स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिका–३ स्थित सिमानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य सेवाको गुणस्तर, सेवा प्रवाह, पारदर्शिता तथा नागरिकको सन्तुष्टिबारे जानकारी गराउने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
रुपन्देही मिडिया नेटवर्क प्रालिको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको सेवा, उपलब्धि, चुनौती तथा आगामी आवश्यकताबारे विस्तृत समीक्षा गरिएको थियो।

कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिकी उपाध्यक्ष एवं तिलोत्तमा नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी घिलेको अध्यक्षता तथा तिलोत्तमा–३ का वडा सदस्य विष्णु थापाको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा स्वास्थ्य संस्था व्यवस्थापन समितिका सदस्य, ज्येष्ठ नागरिक टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, महिला समूहका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वास्थ्य सेवा केन्द्रका प्रमुख ठानेश्वर बस्यालले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उपलब्ध गराइरहेका सेवा, उपलब्धि तथा देखिएका समस्याबारे जानकारी गराए। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ को तीन महिना बाँकी रहेकाले सेवा लिने बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम देखिएको हो।
प्रतिवेदनअनुसार केन्द्रले नियमित खोप सेवा, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, बाल स्वास्थ्य तथा आधारभूत उपचार सेवा प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्षमा बीसीजी, दादुरा तथा डिपिटी खोप कार्यक्रम सञ्चालन भइरहेको छ भने पाँच वर्षमुनिका बालबालिकामा पोषण तथा बालरोगको निगरानी पनि निरन्तर भइरहेको छ।

सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत चार पटक गर्भवती जाँच गराउने महिलाको संख्या ८१ पुगेको छ। परिवार नियोजन सेवाअन्तर्गत पिल्स, डिपो र नरप्लान्ट सेवा नियमित रूपमा सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै २४ वटा खोप केन्द्रमध्ये २२ वटा सक्रिय रहेका छन् भने ८४ वटा आमा समूह बैठक सञ्चालन भएका छन्।
कार्यक्रममा स्वास्थ्य संस्थाको आर्थिक अवस्था, आम्दानी–खर्च, औषधिको उपलब्धता तथा मौज्दातको अवस्थाबारे समेत जानकारी प्रस्तुत गरिएको थियो। प्रतिवेदनमा आइरन चक्की, एमोक्सिसिलिन सिरप, पारासिटामोल सिरप लगायतका केही औषधिको आपूर्ति विवरण समावेश गरिएको थियो।
स्वास्थ्य संस्था प्रमुख बस्यालले स्वास्थ्य सेवा विस्तारका लागि पर्याप्त सभाहल, कम्पाउन्ड वाल (तारबार), आवश्यक पूर्वाधार तथा अन्य भौतिक संरचनाको अभाव रहेको बताए। उनले यी पूर्वाधार निर्माणका लागि स्थानीय तहको थप सहयोग आवश्यक रहेको धारणा राखे।
छलफलका क्रममा ज्येष्ठ नागरिक डिलाराम सापकोटाले ज्येष्ठ नागरिकका लागि आवश्यक औषधिको सहज व्यवस्था गर्नुपर्ने माग गरे। कमला खनालले चिकित्सकले लेखिदिएको सबै औषधि स्वास्थ्य संस्थाबाट उपलब्ध हुनुपर्नेमा जोड दिइन्। इन्दिरा खनालले आधारभूत स्वास्थ्य सेवा केन्द्रमै प्रयोगशाला (ल्याब) सेवा सञ्चालन गर्न आवश्यक रहेको बताइन्।

कार्यक्रममा बोल्दै अध्यक्ष एवं कार्यपालिका सदस्य लक्ष्मी घिलेले स्वास्थ्य संस्थाको ट्रस निर्माणका लागि वडा कार्यालयबाट रु. १ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिइन्। निर्माण कार्य ढिलाइ भएको विषयमा नगरपालिका र सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताउँदै उनले सीमित बजेटका कारण सबै आवश्यकता तत्काल पूरा गर्न नसकिए पनि स्वास्थ्य संस्थाको विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन्।
उनले गत आर्थिक वर्षमा समेत स्वास्थ्य संस्थाका विभिन्न आवश्यकतालाई बजेटमार्फत सम्बोधन गरिएको स्मरण गराउँदै आगामी दिनमा पनि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारमा वडा कार्यालय प्रतिबद्ध रहने बताइन्।
सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले स्वास्थ्य संस्थामा नियमित औषधि आपूर्ति, प्रयोगशाला सेवा सञ्चालन, पूर्वाधार विस्तार तथा नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहमा थप सुधार गर्नुपर्नेमा जोड दिएका थिए।



प्रतिकया दिनुहोस्