्याको व्यवस्थापन तथा पछिल्ला वैज्ञानिक अनुसन्धानका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमलाई दुई प्रमुख सत्रमा विभाजन गरिएको थियो। पहिलो सत्रमा वैज्ञानिक प्रस्तुतिमार्फत विभिन्न जटिल स्पाइन रोगको उपचार, शल्यक्रियामा प्रयोग हुने नवीन प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्यासबारे छलफल गरिएको थियो। दोस्रो सत्रमा आयोजित ह्यान्ड्स-अन कार्यशाला मार्फत सहभागी चिकित्सकहरूले आधुनिक शल्यक्रियामा प्रयोग हुने उपकरण, प्रविधि र प्रक्रियाबारे वरिष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए।

नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरका अध्यक्ष एबं बरिष्ठ अर्थोपेडिक सर्जन डा। युधिष्ठिराज खड्काले जर्मनीका विशेषज्ञ चिकित्सक र नेपाली चिकित्सकबीच आधुनिक स्पाइन शल्यक्रिया, उपचार प्रणाली, प्रविधि तथा जटिल केस व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान भएको वताउनु भयो ।

उहाले यस्ता शैक्षिक कार्यक्रमले चिकित्सकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेका आधुनिक उपचार पद्धतिलाई नेपालमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। यसबाट विशेषगरी लुम्बिनी प्रदेशका बिरामीले गुणस्तरीय तथा आधुनिक मेरुदण्ड उपचार सेवा पाउने अपेक्षा गरिएको डा। युधिष्ठिराज खड्काले वताउनु भयो ।

कार्यक्रममा सहभागी चिकित्सकहरूले अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विभिन्न जटिल स्पाइन शल्यक्रियाका अनुभव, उपचारका चुनौती र सम्भावित समाधानबारे विस्तृत छलफल गरेका थिए। आधुनिक प्रविधिको प्रयोगले बिरामीको उपचारलाई अझ सुरक्षित, प्रभावकारी र कम जटिल बनाउने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रमको समापन समारोहमा जर्मनीबाट आएका विशिष्ट अतिथि विशेषज्ञहरूलाई नेपाली परम्पराअनुसार ढाका टोपी र खादा ओढाएर सम्मान गरिएको थियो। आयोजकका अनुसार यस्ता अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमले नेपाली चिकित्सकलाई विश्वस्तरीय ज्ञान र प्रविधिसँग जोड्ने मात्र नभई प्रदेशमै विशेषज्ञ उपचार सेवा विस्तार गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रमको सञ्चालन लुम्बिनी प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा। अमृत पन्थीले गर्नु भएको थियो ।सहभागी चिकित्सकहरूले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

 

सम्बन्धित शिर्षक :