गंगोलिया स्वास्थ्य चौकीमा सामाजिक परीक्षण : सेवा र उपलब्धिको समीक्षा

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका-१७ स्थित गंगोलिया स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८३-८४ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य संस्थाले प्रवाह गरिरहेको सेवा, स्रोत–साधनको उपयोग, कार्यक्रमको उपलब्धि तथा समुदायको अपेक्षाबारे समीक्षा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, बालक्लब तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम तिलोत्तमा नगरपालिका–१७ का वडा अध्यक्ष एवं गंगोलिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शसस्त्र प्रहरी निरीक्षक दिनेश केसी, वडा सदस्य रामनरेश लोनीय, सन्तबहादुर बस्नेत, वडा सदस्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष शोभाकुमारी राना, तिलोत्तमा नगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत रामप्रसाद भट्टराई, वडा सचिव पूर्णिमा राना, घनश्याम चौधरी, पदमबहादुर राना, शान्ति भट्टराई, बालक्लबका प्रतिनिधि भागिरथ विक, नेमा चौधरी, टोल सञ्जालका बुद्धिबल न्यौपानेलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख लिलाधर घिमिरेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा स्वास्थ्य चौकीबाट प्रदान गरिएका विभिन्न सेवाबारे जानकारी गराएका थिए।

 

उनका अनुसार आर्थिक वर्ष २०८२-८३ मा स्वास्थ्य चौकीबाट कुल ३ हजार १ सय २४ जना बिरामीले ओपीडी सेवा लिएका छन्। जसमध्ये १ हजार ९ सय ९३ महिला र १ हजार १ सय ३१ पुरुष रहेका छन्। अघिल्लो वर्ष ३ हजार ७ सय ६५ जनाले सेवा लिएकोमा यस वर्ष बिरामी सङ्ख्या ८ सय ६२ ले घटेको देखिएको छ।

स्वास्थ्यकर्मीहरूले बिरामी सङ्ख्या घट्नुको कारण निजी स्वास्थ्य संस्थाको वृद्धि, विशेषज्ञ सेवाका लागि अन्यत्र रेफर हुने प्रवृत्ति तथा समुदायमा स्वास्थ्य सचेतना बढ्दै जानु रहेको बताएका छन्।

खोप कार्यक्रमतर्फ चालु वर्षमा ६ सय ६७ जना बालबालिकाले खोप सेवा प्राप्त गरेका छन् भने अघिल्लो वर्षको तुलनामा १ सय २७ ले कमी आएको छ। गाउँघर क्लिनिक सेवा भने सञ्चालन हुन नसक्दा अघिल्लो वर्ष १ हजार ५१ जनाले सेवा लिएको ठाउँमा यस वर्ष शून्य रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो।

खोप तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत बीसीजी खोप ४२ जना, दादुरा खोप १ सय ४४ जना तथा डीपीटी खोप ८५ जनाले प्राप्त गरेका छन्। पोषणतर्फ ३ जना कुपोषित बालबालिका पहिचान गरी व्यवस्थापन गरिएको छ। त्यस्तै २४ जनामा सीडीडी तथा २६ जनामा एआरआई सम्बन्धी सेवा प्रदान गरिएको जानकारी दिइयो।

सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत चालु वर्षमा ८४ जना गर्भवती महिलाले चार पटक गर्भजाँच सेवा प्राप्त गरेका छन्। परिवार नियोजनतर्फ १९ जनाले पिल्स, ५२ जनाले डिपो तथा ७ जनाले नरप्लान्ट सेवा लिएका छन्।

सामाजिक परीक्षणमा प्रस्तुत विवरणअनुसार स्वास्थ्य चौकीमा अघिल्लो आर्थिक वर्षबाट २ लाख २७ हजार १ सय ८० रुपैयाँ मौज्दात रहेको छ। औषधि आपूर्तिको अवस्था सामान्य रहेको र आइरन चक्की, एमोक्सिसिलिन, पारासिटामोल, कण्डोम, पिल्स तथा डिपो जस्ता अत्यावश्यक औषधि तथा सामग्री नियमित रूपमा उपलब्ध गराइएको जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न विभिन्न सुझाव दिएका थिए। स्थानीय अबोध हरिजनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई लक्षित विशेष सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

महिला स्वास्थ्य स्वयंसेविका लालकुमारी कुबरले विद्यालय तथा समुदायका किशोरीहरूका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन माग गरिन्। त्यस्तै शान्ति चौधरीले स्वास्थ्य चौकीमै प्रयोगशाला (ल्याब) सेवा सञ्चालन गर्न सके बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने बताइन्।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत रामप्रसाद भट्टराईले सामाजिक परीक्षण स्वास्थ्य संस्थालाई थप जवाफदेही र पारदर्शी बनाउने प्रभावकारी माध्यम भएको बताए। उनले समुदायबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रममा समावेश गरिने जानकारी दिए।

अध्यक्ष दानबहादुर चौधरीले स्वास्थ्य चौकीले सीमित स्रोत–साधनका बीच पनि समुदायलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै स्थानीयले उठाएका विषयहरू क्रमशः सम्बोधन गरिने बताए। उनले विशेषगरी ल्याब सेवा विस्तार, ज्येष्ठ नागरिकमैत्री सेवा तथा किशोरी स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सेवा थप गुणस्तरीय, पहुँचयोग्य र समुदायमैत्री बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।तिलोत्तमा नगरपालिकाको सहयोगमा रुपन्देही मिडीया नेटबर्कको आयोजनामा समाजीक परिक्षण भएको थियो ।

सम्बन्धित शिर्षक :