प्युठानको कोचिबाङमा एम्बुलेन्स नहुँदा जंगलमै सुत्केरी

स्वास्थ्यसमाचार/ एम्बुलेन्स सुविधा नहुँदा स्वास्थ्य चौकी हिँडेर जाँदै गरेकी एक गर्भवती महिलाले जंगलको बाटोमै सन्तान जन्माएकी छन् ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–१ को कोचिबाङ बराथानकी २८ वर्षीया सपना विकले  जंगलको बीच बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।

सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य चौकीतर्फ हिँड्दै गरेकी विक जंगलमै समस्यामा परेको खबर पाएपछि नजिकैको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय का शिक्षकको नेतृत्वमा कक्षा १० का विद्यार्थी, केही स्थानीय महिला तथा कोचिबाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो ।

टोलीले आमा र नवजात शिशुलाई उद्धार गरी कोचिबाङ स्वास्थ्य चौकीसम्म पुर्‍याएको थियो ।नगरपालिका भए पनि स्वर्गद्वारी–१ को कोचिबाङ प्युठानका दुर्गम बस्तीमध्ये एक हो । वर्षायाममा यहाँ मोटरसाइकलसमेत मुस्किलले चल्ने अवस्था छ ।

वडामा एम्बुलेन्स सुविधा नहुनु र वर्षायाममा अटोसमेत सञ्चालन हुन नसक्ने सडकका कारण गर्भवती महिलाहरू प्रसव पीडाकै अवस्थामा स्वास्थ्य चौकीसम्म हिँडेर आउन बाध्य भएको कोचिबाङ स्वास्थ्य चौकीका प्रमुख भरतकुमार खड्काले बताउनुभयो ।स्वास्थ्य शाखा प्रमुख दुर्गा गौराथोकीले पनि बाटोको समस्या र सबै ठाउमा एम्बुलेन्स नभएको बताउनु भयो ।

सम्बन्धित शिर्षक :