स्वास्थ्यसमाचार/ बीएनएमटी नेपालले डीआर-टिबी होस्टेल, टीबी नेपाल, नेपालगञ्जमा बसोबास गरिरहेका औषधि प्रतिरोधी क्षयरोग (डीआर-टिबी) बिरामीहरूका लागि ‘वेलकम केयर प्याकेज’ वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रम अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घाटन बीएनएमटी नेपालका परियोजना व्यवस्थापक बिवेचना पाण्डेको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रमको सहजीकरण टीबी नेपाल क्लिनिक इन्चार्ज कमल ढकालले गरेका थिए।
कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन डर्नालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने जनस्वास्थ्य विभागका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीले समापन मन्तव्य राखेका थिए। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका क्षयरोग फोकल पर्सन, टीबी नेपालका अध्यक्ष, स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
यस अवसरमा ११ जना डीआर-टिबी बिरामीहरूलाई वेलकम केयर प्याकेज वितरण गरिएको थियो, जसमा ७ जना महिला र ४ जना पुरुष रहेका थिए। प्याकेजमा टूथब्रस, टूथपेस्ट, मास्क, स्यानिटाइजर, विन्डचिटर, कप, पानीको बोतल, सेनेटरी प्याड, डिटर्जेन्ट पाउडर, कपडा धुने साबुन, नुहाउने साबुन, काइयो, नेलकटर तथा टोट ब्याग लगायतका दैनिक आवश्यक सामग्रीहरू समावेश गरिएको थियो।
बीएनएमटी नेपालले चालु वर्षभित्र ५० जना डीआर-टिबी बिरामीहरूलाई वेलकम केयर प्याकेज वितरण गर्ने लक्ष्य राखेको जनाएको छ। उपचारको क्रममा बिरामीहरूको दैनिक आवश्यकतामा सहयोग पुर्याउने तथा उपचारप्रति निरन्तरता कायम राख्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।



प्रतिकया दिनुहोस्